खुकुरी प्रहारबाट छोरी गम्भीर घाइते, बुवा पक्राउ
स्याङ्जा : भीरकोट नगरपालिका-७ मा बुवाले खुकुरी प्रहार गर्दा आइतबार एक बालिका गम्भीर घाइते भएकी छन्। घरायसी विवादका क्रममा भीरकोट- ७ चिउरीखर्कका ४० वर्षीय यमबहादुर गुरुङले १७ वर्षीया छोरी जुनालाई खुकुरीले हानेका हुन्।
होटल व्यवसाय गर्दै आएका उनले घरायसी कुरामा विवाद हुँदा छोरीमाथि धारिलो हतियार (खुकुरी) प्रहार गरेको प्रहरी नायब उपरीक्षक रविन्द्रप्रसाद खनालले जानकारी दिए।
घाइते बालिकाको भीरकोट नगर अस्पतालमा प्राथमिक उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ। अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीले आरोपित गुरुङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ। उनको घरबाट अवैध हतियार समेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार भरुवा बन्दुक, फलामको छर्रा ७ वटा, ५० ग्राम बारुद, छर्रा, सिसा लगायतका सामग्री बरामद गरेको हो।