एक त कर्णालीको भूगोल नै कठिन छ। अर्कोतिर बनेका सडकको हालत उस्तै छ। बर्खामा पहिरो, हिउँदमा धुलो। साँघुरा सडक, धेरै मोड। ठेकेदारले पिच गर्छन्, साता दिन टिक्दैन।
वीरेन्द्रनगर : प्रदेश राजधानी सुर्खेतबाट कालीकोटसम्मको दूरी हो– १ सय ५५ किलोमिटर। यति दूरी पार गर्न कति समय लाग्ला ? ६ घण्टा वा ७ घण्टा ? पहाडी बाटो हो, त्यसकारण ९ घण्टा नै लाग्छ कि भन्ने अनुमान गर्नुहोला। तपाईंको यस्तो अनुमान हो भने पूरै ‘गलत’ हुन्छ। पत्याउनु हुन्न होला– यो दूरी पार गर्न ३ दिनसम्म समय लाग्छ।’ यसैबाट थाहा हुन्छ– कर्णालीको सडक यात्रा।
एक त कर्णालीको भूगोल नै कठिन छ। अर्कोतिर बनेका सडकको हालत उस्तै छ। बर्खामा पहिरो, हिउँदमा धुलो। साँघुरा सडक, धेरै मोड। ठेकेदारले पिच गर्छन्, साता दिन टिक्दैन। सडकका खाल्डाको कुरा गरी साध्य छैन। कतिपय सडकमा गाडीले मान्छे होइन, मान्छेले गाडी बोक्ने अवस्था छ। भित्रिसडकको के कुरा भयो र ? कर्णाली राजमार्गमा यात्रा गर्दा ‘भगवानको नाम पुकार गर्नुपर्छ।’ पिछडिएको कर्णालीका दुःख कसले सुन्ने ?
‘भगवान् पुकार्दै’ कर्णाली राजमार्गको यात्रा
कर्णालीमा गाडी पुगेपछि यहाँका बासिन्दाको मनमा कम्ती हर्ष थिएन। ‘दुःख’ का दिन सकिए भन्दै कर्णालीवासीले उत्सव नै मनाए। तर, राजमार्गको यात्रा यति कष्टकर छ कि–कर्णालीका दुःखका दिन सकिएकै रहेनछन्। किनभने यो मार्गमा यात्रा गर्दा भगवान् पुकार्नुपर्छ। कर्णालीको लाइफ लाइन मानिएको राजमार्गको अवस्था झन्–झन् दयनीय छ।
सडक डिभिजनले हरेक वर्ष बिग्रेको ठाउँमा (टालटुल गर्न) सडक पिच गर्छ। तर, साता दिन पनि टिक्दैन। सडक विभाग बनाउँदै जान्छ, पछाडि बिग्रँदै जान्छ। जसका कारण पटक–पटक सडक अबरुद्ध हुने गर्छ। कतिपय स्थानहरूमा एक गाडीले अर्को गाडीलाई साइड दिने ठाउँ नपुग्दा घण्टौं जाम हुन्छ। सडकमा परेका ठुल्ठूला खाल्डाहरूले सवारी साधन चल्न निकै कठिन हुन्छ। सडकहरूमा ट्राफिक संकेत नहुँदाका हैरानी त छँदैछन्।
कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा सधैं उही समस्या भोग्नुपर्छ। कालीकोट नरहरीनाथ–८ का उमेश बिष्ट कर्णाली राजमार्गको यात्रा बर्सेनि कष्टकर बन्ने गरेको बताउँछन्। ‘सुर्खेतबाट कालीकोट १ सय ५५ किलोमिटर सडकमा यात्रा गर्न तीन दिनसम्म लाग्छ,’ विष्टले भने, ‘ठाउँ–ठाउँमा पहिरोको समस्या छ। साँघुरो सडकमा एक गाडीले अर्को गाडीलाई साइड दिन कठिन हुन्छ। हिलाम्मे सडकमा मालबाहक गाडीहरू फस्दा डोजर लगाएर निकाल्नुपर्छ। यो राजमार्गमा यात्रा गर्दा गन्तव्यमा पुग्नै मुस्किल हुन्छ।’
जुम्ला चन्दनाथका उमेश कठायतले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि कसैको ध्यान नपुगेको बताए। ‘हाम्रा नेताहरू यही बाटो हिँड्छन्। तर, सडकको बेहाल देख्दैनन्,’ उनको गुनासो छ– सरकारले ल्याउने हरेक वर्षको बजेटमा कर्णाली राजमार्गको स्तरोन्नति गरिनेछ भनिन्छ। तर, राजमार्गको अवस्था सधंै उस्तै रहन्छ। कहिल्यै स्तरोन्नति हुँदैन। हामी त काल नआएर बाँचेका मानिस हौं। कर्णाली राजमार्गको यात्रा गर्दा कहाँनेर पो खसिन्छ भन्ने पिर मनमा बोकेर यात्रा गर्नुपर्छ।’
