पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो। किनभने यसविरुद्ध खोप लगाउन सकिन्छ।
विश्वभरिका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर हो। सन् २०२० मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)द्वारा प्रकाशित तथ्यांकअनुसार पाठेघरको मुखको क्यान्सरका कारण विश्वमा ६ लाख ४ हजार नयाँ बिरामी पाइएका छन्। यस रोगबाट ३ लाख ४२ हजार महिलाको मृत्यु भएको छ। यीमध्ये ९० प्रतिशत निम्न तथा मध्यम आय भएका मुलुकका महिला हुन्।
नेपाली महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर पाइएको छ। नेपालमा प्रत्येक वर्ष यस रोगका २ हजार २ सय ४४ नयाँ बिरामी देखिने गरेका छन्। १ हजार ४ सय ९३ महिलाको यसैका कारण मृत्यु हुने गरेको छ। डब्लूएचओले ‘ग्लोबल स्ट्राटिजी फर द इलिमिनेसन अफ सर्भिकल क्यान्सर’ अन्तर्गत ‘ट्रिपल इन्टरभेन्सन टार्गेट ९०–७०–९०’ को अवधारणा ल्याएको छ।
यसअनुसार सन् २०३० सम्ममा १५ वर्षमुनिका ९० प्रतिशत किशोरीलाई यस क्यान्सरविरुद्धको खोप लगाउने लक्ष्य छ। त्यस्तै ७० प्रतिशत महिलामा प्याप स्मियर टेस्ट गराउने र पाठेघरको मुखको क्यान्सर र प्रिक्यान्सर लिजन देखिएका ३५ देखि ४५ वर्षसम्मका ९० प्रतिशत महिलाको उपचार गर्ने लक्ष्य राखिएको छ। यो लक्ष्य पूरा गर्न सकेमा विश्वभरि नै सन् २०३० सम्ममा यस क्यान्सरबाट हुने मृत्युदर ३३ दशमलव ९ प्रतिशत प्रति एक लाख महिलामा घटाउन सकिन्छ। त्यस्तै, सन् २१२० सम्ममा ९९ प्रतिशतले घटाउन सकिन्छ।
पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो। किनभने यसविरुद्ध खोप लगाउन सकिन्छ। यो रोग धेरैजसोमा ४० वर्षको उमेर हाराहारीमा लागेको पाइन्छ। यसमा पनि अझै विशेषगरी ३५देखि ३९ वर्ष र ६० देखि ६४ वर्ष उमेरसमूहमा यो रोग बढी पाइएको छ। १६ वर्षभन्दा अघिदेखि नै असुरक्षित यौन सम्पर्क गर्ने, धेरै जनासँग यौन सम्पर्क गरेका, धूमपान गर्ने, धेरै सन्तान जन्माएका, न्यून आयस्रोत भएका र रोग प्रतिरोधात्मक शक्ति कम भएका महिलामा रोगको जोखिम बढी पाइएको छ।
पाठेघरको मुखको क्यान्सर ९५ प्रतिशतभन्दा बढीमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)का कारणले हुन्छ। एचपीभीका १ सय ५० भन्दा बढी थरीका छन्। यसमध्ये १३ थरीले पाठेघरको मुखको क्यान्सर गराउँछ। एचपीभी १६ र १८ ले ७० प्रतिशत र एचपीभी ३०, ३३, ३५, ४५, ५२ र ५८ ले २० प्रतिशत पाठेघरको मुखको क्यान्सर गराउँछ। एचपीभी ६ र ११ ले भने योनिको भागमा मुसा (जेनाइटल वार्ट) गराउँछ। यौन सम्पर्क सुरु भइसकेका ८० प्रतिशतमा एचपीभी संक्रमण हुन्छ। यिनीहरूमध्ये धेरैजसोमा भाइरस आफैं हराएर पनि जान्छ, सबैलाई क्यान्सर भने हुँदैन। पाठेघरको मुखको क्यान्सरबाहेक यसले मलद्वार, योनि, लिंग र खाने मुखको तलपट्टिको भाग (ओरोफ्यारेन्जियल) को क्यान्सर पनि गराउँछ। पाठेघरको मुखको क्यान्सरबाट जोगिन एचपीभी भ्याक्सिन लगाउन सकिन्छ। एचपीभी भ्याक्सिन मुख्यत : तीन थरीका हुन्छन्।
- बाइभ्यालेन्ट भ्याक्सिन (२ एचपीभी) : एचपीभी १६, १८ (यो भ्याक्सिन सर्भारेक्स र सेकोलिन नामले उपलब्ध छ।)
- क्वाड्रिभ्यालेन्ट भ्याक्सिन (४ एचपीभी) : एचपीभी १६, १८, ६, ११ (यो भ्याक्निस गार्डेसिल–४ नामले पाइन्छ।)
