नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका दुई प्रभावशाली नेता पूर्वगृहमन्त्रीहरू बालकृष्ण खाँण र विजयकुमार गच्छदारको विषयमा अदालतले दोषी प्रमाणित ठहर नगरेसम्म निलम्बन गर्ने पक्षमा देउवा नदेखिएको कांग्रेसका एक पूर्वपदाधिकारीले बताए।
काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको थियो। बैठक सुरु भएको केही समयमै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उपस्थित पदाधिकारीले सोचेभन्दा फरक प्रस्ताव अगाडि सारे। प्रस्ताव सुन्नेबित्तिकै बैठकमा उपस्थित सबैले मुखामुख गर्न थाले। देउवाको प्रस्ताव थियो, ‘केन्द्रीय समितिको बैठक पार्टीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्ने।’
बैठकको सुरुवातमै देउवाले केन्द्रीय समितिको बैठक लाइभ गरिदिऊँ भन्ने प्रस्ताव अगाडि सारेका थिए। देउवाको भनाइ उध्रित गर्दै कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भने, ‘छलफल सुरु भएको केहीबेरमै सभापतिजीले उक्त प्रस्ताव ल्याउनुभयो। उक्त कुरा सुन्नेबित्तिकै सबैको बीचमा के भन्ने खालको वातावरण सिर्जना भयो।’ तर, बैठक लाइभ गर्ने भन्ने विषयमा दुई थरी कुरा आएको मन्सुरले सुनाए। भने, ‘एक थरीले पार्टीको बैठक लाइभ गर्ने खास प्रचलन छैन भन्ने कुरा गर्नुभयो। अर्को थरीले गरौं–गरौं भन्ने पनि कुरा आएको छ।’
लाइभ गर्ने नगर्ने विषयमा बैठक सुरु हुनु अगावै टुंगो लाग्ने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बताए। उनले भने, ‘सभापतिजीले प्रस्ताव ल्याउनुभएको छ। त्यसमा छलफल हुन्छ। आईटीमा नेपाली कांग्रेस पार्टी अग्रस्तानमै छ। यद्यपि लाइभ गर्दा पनि सबै गर्ने कि प्रस्तावित समयको मात्र गर्ने, यी विषयमा के गर्दा राम्रो हुन्छ त्यसमा छलफल हुन्छ।’
पार्टीका पदाधिकारीले नै कांग्रेसले गर्ने निर्णयहरूमा हामीसँग छलफल गरिएन। सभापति एक छत्र ढंगले अगाडि बढ्नुभयो भनिरहेको बेलामा सभापतिले ल्याएको उक्त प्रस्ताव एकदमै जायज भएको सहमहामन्त्री किशोरसिंह राठोर बताउँछन्। देउवा निकटका एक पदाधिकारी भन्छन्, ‘विशेषगरी महामन्त्रीजीहरूले सभापतिजीलाई लगाउँदै आएको आरोप कांग्रेस कार्यकर्ता र सबै जनतामा छर्लंग होस् भन्ने पनि उहाँको चाहना हुन सक्छ। उहाँले बारम्बार मेरो यो अन्तिम कार्यकाल भनिराख्नुभएको छ। पार्टीलाई हानी पुग्ने खालका निर्णय उहाँ गर्नुहुन्न। जसरी हुन्छ पार्टीलाई राम्रो बनाएर छोडम् भन्ने उहाँको चाहना छ।’
कांग्रेसको विधानअनुसार हरेक २ महिनामा गरिनुपर्ने केन्द्रीय समितिको बैठक ११ महिनामा बस्न लागेको छ। केन्द्रीय कार्यसमितिको बैठकका लागि देखिने १० वटा एजेन्डा तय भएको छ। यद्यपि बैठकमा यी बाहेकका अरू विषयमा पनि विस्तारमा छलफल गर्ने तयारीमा देउवा छन्।
अर्का एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवाले केन्द्रीय समितिको बैठकको मौका पारेर कोषाध्यक्ष मनोनीत तयारीमा पनि छन्। ती नेताले भने, ‘कोषाध्यक्ष मनोनीत गर्ने विषय करिब तय भएको छ। एजेन्डामा नल्याइएको मात्र हो।’ भ्रष्टाचारमा मुछिएर कारबाहीमा परेका नेताको विषयमा पनि छलफल हुन सक्ने ती नेताले बताए। ‘छलफल गर्न दिने तर निलम्बन नै गर्ने पक्षमा देखिनुहुन्न। छलफल मजाले हुन्छ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका दुई प्रभावशाली नेता पूर्वगृहमन्त्रीहरू बालकृष्ण खाँण र विजयकुमार गच्छदारको विषयमा अदालतले दोषी प्रमाणित ठहर नगरेसम्म निलम्बन गर्ने पक्षमा देउवा नदेखिएको कांग्रेसका एक पूर्वपदाधिकारीले बताए।