प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्गको सुर्खेत, कालीकोट र जुम्ला खण्डका दर्जनौं ठाउँहरूमा जोखिमपूर्ण यात्रा गर्नुपर्छ। ती ठाउँमा पहिरो खस्ने समस्या छ। कतिपय स्थानमा राजमार्ग जस्तै छैनन्। ६ पांग्रे गाडीलाई साइड दिन नपुग्ने सडकमा १० पांग्रे गाडी पनि गुड्छन्। सडक पूरै खाल्डाखुल्डी र हिलाम्मे छ। कति ठाउँमा गाडी फस्दा उकास्नै दिन बित्छ। गाडीको पनि बिजोग हुने गरेको प्रहरी बताउँछन्।
कर्णाली राजमार्गको दहिखोलादेखि जुम्लासम्म ४३ ठाउँमा बर्सेनि पहिरो जान्छ। कालीकोट र दैलेखको सिमाना दहिखोलादेखि जुम्लासम्म दहिखोला, गगने खोला, काले खोला, एसमोड, जिते बजार, शेरीघाट, मेयर खोला, सुनार खोला, ताडी, गल्ली, सिम्लेगाड, मोल्फा, पिली, शेराबाडा, बाली, राचुली, भिक्म, रारालीलगायतका ४३ ठाउँहरूमा बर्सेनि पहिरो जाने समस्या छ।
कर्णाली राजमार्गमा सास्ती कहिलेसम्म ?
सुर्खेतबाट साविकको कर्णाली जोड्ने राजमार्ग बनेको दुई दशक पुग्न लाग्यो। कर्णाली राजमार्गले चिनिने सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत सुर्खेतको बांगेसिमलबाट जुम्ला जुगाड खोलासम्मको लम्बाइ २ सय ३२ किलोमिटर छ।
कर्णाली भ्रमणमा आउँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहको हुकुमपछि नेपाली सेनाले द्रूत गतिमा सडकको ट्रयाक खोलेको थियो। २०६३ साल चैत ३० गते पहिलो पटक जुम्लामा गाडी पुगेको थियो। यो राजमार्गमा गाडी चल्न थालेपछि यहाँका नागरिकको जीवनस्तरमा धेरै परिवर्तन ल्यायो। यसले कर्णालीका नागरिकलाई कैलाली, बर्दिया राजापुरको हाट बजारसम्म मात्र ल्याएन, कर्णालीलाई संघीय राजधानीसँग जोड्न पनि सहज बनायो। हिलाम्मे बनेको कर्णाली राजमार्ग । गाडी धकेलेर पार लगाउँदै यात्रु। कर्णाली राजमार्गमा पहिरो खसेपछिको कष्टकर यात्रा। तस्बिर : बिस्नप्रसाद न्यौपाने
कर्णालीमा यातायात सेवा पुगेसँगै यहाँका नागरिक र बाहिरबाट आउने नागरिकको आवातजावतले तिला र कर्णालीका उजाड बगरहरू बजारीकरण भए। यहाँका पसलेहरू होलसेल बिक्रेतामा रूपान्तरण भए। पैदलयात्रा गरेर २६ दिन लगाएर जाने हाट एक दिनमा नजिकियो। विगतमा हिँडेका गोरेटाहरू अहिले बाटोहरू बने। ठाउँ–ठाउँमा होटलहरू खोलिए। बगरको बालुवामा हटेरु–नुन तेल लिन हाटबजार जानेहरूले खाना पकाएर खाने दिन पनि गए। मानिस हाटबजार जाँदा होटलमा पैसा तिरेर खाना खान थाले। यसले यातायात सेवा पुगेपछि गाउँहरू सहरहरूसँग जोडिँदा कसरी मानिसको जीवनशैलीमा परिवर्तन ल्याउँछ भन्ने अनुभव दिलायो।
मुगु, जुम्ला र कालीकोटका स्याउ, सिमी, फापरलगायतका स्थानीय बालीहरू सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौंसम्म पुगे। यो राजमार्गले सहरका वस्तुहरू गाउँमा, गाउँका वस्तुहरू सहरमा, सहरको संस्कृति गाउँमा, गाउँको संस्कृति सहरमा घुलमिल गरायो। जसको प्रतिफल आधुनिकताले सडक छेउ मात्र होइन, गाउँ बस्तीलाई समेत छोडेन।
