नालामाथि बनेका होटल, क्याम्पस र बैंकमा डोजर चलाउँदै वीरगन्ज महानगर
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले मुख्य नालामाथि बनेका क्याम्पस र होटलमाथि डोजर चलाएर अतिक्रमण खाली गराएको छ।
मुख्य नाला माथि बनेको हरिखेतान बहुमुखी क्याम्पसमाथि यसअघि गत असार २५ गते डोजर चलाएको वीरगन्ज महानगरपालिकाले मंगलबार भने आदर्शनगरस्थित मुख्य नालामै बनाइएको क्लासिक होटलमा पनि डोजर चलाएको हो।
हरिखेतान बहुमुखी क्याम्पस र क्लासिक होटलको पक्की संरचना (भवन) मुख्य नालामाथि नै निर्माण गरिएका कारण मुख्य नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो।
नालामाथि बनेको संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि क्याम्पस सञ्चालक समिति र होटल भएको घरधनीले अटेर गरेर नहटाएपछि महानगरको टोली आफैंले डोजर लगाएर हटाउन सुरु गरेको हो।
मंगलबार क्लासिक होटलमाथि डोजर चलाउनुअघि महानगरको टोलीले नालामाथि नै बनेको हरिखेतान क्याम्पसको बाँकी संचरना हटाएको थियो । नालामाथि बनेको हरिखेतान क्याम्पसको संरचना यसअघि गएको असार २५ गतेपनि डोजर लगाएर हटाइएको थियो।
क्याम्पसको केही संरचना अझै पनि बाँकी रहेकाले मंगलबार फेरि क्याम्पसमा पनि डोजर लगाएर हटाइएको महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए।
यसका साथै क्लासिक होटल पनि नालामाथि नै रहेकाले त्यसलाई हटाउन मंगलबार डोजर चलाइएको ताम्राकारले बताए। क्लासिक होटलको सामुन्ने रहेको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पनि पहिले नै सूचना दिएको तर बैंक भएको घरधनीले अटेर गरी अझैसम्म नहटएकाले अब उक्त बैंक भएको भवनलाई पनि डोजर लगाएर हटाइने उनले बताए।
महानगरले अहिले मुख्य नाला सफाइलाई तीव्रता दिएको छ। जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचनाहरू हटाउँदै सफाइलाई निरन्तरता दिँदै आएको छ।
होटलको उत्तरतर्फ र कर्पोरेट बैंकको दक्षिणतर्फ रहेको मुख्य नाला पूर्ण रुपमा सफाइ हुँदा पनि ती दुवै भवन नहट्दा मुख्य नाला सफाइमा अवरोध पुगेको छ। यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ।
वीरगन्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ।गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुवैतर्फ अतिक्रमण गरेर संरचना बनेका छन्।
वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगन्ज वर्षातको समयमा डुवानमा पर्दै आएको छ। यस पटक मुख्य नाला पूर्ण रुपमा सफाइ गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ।