जब उनको भगवान् थुनामा परे

जब उनको भगवान् थुनामा परे
प्रहरी कार्यालयमा रहेको सो ढुंगाको पूजा गर्दै राममाया शाही। तस्बिर : शिव उप्रेती

गोरखा : ७४ वर्षीया राममाया शाही सोमबार विहान जिल्ला प्रहरी कार्यालयमा पुगिन्। उनको काँधमा एउटा झोला थियो। प्रहरी कार्यालयको एउटा बन्द कोठा अगाडि उनले झोला बिसाइन्। चप्पल फुकालिइन् र झोलाभित्रबाट करुवाको जल, पञ्चपालाको अविर, अक्षता, पालाको दियो, फूल, प्रसाद, ध्वजा, धुप, घण्टा इत्यादि झिकेर ढोका अगाडि फिँजारिन्। 

उनी को हुन्, किन आएकी हुन्, यहाँ के गरिरहेकी हुन् भनेर चिन्न, जान्न ड्युटीमा रहेका प्रहरीलाई मुस्किल परेन। किनभने दुई हप्ताका बीचमा उनी त्यहाँ यसरी आएको यो आठौंपटक हो।

उनी आइपुग्ने वित्तिकै प्रहरीले झञ्झट पनि मानेनन्, सहजीकरण गर्न अल्छी पनि गरेनन्, तर ढोकाको साँचो लिएका प्रहरी अधिकृत खोज्न, साँचो खोज्न, प्रक्रिया पुर्‍यान करिब आधा घण्टा लाग्यो। 

आफ्नो पुर्यौली सम्पत्ति पूजा गर्न पाउन पनि आधा घण्टा कुर्नु पर्दा उनको आँखाले आँशु थाम्न सकेन। साउने सक्रान्ति, त्यसमाथि सोमबारे औंशीको विहान वृद्ध महिला रुन थालेपछि उक्त कोठाको साँचो लिने प्रहरी अधिकृत हतारिँदै आइपुगे। 

null

ढोका खोल्नेवित्तिकै उनी हत्तपत्त कोठाभित्र प्रवेश गरिन् र एक्कासी टेबुलमाथि राखिएको एउटा ढुंगामा अंगालो हाल्न पुगिन्। केहीबेरसम्म अंगालो हालेर डाँको छोडेर रोइन्। फेरि जम्ले हात कहिले निधारमा, कहिले छात्तिमा लगी नमस्कार गर्दै अलापविलाप गरिन्। 

ढुंगालाई सबैभन्दा माथि सेतो कपडाले बेरिएको थियो। रुँदै फलाक्दै त्यो कपडा हटाइन्। त्यसभित्र अर्को पत्रमा बख्खुले बेरिएको थियो। त्यो पनि पन्छ्याइन्। त्यसभित्र एउटा ठूलो अर्धपारदर्शक ढुंगा चुपचाप बसेको थियो। भक्कानिँदै उनी कहिले आकाशतिर, कहिले जमिनतिर हेर्दै फलाक्न थालिन्। ‘हे भौमान्, हजुरलाई मैले कति जतन गरेर राखेको थिएँ। कति माया गरेर पूजा गरेर राखेको थिएँ। हे राम, हे मेरो राम, आज यो कैती (कैदी) राख्ने ठाउँमा कसरी आइपुग्नुभयो,' दुवै हत्केला टेबुलमा बजार्दै अधैर्य हुँदै भन्न थालिन्, ‘कहिल्यै पनि नखोल्नू है, भनेर पुर्खाले भनेको नमान्दा आज यो हविगत भयो। आफ्नै छोरो उस्तो हो। आज यो लोभीपापी मान्छेले कैती राख्ने ठाउँमा ल्याएर थुने मेरो भौमानलाई। हे भौमान नरिसाइबक्सियोस्। सबैको कल्याण गरिबक्सियोस्।’

कोठा बाहिर ड्युटीमा रहेका प्रहरी स्तब्ध मुद्रामा उनले गरेको पूजा र आलापविलाप हेरिरहेका, सुनिरहेका थिए। ‘हे भौमान, क्षमा गर है, तिमीले यहाँ कैदमा कस्तो दुःख, पिर भोग्न परेको छ, यसको दोष नलागोस् है। सप्पै गोरखाली जनता, सप्पै नेपाली जनतालाई रक्षा गर। तिमी फेरि पक्का पनि मेरो घरमा गएर बस्न पाउने छौं। तिमीलाई ढुंगा भनेका छन् सबैले। तिमी मैले छोपिवरी राखेको देउता हौ, धन, धरत हौ। दुःख, पिर नमान। कसैलाई पनि दुःख, पिर पनि नदेऊ है, शान्ति गर, हे भौमान।’ दायाँ-बायाँ, तल, माथि पूरै बाहाँ फुकाएर धुप, धुवाँर गरिन्।