कर्णाली राजमार्ग सञ्चालनपछि यहाँका हरेक नागरिकलाई ‘सहरिया’ बनायो। गाउँमा कुटो कोदालो गरेर बसेका मानिसहरू राजमार्ग छेउका डरलाग्दा भीरमा पनि घरटहरा निर्माण गरेर व्यापार व्यवसाय गर्न थाले। यहाँका भीरपाखामा व्यापार व्यवसाय गरेर होस् वा यहाँका विकट बस्तीहरूमा जागिर खाएर कमाएको पैसाले सुर्खेत, नेपालगन्ज, काठमाडौंका साथै मुलुकका अन्य ठूला सहरमा घ घडेरी जोड्न थाले। यहाँका कमाउने हरेक परिवारको सपना ठूला सहरमा घडेरी जोड्ने सपनामा परिवर्तन भयो। प्रायः यहाँका कमाउने हरेक परिवारहरूले अहिले सुर्खेत, नेपालगन्ज, कैलालीदेखि काठमाडौंमा, कहीँ न कहीँ घरघडेरी बनाएका छन्।
कर्णालीमा सडकले जन्माएका सपनाबाट सिर्जित कार्यले सडक छेउका केही नागरिकलाई त सफलता मिल्यो। तर, यहाँका बिकट बस्तीका अन्य नागरिकले भने धेरै सास्ती भोग्नु परेको छ। कर्णाली राजमार्गअन्र्तगत बढीजसो कालीकोट र केही दैलेख सडक खण्डमा निर्माण गरिएका कतिपय घरहरू बाढी र पहिरोको उच्च जोखिममा छन्। साँघुरो सडक छेउमा बस्दै आएका यहाँका नागरिकलाई आफ्ना घरमा कहिले यातायातका साधन ठोकिने हो भन्ने समस्या छ। कहिले भिरै भत्केर कर्णाली नदीमा परिएला कि भन्ने पिर पनि उस्तै छ। साँघुरो र जीर्ण यो राजमार्गमा यात्रा गर्ने कैयौंले ज्यान पनि गुमाएका छन्।
कर्णाली राजमार्ग कर्णालीवासीहरूका लागि मृत्युमार्गका रूपमा लिने गरिएको छ। यो राजमार्ग सञ्चालन भएदेखि हालसम्म यात्रुबाहक बस, ट्याक्टर, मिनी टाटा, मिनी ट्रक, जिपलगायत साना ठूला गरी २ सयभन्दा बढी सडक दुर्घटना भएका छन। एक सयभन्दा बढी दुर्घटना त कालीकोट खण्डमा मात्र भएका छन्। दैलेख र जुम्लामा पनि सयभन्दा बढी दुर्घटना भएका छन्। कर्णाली राजमार्ग मात्र होइन, कर्णालीका दशवटै जिल्ला जोड्ने सबै राजमार्गको अवस्था नाजुक छ। हरेक राजमार्गमा यात्रा गर्दा यात्रुलाई गन्तव्यमा पुग्नै मुस्किल पर्ने गरेको छ।
सयौं दुर्घटना, सयौंको ज्यान गयो
कर्णालीमा बर्सेनि सवारी दुर्घटनाबाट सयौं नागरिकको ज्यान जान्छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट प्राप्त तथ्यांकअनुसार २०७० सालदेखि कर्णालीमा १ हजार ८ सय २१ सडक दुर्घटना भएका छन्। यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ सय ९१ छ। यी दुर्घटनामा परी १ हजार ५ सय २७ कर्णालीवासी गम्भीर घाइते भएका छन्। यी दुर्घटनाको सामाजिक, मानवीय र भौतिक क्षतिको हिसाब किताब गर्नै कठिन छ। प्रदेश ट्राफिक प्रहरीको तथ्यांकले कर्णालीमा बर्सेनि सडक दुर्घटनाको दर बढिरहेको देखाउँछ।
कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालीकोट खण्डका विभिन्न स्थानमा साँघुरा मोडहरू छन्। राजमार्गको एक मोडबाट अर्को मोडमा आएको गाडी देख्न सकिँदैन। कर्णालीका धेरै सडकमा ट्राफिक संकेत पनि छैन। यसले दुर्घटनाको जोखिम बढाइरहेको छ। साँघुरा र अप्ठ्यारा सडक, क्षमताभन्दा बढी यात्रु, पुराना गाडी, ट्राफिक नियमको बेवास्तालगायतका कारण राजमार्गमा दुर्घटना बढिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख योगेन्द्रसिंह थापाले बताए। उनले भने, ‘कर्णालीमा सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारका लागि समयमै पहल नगरिए थप जोखिम बढ्ने निश्चित छ।’