- नोनाभ्यालेन्ट भ्याक्सिन (९ एचपीभी) : एचपीभी १६, ११, १६, १८, ३१, ३३, ४५, ५२, ५८ ( यो भ्याक्सिन गार्डेसिल–९ नामले चिनिन्छ।)
- यी भ्याक्सिन निम्न उमेर समूहमा लगाउन सकिन्छ।
११–१४ उमेर समूह। तर नौ वर्षदेखि नै पनि यो खोप लगाउन सकिन्छ। यस उमेरका केटाकेटी दुवैलाई यो भ्याक्सिन लगाउन सकिन्छ। साथै यिनीहरूमा यौन सम्पर्क सुरु भइनसकेको र एचपीभी संक्रमण पनि नभएका हुनाले खोप बढी प्रभावकारी हुन्छ। यो भ्याक्सिनको २ डोज, ६ देखि १२ महिनाको फरकमा लगाउँदा राम्रो हुन्छ।
१५ देखि २६ वर्ष : यो उमेरसमूहमा खोप लगाउन छुटेको छ भने यौनसम्पर्क सुरु भए वा एचपीभी पोजेटिभ नै भए पनि लगाउनु पर्छ। यस उमेरमा तीन डोज लगाउनुपर्छ। पहिलो खोपको एक महिनापछि दोस्रो र ६ महिनापछि तेस्रो डोज लगाउनुपर्छ।
२७ देखि ४५ वर्ष : पहिले खोप लिएको छैन भने स्त्रीरोग विशेषज्ञसँग सल्लाह गर्नुपर्छ। फाइदा हुने भए मात्र भ्याक्सिन लगाउनुपर्छ। त्यसमा पनि ३ डोज लगाउनुपर्छ। यो लगाउनु अगाडि एचपीभी डीएनए टेस्ट गर्नु जरुरी छैन।
कुनै एक थरीको खोप लगाएकाले अर्को डोज लगाउँदा त्यही नपाइएको खण्डमा अर्को थरीको पनि लगाउन मिल्छ। यस खोपको बुस्टर डोज लगाउनु पर्दैन।
गर्भवती अवस्थामा यो खोप लगाउनु मिल्दैन। खोप लगाउन सुरु गरेपछि गर्भवती भएमा बच्चा जन्मिएपछि थप डोज लगाउन मिल्छ। स्तनपान गराइरहेकाले पनि लगाउन मिल्छ। रोग प्रतिरोधात्मक शक्ति कम भएका जस्तै एचआइभी, अंग प्रत्यारोपण गरेका सबै उमेर समूहले तीन डोज लिनुपर्ने हुन्छ।
विश्वमा सन् २००६ यता करिब २७ करोडले खोप लगाइसकेको तथ्यांक छ। यिनीहरूमध्ये कसैलाई पनि संवेदनशील जोखिमहरू देखिएको छैन। खोप लगाएको ठाउँमा सुन्निने वा रातो हुन सक्छ। तर पहिलो डोज लगाउँदा एलर्जी देखिएमा दोस्रो डोज लगाउनु हुँदैन। ज्वरो आएको छ भने निको भएपछि मात्रै लगाउने गर्नुपर्छ। खोप लगाएको १५–२० मिनेटसम्म निगरानीमा बस्नुपर्छ। यो खोप एचपीभी भाइरसको संक्रमण हुनु अगाडि नै लगाएको अवस्थामा ८९ प्रतिशत प्रभावशाली हुन्छ। यो खोप लगाएकाहरूले पनि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँच (प्यापस्मियर) नियमित गर्नु जरुरी हुन्छ।
डब्लूएचओले सन् २०२२ को अप्रिल महिनामा गरेको एक अध्ययनमा एचपीभी खोप एक डोज मात्र लगाउँदा पनि उत्तिकै प्रभावशाली हुने देखाएको छ। संगठनका अनुसार ९ देखि १४ वर्ष उमेर समूहकाले १ वा २ डोज, १५ देखि २१ वर्ष उमेर समूहकाले १ वा २ डोज र २१ वर्ष माथिकाले ६ महिनाको अन्तरमा २ डोज लगाउने तालिका छ। यसो गर्दा धेरै जनामा खोप लगाउन सकिने विश्वास लिइएको छ।
यो खोपले शरीरलाई एचपीभीविरुद्ध एन्टिबडी निर्माण गर्न प्रोत्साहन गर्छ। जसले गर्दा भविष्यमा संक्रमण हुँदा एन्टिबडीले भाइरस संक्रमण हुन दिँदैन। नेपालमा पनि सन् २०१६ मा सरकारद्वारा पाइलट अध्ययनअन्तर्गत चितवन र कास्की जिल्लामा खोप लगाइएको थियो। ११ देखि १३ वर्षभित्रका किशोरीहरूलाई खोप दिइएको थियो।
सन् २०२३ मा पनि सरकारले यो खोप दिने योजना बनाएको छ। हाल विभिन्न निजी स्वास्थ्य संस्थाहरूमा पनि यो खोप पाइन्छ। आशा गरौं विकसित देशमा झैं जस्तै तालिकामा राख्नेछ। सहरी र दुर्गमका महिलाको खोपमा सहज पहुँच हुनेछ।
- डा. आचार्य स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।