ललिता निवास प्रकरणमा १८ महिनाअघि देउवा नेतृत्वकै सरकारले रोकेको ललिता निवास प्रकरणसम्बन्धी अनुसन्धानको फाइल यतिबेला पुनः अगाडि बढेको छ। कांग्रेसका तत्कालीन उपसभापति विजयकुमार गच्छदारको संलग्नता जोडिएको छ। अख्तियारले ०७८ सालमै गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लामो समय फरार रहेका गच्छदार देउवा प्रधानमन्त्री भएको भोलिपल्टै ०७८ असार ३० मा विशेष अदालतमा उपस्थित भएका थिए। अदालतले उनलाई १० लाख धरौटीमा रिहा गरेको थियो।
यतिबेला उनै गच्छदार कांग्रेसले केन्द्रीय समितिको बैठकमा आफ्नो विषय कसरी उठाउँछ भन्ने पर्ख र हेरको अवस्थामा छन्। गच्छादार यतिबेला कांग्रेसको बैठकमा निलम्बनको विषय उठ्यो र सभापतिले उक्त प्रस्ताव पारित गरे भने पार्टी छोड्नका लागि तयारी अवस्थामा पनि छन्। गच्छदार निकट एक नेताले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘यदि गच्छदारजीलाई निलम्बनको प्रस्ताव पार्टीले ल्यायो भने। गच्छदारजीलगायत हामीले कांग्रेस भित्रकै केही चौधरीलगायत अन्य केही साथीहरूले एकमुष्ट राजीनामा दिएर नयाँ पार्टी खोल्ने तयारी पनि हाम्रो छ।’ उनले अगाडि भने, ‘कांग्रेसबाट निस्किसकेपछि अन्य दलबाट पनि हाम्रा साथीहरू आउन तयारी अवस्थामा हुनुहुन्छ। हामी नयाँ दल खोलेर जनता समक्ष जान्छौं। सभापतिजीले के गर्नुहुन्छ त्यो हेर्न बाँकी छ।’
मंगलबारदेखि बस्ने कांग्रेसको बैठकका लागि पार्टी सभापति देउवा निवास धुम्बाराहीमा सोमबार साँझ पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसेको थियो। कांग्रेसका अर्का सहमहामन्त्री जीवन परियार कांग्रेसमा कुनै पनि विषयमा छलफल हुने नहुने भन्ने अवरोध नहुने बताउँछन्।
परियार भन्छन्, ‘कांग्रेस प्रजातान्त्रिक पार्टी हो। त्यसैले यसमा सबै किसिमका विषयमा छलफल हुन्छ। नक्कली भुटानी शरणार्थी, ललिता निवासको विषयमा नबोल्ने भन्ने हुँदैन। सबै विषयमा विस्तृत छलफल हुन्छ।’
केन्द्रीय समितिको बैठक पार्टीकै फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गर्ने देउवाको प्रस्ताव थियो।
यस्ता छन् कांग्रेसका १० एजेन्डा
- समसामयिक विषयमा छलफल।
- सांगठनिक कार्ययोजना र कार्यतालिका बनाइने।
- केन्द्रीय सदस्य बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव।
- गोपालमान श्रेष्ठको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको प्रतिवेदन प्रस्तुत।
- नीति अधिवेशनका विषयमा छलफल र खाका प्रस्ताव।
- विभागहरू गठन, थप र कामको व्यख्या।
- राष्ट्रव्यापी अभियानको घोषणा र खाका प्रस्तुत।
- अनुशासन समितिको प्रतिवेदन पेश।
- संसद्मा कांग्रेसको भूमिकाका विषयमा रमेश लेखकद्वारा प्रतिवेदन पेस।
- सरकारको गतिविधिबारे आन्तरिक र बाह्य गतिविधिका बारेमा जानकारी।