बौद्धिकता पलायनको सौखिन बहस

बौद्धिकता पलायनको सौखिन बहस

जो नागरिक अन्य देशको श्रम बजारमा खपत भएका छन्, उनीहरूको अभावमा नेपालले बहुपक्षीय नोक्सानी भोग्दैछ।

राजनीतिक परिवर्तनका अनेकन शृंखलापछि पनि देशले विकासको अपेक्षित गति लिन सकेको छैन। कछुवा गतिप्रति सबैलाई चिन्ता छ। इतिहासको कुनै कालखण्डमा त छिमेकी देश भारत र चीनभन्दा नेपालको अवस्था निकै सबल थियो। २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको अभ्युदय भयो। भारत केवल त्यसको सात वर्ष र चीन लगभग ४० वर्ष पहिलेमात्र क्रमशः बेलायती उपनिवेश र मञ्चु वंशको अप्रजातान्त्रिक तानाशाही शासन शैलीबाट मुक्त भएका थिए।

दक्षिण एसियाका अन्य धेरै देश उस्तै परिस्थितिबाट गुज्रिएको देखिन्छ। तर पछिल्लो तीन दशक जसरी अन्य देशले परिवर्तन र प्रगतिको बहाव निर्माण गरे, त्यसको तुलनामा हामी अलिक दूर र दुर्गममा नै रहेका छौं। लोककल्याणकारी राज्य निर्माण र विकासको गतिशीलता सबै राजनीतिक दलका नेता तथा वक्ताहरूले अनवरत रूपमा उठान गरेको विषय हो। पछिल्ला केही वर्षदेखि यस्ता आशयका बहस भएका छन्। जसमा अब देशको निर्माण गर्न विदेश गएर बसेका क्षमतावान् व्यक्तिहरूलाई देशमा फर्काउनुपर्छ भन्ने रटान लाग्ने गरेको छ। देशको विकासले गति नलिनुमा बौद्धिक पलायनता (ब्रेन ड्रेन) प्रमुख रहेको मानिन्छ।

पछिल्ला तथ्यांकले लगभग ५० लाख नेपाली विदेशमा रहेको देखाउँछ। अहिले विभिन्न बहानामा र चाहनामा दैनिक दुई हजार व्यक्ति वैदेशिक यात्रा तय गर्छन्। विश्व बैंकको प्रतिवेदन ‘लार्ज स्केल माइग्रेसन एन्ड रेमिट्यान्स इन् नेपाल’ अनुसार नेपाल विप्रेषणमा आश्रित मुलुकहरूको सूचीमा ताजकिस्तान र गणतन्त्र किरगिजपछि तेस्रो मुलुक हो। धेरै मानिस विदेश गएको सत्य हो। तर अधिक मानिस बिदेसिएको र सबैमा विदेशमोह व्याप्त भएकाले नै देशमा बौद्धिक पलायनता छ। यो नै अहिलेको समस्या हो भन्ने सम्झनु सानदार भ्रममा बाँच्नुमात्र हो।

बिदेसिएका सबैलाई ब्रेन ड्रेन मान्न सकिँदैन। त्यहाँ गएका अधिकांशले ब्रेन (दिमाग)को लेभलमा योगदान गरेका छैनन्। उनीहरूलाई औजार अथवा शारीरिक श्रमशक्तिको रूपमा मात्र उपयोग गरिएको छ। मजदुरको मजबुरीमा जीवन चलाएका छन्। साँच्चै दिमागको योगदान गर्ने र बौद्धिक श्रम गरिरहेका व्यक्तिको संख्या भने निक्कै सानो छ। अनि त्यसरी बौद्धिक श्रम गरिरहेकाको संख्या यहाँ नफर्किंदैमा देशमा उक्त स्तरको बौद्धिकता भएका व्यक्तिहरूको अथवा ब्रेनको खाँचोसमेत हँुदैन। एकाएक विज्ञ, योग्य, काबिल, दक्ष, मूर्धन्य विद्वान् व्यक्तित्वहरूको सघन संख्या अहिले पनि देशमा उपलब्ध छ।

विदेश गएर जसजसले दिमागी योगदान गरेका छन्, उनीहरूलाई देश छाड्नु परेकोमा दुःखेसोसमेत छैन। बिदेसिनुलाई उपलब्धिको रूपमा हेर्छन् र अभिमान स्वरूप आफूलाई प्रस्तुत गर्छन्। विदेश यात्रा तय भएपछि पार्टी दिन्छन् अनि युद्घविजेता जस्तो गरी स्टाटस लेख्छन्। यहाँ बस्नेलाई गालीगलौज गर्दै केही गर्न नसकेको जस्तोगरी प्रस्तुत गर्नेहरू पनि छन्। श्रीमती, सन्तति र परिवारसमेत लिएर गएका छन्। यहाँको सम्पत्ति बेचेर उतै ‘सेटल’ हुने प्रक्रियामा छन्। निकै कम अथवा शून्य रेमिट्यान्स पठाउँछन्। उनीहरू यहाँ अवसर नपाएर गएका पनि होइनन्, करोडौं खन्याएर गएकाहरू पनि छन्। माइकल माथिसेनको पुस्तक ‘ब्रेन ड्रेन ः बियोन्ड द ग्रिन न्यु डिल’ले ब्रेन ड्रेनलाई त्यसरी चिन्तित हुनुपर्ने र उपायको अवलम्बनमा समाहित भइहाल्नुपर्नेे विषय होइन नै भन्छ।