हामी त काल नआएर बाँचेका मानिस हौं। कर्णाली राजमार्गको यात्रा गर्दा कहाँनेर पो खसिन्छ भन्ने पीर मनमा बोकेर यात्रा गर्नुपर्छ।
उमेश कठायत
चन्दनाथ, जुम्ला
प्रदेश राजधानी सुर्खेतदेखि अरू जिल्ला जोड्ने सडकमा नियमित रूपमा मर्मतसम्भार गरेर सहज रूपमा यातायात सञ्चालन गर्न पहल गरिरहेका छौं ।
- कृष्णबहादुर जिसी, आन्तरिक मामिला तथा कानुनमन्त्री कर्णाली प्रदेश
कर्णालीमा सडक
कर्णालीमा जम्मा ३ हजार ४ सय ३८ किलोमिटरमात्र सडक बनेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। तर, कर्णालीमा राष्ट्रिय सडक सञ्जाल, प्रादेशिक सडकहरू तथा ग्रामीण सडकहरूको एकिन विवरण कुनै पनि निकायले राखेको छैन। कर्णाली प्रदेशमा भौगोलिक जटिलता र सरकारी प्राथमिकता कम हुँदा सडक निर्माणले गति पाउन सकेको छैन। हालसम्म बनेका सडकहरूको अवस्था पनि बेहाल छ।
कर्णाली प्रदेशमा ३ हजार ४ सय ३८ किलोमिटर सडकमध्ये जम्मा ९१ किलोमिटर सडक कालोपत्र भएको छ। त्यस्तै ३ हजार १ सय ३३ किलोमिटर सडक धुले र २ सय १४ किलोमिटर सडक ग्राभेल भएको छ। देशभर रहेको कुल सडकमा कर्णाली प्रदेशको हिस्सा ५ दशमलव २१ प्रतिशत रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका इन्जिनियर प्रवीन कार्कीले बताए।
प्रदेश सरकारसँगको समन्वयमा सुरक्षित कर्णाली अभियान
कर्णाली प्रदेश प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनीकरण र सडक पूर्वाधार सुधारका लागि ‘सुरक्षित कर्णाली विशेष अभियान’ सुरु गरेको छ। प्रदेश प्रहरी प्रमुख (डीआईजी) भीमप्रसाद ढकालले कर्णालीका सबै राजमार्गको अवस्था र तत्काल गर्नुपर्ने सुधारका विषयका विवरण संकलन गरी प्रदेश सरकार र सडक डिभिजनलाई उपलब्ध गराएको जनाए।
उनका अनुसार सुर्खेतमा ११ वटा स्थानमा सडक मर्मत गर्नुपर्ने, रुकुममा २ वटा स्थानमा सडक मर्मत गर्नुपर्ने, कालीकोटमा दर्जनौं ठाउँमा सडक मर्मत गर्नुपर्ने र २८ स्थानमा ट्राफिक संकेत गर्नुपर्नेलगायत जिल्लागत सुधारका लागि सुझाव दिइएको ढकालले बताए। ‘यति गर्ने हो भन्ने कर्णाली तत्कालका लागि सुरक्षित हुन्छ’, प्रदेश प्रहरी प्रमुख ढकालले भने, ‘सडकमा जेब्राक्रस बनाउन, ट्राफिक संकेतहरू गर्न लगायतका स–साना कामहरूका लागि सरकारले प्रहरीलाई नै बजेट दिँदा छिटो छरितो कामहरू हुन्थ्यो।’
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले कर्णालीका सडकको सुधारका कामहरू क्रमशः गरिने बताए। उनले भने, ‘जुन–जुन स्थानमा जे जे गर्नुपर्ने हो त्यसका लागि प्रदेश सरकारले सम्बन्धित सडक आयोजना वा डिभिजन सडक कार्यालयहरूलाई निर्देशन दिएका छौं।’ प्रदेश राजधानी सुर्खेतदेखि अन्य जिल्लाहरू जोड्ने सडकहरूमा नियमित रूपमा मर्मतसम्भार गरी सहज रूपमा यातायात सञ्चालन गर्न गराउन प्रदेश सरकारले पहल गरिरहेको उनले बताए।