पुल निर्माण सक्ने कुरा, ५ वर्षमा पनि भएन पूरा

पुल निर्माण सक्ने कुरा, ५ वर्षमा पनि भएन पूरा
पोखराको फिर्के खोलामा पुल निर्माणका लागि करिब ५ वर्षदेखि ठड्याइएको छड। तस्बिर : कृष्णमणि बराल
सुन्नुहोस्

‘दुर्घटना बढेपछि पछिल्लो समय पुलमा प्लास्टिकका ठूला पानी ट्यांकी राखिएको छ, राति गुड्ने सवारीसाधन त्यसैमा नियमितजसो ठोक्किन्छन्।’

 पोखरा : पोखराको व्यस्त बजारको फिर्के खोलामा पुल निर्माण गरेर बुझाउन थपिएको दोस्रो म्याद सकिँदा पनि पुल निर्माण हुन सकेन। यसले गर्दा यात्रुले सास्ती भोग्नु परेको छ। ६ लेनको सडकअन्तर्गत पोखराको जिरो किलोमिटर र विन्ध्यवासिनी मन्दिरको बीचमा रहेको फिर्केखोलामा दुई लेनको मात्र पुल छ। अहिले भइरहेको दुई लेनको पुलको दुवैतर्फ २५/२५ मिटरको पुल थप्न दिइएको ठेक्का करिब ५ वर्ष पुग्न लाग्दासमेत नबनेको हो।

फराकिलो सडकको बीचमा साँघुरो पुल हुँदा नियमितजसो सडक दुर्घटना भएर मान्छेको ज्यानसमेत जाने गरेको पोखरा–४ का वडाध्यक्ष रामकृष्ण पराजुलीले बताए। फिर्केखोलामा २०७७ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरेर बुझाउनु पर्ने समयसीमा राखेर निर्माण कम्पनीले सम्झौता गरेको थियो। अन्तिम पटक थपिएको म्याद २०८० असार २७ गते सकिएको छ। तर, पुल निर्माणको भौतिक प्रगति २५ देखि ३० प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय पोखराकी ईन्जिनियर सहनशिला कायस्थले बताइन्। 

६ लेनको सडकअनुसार फिर्के खोलामा रहेको पुरानो पुलसँगै जोडेर दुवैतर्फ २५/२५ मिटरको गरी ५० मिटरको नयाँ पुल निर्माण गर्न शान्ति आरोग्य जेभीले २०७५ असोज ८ गतेदेखि काम सुरु गर्ने गरी सडक डिभिजन कार्यालय पोखरासँग सम्झौता गरेको थियो। पुल निर्माणको सम्झैता रकम १२ करोड ३२ लाख २६ हजार १ सय ७६ रहेको छ। ठेकेदार कम्पनीले हालसम्म १ करोड ८८ लाख ९ हजार १ सय ५९ रुपैयाँ बिल भुक्तानी लिएको बताइएको छ। पेस्की तीन किस्ता गरी १ करोड ९० लाख लगेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ।  

करिब पाँच वर्षमा फिर्के खोलाको पुलको काम जग खनेर ठड्याइएको छड पनि अलपत्र परेको वडा अध्यक्ष पराजुली बताउँछन्। ठेकेदारलाई समयमै काम पूरा गर्न लगाउन नसक्नु सडक डिभिजन कार्यालयको पनि लापरबाही देखिएको उनले सुनाए। काम छिटो सक्न सुझाउन सम्पर्क गर्न खोज्दा ठेकेदार सम्पर्कमा नआउने गरेको उनले बताए। धेरै चाप हुने व्यस्त बजार र राजमार्गको सडक निर्माणमा साह्रै लापरबाही भएको वडाध्यक्ष पराजुलीले सुनाए।  

सडक डिभिजन कार्यालय पोखराले पुल निर्माणका लागि दुईपटक म्याद थप गरेको थियो। म्याद थपको अन्तिम मिति २०८० असार २७ गतेसम्म थियो। कम्पनीले समयमै काम गर्न नसकेको सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी उज्वल शर्माले बताए। सुरुमा काम गर्न नसक्नुको कारण मुअब्जा विवाद पनि रहेको उनले सुनाए। यो विवाद गत असोजमा टुंगिएर काम गर्ने वातावरण बने पनि मुख्य ठेकेदार कम्पनी शान्ति आरोग्य जेभीले अर्कैलाई पेटी ठेक्कामा दिएको र पेटी ठेकेदारले काम नगर्दा ढिला भएपछि पछिल्लो समयमा शान्ति आरोग्य जेभीले नै निर्माणका काम सुरु गरेको उनले सुनाए। 

चाक्लो सडकको बीचमा सानो दुई लेनको मात्र पुल भएकोले पुल क्षेत्रमा सवारीसाधन धेरै दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए। दुर्घटनाका कारण घाइते हुने क्रम बढेपछि पछिल्लो समय पुलमा प्लास्टिकका ठूला पानी ट्यांकी राखिएको र त्यसैमा राति गुड्ने सवारीसाधन नियमितजसो ठोक्किने गरेको उनले सुनाए। पछिल्लो समयमा सवारीसाधन पानी ट्यांकीमा ठोक्किए पनि ठूलो घाइते हुने क्रम भने घटेको उनले सुनाए। उनका उनुसार पुलको एक भागमा ६ वटा र अर्को भागमा २ वटा रित्ता प्लास्टिकका ट्यांंकी राखिएको छ। 

फिर्के पुलमा धेरै दुर्घटना भइरहेकाले समयमै पुल निर्माण गर्न नसक्दा साँघुरो पुल धरापजस्तै भएको नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन्। सडक दुर्घटना धेरै भएपछि नागरिक समाज पोखराका प्रतिनिधिले छिटो पुल निर्माण सम्पन्न गर्न दबाब दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधिलाई लिएर स्थलगत अवलोकनसमेत गराएको अधिकारीले बताए। पटक–पटक ताकेता गर्दा पनि पुल निर्माणमा ढिलाइ हुनु र साँघुरो पुलका कारण रातको समयमा झुक्किएर सडक दुर्घटनामा परेर ज्यानसमेत जाने क्रम भइरहनु दुःखको विषय भएको अधिकारीले बताए। 

फिर्के खोला पुल निर्माण ढिला भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरीसमेत परेको थियो। फिर्के खोला पुल निर्माणमा ढिला भएको विषय छानबिनको प्रक्रियामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जनाएको छ। ठेकेदार कम्पनीले काम लिने तर वर्षै काम नसकेर अलपत्र पर्दा साँगुरो पुलमा सवारीसाधन ठोक्किएर, खोलामै सवारीसाधन खसेर धेरै यात्रुको ज्यान गएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.