बौद्धिकता पलायन (ब्रेन ड्रेन)को बहस केवल सौखिन आत्मरति हो। उनीहरूलाई देश फर्किन निरुत्साहित नै गर्नु त हँुदैन तर अबको बहस लेवर ड्रेन (श्रम शक्तिको पलायन)माथि होस् र हुनुपर्छ।

हामीकहाँ विज्ञता पलायनभन्दा श्रम पलायन (लेवर ड्रेन) चाहिँ निकै पेचिलो बन्दैछ। आज देशमा सामान्य काम गर्ने श्रमस्रोतको अधिक खाँचो छ। विश्वमा सबैभन्दा बढी विप्रेषण आप्रवाह हुने देश भारत हो। भारतलाई विप्रेषण प्रवाह गर्ने देशको सूचीमा नेपाल सातौं स्थानमा पर्छ। लगभग तीनदेखि चार खर्ब त वार्षिक रूपमा भारतीय मूलका विभिन्न श्रमिकले लैजाने देखिन्छ। यो रकम डाक्टर, प्राध्यापक, प्राविधिक, इन्जिनियर तथा विशेषज्ञ वा विज्ञ ल्याएर पठाएको होइन। घर बनाउने मिस्त्री, सैलुन चलाउने व्यक्ति, निर्माणलगायत विभिन्न खालका श्रम बजारमा प्रयोग भएका जनशक्तिको खपतमा प्रवाह भएको हो। लगभग त्यति नै रकम खाद्यान्न आयातबाट समेत जाँदैछ। यसरी खाद्यान्न आयात गर्नुपर्ने बाध्यताको आधार भनेको नेपालबाट श्रम शक्तिको पलायन हो।

देश र परिवारबाट टाढिएर बस्नुपर्दा उनीहरू पनि दुःखित छन्। यहाँ पारिवारिक विखण्डन, यौन विचलन, अभिभावकीय सामीप्यतामा संकटलगायत विभिन्न समस्या र असहजता व्याप्त हँुदैछ। श्रमशक्तिको रूपमा बिदेसिएकाको त्यो समूह चाहिँ त्यहाँ पनि साँच्चै पीडामा छ। अधिकांशले गर्ने काम जोखिमयुक्त, तुलनात्मक हिसाबले अनाकर्षक र शोषणपूर्ण (डर्टी, डेन्जरस् र डिस्गस्टिङ) रहेको तथ्यांक देखिन्छ। उनीहरूले दिनरात पसिना बगाएर नै देशलाई विपे्रषणसमेत पठाइरहेका छन्। उनीहरूले त्यहाँ बगाइरहेको श्रमको यहाँ चरम खाँचो पनि छ। तर जसका बारेमा हामी सतही बहसमा छौं। उनीहरू न त योगदान गर्छन्, न त उनीहरूको अनुपस्थितिमा देश टाट नै पल्टिएको छ।

बिग्रिएर सुध्रँदै गरेको मानिसमाथि सहानुभूति र हौसला राख्ने क्रममा कहिल्यै नबिग्रिएका माथि शोषण अनि नजरअन्दाज किञ्चित सुहाउँदैन। विदेश गएर बसेका केही थान विज्ञचाहिँ देशका लागि भगवान् नै हुन्छन्, उनीहरू फर्किएपछि देशमा जादुमयी परिवर्तन भइहाल्छ भनेर अति प्रशंसाको पुलिन्दा बोकेर हिँड्नु भनेको यही बसेर देशलाई सकेको योगदान गरौं भन्ने कर्तव्यपरायण विज्ञ समूहमाथि मानसिक तनाव र दुव्र्यवहार होइन र ? प्रवासी समूहले नेताहरूलाई पटकपटक विदेश यात्राको चाँजोपाँजो मिलाउँछ। त्यहाँ जादा भ्रमण अनि आतिथ्यको प्रबन्ध साथै यदाकदा उपहार तथा कोसेलीपात पनि प्राप्त होला। यसैले हाम्रो नेतृत्वमा विज्ञता पलायन भनिएको बिदेसिएका समूहप्रति अनावश्यक आकर्षण निर्माण भएको त होइन ? कि देशको आवश्यकता पनि अध्ययन गरिएको छ ?

पछिल्लो समय कुल गार्हस्थ्य आवश्यकता (ग्रोस डोमेस्टिक रिक्वायरमेन्ट) भन्ने शब्दावली विकासका सिद्घान्तमा अधिक प्रयोग हुने गरेको छ। हाम्रो देशलाई आवश्यकता चाहिँ ती श्रम बजारमा बाहिरिएकाहरूको बढी छ। दिमागी श्रम गर्न बाहिरिएकाको देशमा योगदान तथा उनीहरूको अभावमा समाजलाई नोक्सानी दुवै लगभग शून्य छ। जो मानिस श्रम बजारमा खपत भएका छन्, उनीहरूको अभावमा देशले बहुपक्षीय नोक्सानी भोग्दैछ। देश चलाउन योगदान पनि उनीहरूकै छ। तसर्थ बौद्धिकता पलायन (ब्रेन ड्रेन)को बहस केवल सौखिन आत्मरति हो। उनीहरूलाई देश फर्किन निरुत्साहित नै गर्नु त हँुदैन तर अबको बहस लेवर ड्रेन (श्रम शक्तिको पलायन)माथि होस् र हुनुपर्छ। उनीहरू चाहिँ छलफल र व्यवस्थापनको प्राथमिकतामा पर्नुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.