पहिरोले पाइप बगाउँदा वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव

पहिरोले पाइप बगाउँदा वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव
पहिरोका कारण क्षति पुगेको वीरेन्द्रनगर उपत्यकामा ल्याइएको खानेपानीको मुख्य पाइपलाइन।
सुन्नुहोस्

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा खानेपानी अपुग भएको छ। वीरेन्द्रनगर उपत्यकामा ल्याइएको खानेपानीको मुख्य पाइपलाइन नै पहिराले बगाउँदा समस्या भएको हो। पहिरोका कारण मुख्य पाइपलाइनमा क्षति पुगेपछि वीरेन्द्रनगर उपत्यकामा खानेपानीको अपुग भएको छ।

वीरेन्द्रनगर उपत्यकाका लागि खानेपानीको मुख्य स्रोत झुप्राखोलाबाट ल्याइएको पानी हो। तर यही खोलाबाट पानी प्रशोधन केन्द्रसम्म ल्याइएको मुख्य पाइपलाइन नै पहिरोले बगाएको छ। वीरेन्द्रनगर-१३ स्थित भञ्जाङ्गमा गत असार १२ गतेको पहिरोले मुख्य पाइपलाइन बगाएपछि उपत्यकामा वितरण हुँदै आएको खानेपानीको तालिका नै प्रभावित बनेको हो। पानीको स्रोत नै घटेपछि उपत्यकामा मागअनुसार खानेपानी वितरण गर्न नसकिएको सुर्खेत उपत्यका खानेपानी संस्थाले जनाएको छ।

सुरुवातमा पाइपलाइन रहेको तलबाट पहिरो गएको थियो। तर पहिरो विस्तारै पारेगाउँ जाने सडकसम्मै पुग्न लागेको हो। ३० मिटरसम्म पहिरो गएका कारण पाइपलाइनलाई पहिलेकै अवस्थामा राख्न समस्या भइरहेको संस्थाका इन्जिनियर वालाराम तिवारीले बताए। उनकाअनुसार पहिला क्षति पुगेको पाइपलाइन निर्माण गरेर सञ्चालन गरिएको थियो। तर असार २७ गते पुनः सोही स्थानमा पहिरोले बगाएपछि अहिले थप जटिल भएको हो। पहिरो गएको क्षेत्रमा पुनर्निर्माणको काम भइरहेको छ। तर लगातारको वर्षातका कारण काम गर्न कठिन भइरहेको इन्जिनियर तिवारीले बताए। 

पहिरोका कारण करिब सात लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। पहिरोले बगाएको पाइपलाइनलाई सुचारु गर्न आरसीसी गरेर पिल्लर उठाउने प्रयास भइरहेको छ। पिल्लरमार्फत् पाइप अड्याउन सकेमात्र खानेपानी सुचारु हुनेछ। तर त्यो काम वर्षातका कारण सहज नभएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए। पानीको मुख्य पाइपलाइन पहिरोले बगाएपछि हाल खरी, बोरीखोला र डाङ्डुङ्गे खोलासहित मुहानबाट पानी वीरेन्द्रनगरमा आपूर्ति गरिँदै आएको छ। तर यी स्रोतबाट ल्याइको पानीले उपत्यकाको मागलाई थेग्न सकेको छैन। हालः आपूर्तिभन्दा माग बढी भएकाले उपत्यकाका सबै क्षेत्रमा पानी वितरण गर्न नसकिएको अध्यक्ष देवकोटाको भनाइ छ।

वीरेन्द्रनगरमा हाल यो संस्थामार्फत् २० हजार घरधुरीमा खानेपानीका धारा जडान भएका छन्। प्रदेश राजधानी बनेपछि बढ्दो शहरीकरणका कारण हाल वीरेन्द्रनगरमा ३६ हजार घरधुरी छन्। यसकारण पनि वीरेन्द्रनगरमा खानेपानीको अभाव बढ्दो छ। वीरेन्द्रनगरमा हालः दैनिक २ करोड ३९ लाख ५२ हजार लिटर खानेपानी आवश्यक छ। तर खडेरीको समयमा चाहेजति आपूर्ति नहुँदा वर्षेनि वीरेन्द्रनगरमा खानेपानीको हाहाकार हुने गरेको छ। पछिल्लो समय वर्षाका कारण पाइप नै बगेपछि उपत्यकाबासीले खानेपानी सहजरूपमा पाउन सकेका छैनन्।

‘झुप्राखोलाबाट मात्र प्रतिसेकेन्ड ४० लिटर पानी आउँथ्यो,' अध्यक्ष देवकोटाले भने,‘अहिले त्यो आयोजनामा पहिरोले पाइप बगाउँदा पानी बन्द भएको छ, त्यसकारण अन्य स्रोतबाट आउने पानीले उपत्यकाको माग धान्न सकिरहेको छैन।' विगतमा ५२ हजार घरधुरीका लागि लक्षित गरेर खानेपानीको योजना बनेकोमा हाल वीरेन्द्रनगर बजार क्षेत्रमा झन्डै ३७ हजार घरधुरी रहेको रहेकाले पनि खानेपानीको समस्या जटिल बन्दै गएको हो। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा खानेपानीको समस्या जटिल भएपछि दिर्घकालीन समस्या समाधानका लागि भेरी नदीको पानी पम्पिङ गरी ल्याउने तयारी भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.