पूजा सकेर केहीबेरसम्म उनको देउतालाई ढोगिन् र फुत्त निस्केर पछाडि फर्केर नहेरी सरासर हिँडिन्। प्रहरी कार्यालयको मूलगेटबाट बाहिर निस्केपछि फेरि कार्यालयतिर फर्केर झुकेर नमस्कार गरी जोडतोडका साथ अगाडि बढिन्। 

null

उनका छोरा सुरेश शाहीले सबै पूजा सर्जाम बटुलेर झोलाभित्र राखे अनि विदावादी भई कार्यालयबाट निस्किए। ‘यस्तै हो, हेर्नुस् न देउता चढेको हो। घरमा हुँदा नि यसको पूजा गरेको दिन आमा बहकिएर कता-कता पुग्नुहुन्छ। कहिलेकहीँ त दरौँदीसम्म पनि पुगेर फर्कनुहुन्छ,' उनले भने, ‘जुगजुगदेखि हाम्रो घरमा भएको ढुंगा प्रहरीले ल्याइदिएपछि अन्नै खानुभएको छैन। फलफूल, मिश्री काँडापानी मात्र दिएका छौं। बुबाले घुमिफिरी फेरि हाम्रै घरमा आइपुग्छ भनेर सम्झाउनुहुन्छ, तर आमा सम्झनुहुन्न। रोएरै दिनरात विताइदिनुहुन्छ।’

कसैले पनि नखोल है भन्ने पुर्खाको उपदेश उल्घंन गर्दै केही महिनाअघि एकदिन सुरेशले त्यस ढुंगालाई बेरेर राखेको सदियौं पुरानो खोल उघारे। कम्तीमा छ पुस्ता अगाडिदेखि यो ढुंगा हाम्रो घरमा छ भन्ने कहानी उनले बाजेको मुखारविन्दबाट सुनेका थिए। 

त्यसअघि उनले पूजा गर्ने दिनमा आमाले थोरै खोलेर टिलिलि टल्किने देउताको पूजा गरेको देख्ने गर्थे। त्यसभित्र के छ होला भन्ने कौतुहलता मेट्न त्यसदिन उनले चार महिनाअघि त्यस ढुंगाको सबै खोल उघारे र फोटो पनि खिचे। 

त्यति ठूलो टल्किने ढुंगा बाजेबराजुको पालादेखि ढाकेर सुरक्षित राखिएकोमा अचम्मित भए। यो सूचना सञ्चारको जमानामा आफूमात्र अचम्मित भएर के स्वाद भन्ने लाग्यो र उनले यसको जानकार व्यक्ति वा कम्पनी खोज्नतिर लागे।

त्यसपछि सुरुभयो तनाब।
सुदूरपश्चिम खनिज प्रालिको एउटा टोली उनको घरमा आइपुग्यो। ढुंगा हेरे र पत्ता लगाए, यो महँगै माल हो। उनीहरूले २० लाख रुपैयाँ दिने प्रस्ताव गरे। फेरि अर्को टिम आयो र ५०  लाख दिने प्रस्ताव गर्‍यो। 

null

नचिनेका मान्छेहरूको बाक्लै आउजाउ हुन थालेपछि खबर एक कान दुई कान मैदान भयो। खबर प्रहरी कार्यालयसम्म पनि पुग्यो। यस्तै टोली उनको घरमा आएका बेला प्रहरीले घर खान्तलास गर्‍यो र त्यस ढुंगा बरामद गरेर ल्यायो। प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर सो ढुंगा पचासौं करोड पर्नसक्ने धेरै महँगो क्रिस्टल हुनसक्ने बतायो। 

गत असार १४ गते बरामद भएको ५४ किलोग्राम तौल भएको सो महँगो क्रिस्टलको थप अनुन्धान प्रक्रिया भने सुरु भएको छैन। ‘यसलाई खानी तथा भूगर्भ विभागको प्रयोगशालामा परीक्षण गराउन लैजाने तयारीमा छौं,' एसपी अनुपम श्रेष्ठले भने, ‘त्यसपछि यो के हो, कहाँ कसरी सुरक्षित राख्ने भन्ने निर्णय हुन्छ।’

क्रिस्टलका धनी शाही परिवारको भने यसलाई गोरखामै राख्नुपर्ने माग छ। ‘हाम्रो पुर्खाको सम्पत्ति हो। यसलाई हामी हरेक वर्षको सिठीपूजा, सल्यानवेशी जात्रा, नुवाँकोटको देवीघाट जात्रा, बडादशैँको १५ दिन, चैत्रास्टमीमा पूजा गर्नेगर्छौं। अब हामी नै राख्न पाउँ त भन्न नमिल्ला, तर गोरखामै रहनुपर्छ,' राममाया शाही भन्छिन् ।
तर प्रहरी प्रशासन भने यसका लागि कर्मचारीको प्रयासभन्दा पनि जनप्रतिनिधिको तहबाट प्रयास गर्नुपर्ने बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.