वीरगन्ज महानगरले लियो नारायणी अस्पतालको सरसफाइको जिम्मा
वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालको सरसफाइ सोमबारदेखि वीरगन्ज महानगरपालिकाले गर्न सुरू गरेको छ । महानगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौता अनुसार साउन १ गतेदेखि महानगरपालिकाले अस्पतालको सरसफाइको जिम्मा लिएको हो ।
पहिलो दिन सोमबार महानगरका मेयर राजेशमान सिंह आफैं सरसफाइ शाखाका कर्मचारीको टोलीका साथ अस्पतालमा पुगेर सरसफाइ गराएका हुन् । त्यसक्रममा मेयरले अस्पतालमा गरिएको सरसफाइको अनुगमन गर्दै अस्पताल परिसर सफा र स्वच्छ राख्न अस्पतालमा रहेका सेवाग्राहीलाई समेत आग्रह गरे ।
अस्पतालको सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए । अस्पताालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले अब अस्पतालको सरसफाइमा लापरबाही हुन नदिने बताए । अस्पतालको सेवा पनि गुणस्तरीय बनाउनका लागि आफूहरू लागि परेकाले यसमा पनि महानगरको साथ र सहयोग पाउने आपेक्षा रहेको उनले बताए ।
अस्पतााल प्रशासन र महानगरपालिकाबीच भएको सम्झौता अनुसार साउन १ गतेदेखि एक वर्षका लागि नारायणी अस्पतालको शल्यक्रिया र वार्डभित्र बाहेक अस्पतालको सबै क्षेत्रमा महानगरपालिकाले सरसफाइ गर्ने उल्लेख छ ।
अस्पतालको शौचालय,बरण्डा,भर्याङ,प्रशासनिक भवनका साथै अस्पताल परिसरको सरसफाइ महानगरले गर्ने सम्झौतामा उल्लेख छ । शल्यक्रिया कक्ष र वार्डको सफाइ भने अस्पताल प्रशासन आफैले गर्ने मेसु साहले बताए ।
सम्झौता अनुसार ,अस्पतालमा सरसफाइ गरेवापत महानगरपालिकाले अस्पतालसँग कुनै शुल्क लिने छैन । यस्तै सरसफाइका लागि वीरगन्ज महानगरपालिकाले अस्पताालमा ९ जना कर्मचारी खटाएको र त्यसवापत अस्पतालसँग महानगगरपालिकाले कुनैपनि शुल्क नलिने पनि सम्झौतामा उल्लेख छ ।
अस्पताल परिसरमा जथाभावी फोहोर गर्ने व्यक्तिविरुद्ध वीरगन्ज महानगरपालिकाको फोहोर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही समेत गर्ने सम्झौतामा उल्लेख रहेको महानगरपालिकाको ससरसफाइ महाशाखाका प्रमुख सरफुदिन मियाँले बताए ।