वीरगन्जमा जलवायु परिवर्तनको असर, ९० प्रतिशत चापाकल सुक्दा पानीको हाहाकार
वीरगन्ज : घडीअर्वाकी ६८ वर्षीया सुभावती देवी कानु भन्छिन्, 'वीरगन्जमै जन्मिए, यहीँ हुर्के, बुढ्यौली पनि यही बित्दैछ। तर पानीको यस्तो हाहाकार कहिल्यै देख्नु परेको थिएन।'
घरको चापाकल सुकेर पानी नै आउन छाडेपछि कानुका नाती नातिनाले तीन दिनदेखि छिमेकी घरको धाराबाट पानी ओसार्दै गर्जो टारिरहेका छन्। छिमेकीको दैलोमा नाती नातिनासँगै बिहीबार राति ११ बजेसम्म पालो कुरेर बसेको अवस्थामा भेटिएकी उनी भन्छिन्, 'मेरोमात्र होइन, 'पडोसी सबै चापाकल सुकेका छन्, घण्टौसम्म मोटर चलाउँदा पनि एक थोपा पानी आउँदैन। टोलभरिका घरलाई यही एउटा घरको चापाकलले धानेको छ।'
वीरगन्ज महाानगरपालिका र यस आसपासका क्षेत्रमा पछिल्लो एक सातायता चापाकल सुकेपछि पानीको हाहाकार भएको छ। खासगरी महानगरका सहरी भेग (वडा-१ देखि १८ सम्म)का वडामा रहेका प्राय: सबै चापाकल सुकेर पानी आउन छााडेपछि खानेपानीको विकराल अवस्था सिर्जना भएको छ। चापकल र बोरिङमा जडित विद्युतीय मोटरले समेत पानी नतान्दा वीरगन्जको सहरी क्षेत्रको जनजीवन निक्कै कष्टकर बनेको छ।
वीरगञ्ज-९ रानीघाटका प्रदीप सर्राफ भन्छन्, ‘चार दिन भयो घरको चापाकलबाट पानी आउँदैन। तीन सय मिटर पर एक छिमेकी दाजुको घरबाट बाल्टीमा पानी ओसारेर गुजारा चलाइरहेका छौं। त्यहाँ पनि टोलभरिका मान्छेहरूको भिड लाग्छ। एक-डेढ घण्टापछि मात्रै बाल्टी थाप्ने पालो आउँछ।'
वीरगन्ज महानगरपालिकाको खानेपाानी शाखाका अनुसार असार अन्तिम सातादेखि महानगरका ८५ देखि ९० प्रतिशत चापाकल सुकेर पानी आउन छाडेको छ।
शाखा प्रमुख भोगेन्द्र चापागाईँका अनुसार महानगरको ३२ वटै वडामा गरी कूल घरधुरी संख्या ४७ हजार ११४ छ। ती घरधुरी र सार्वजनिक स्थानमा गरी २७ हजार ४९० चापाकल जडान छन् भने नेपाल खानेपानी संस्थानको धारा जडान भएको घरधुरीको संख्या १२ हजार ९२५ छ। त्यस्तै महानगरमा इनारको संख्या २९६ वटा छ। तर ती सबै इनार फोहोर र जीर्ण भइसकेका कारण प्रायः प्रयोगविहीन अवस्थामा रहेको चापागाईँले बताए।
महानगरको सहरी क्षेत्रका वडाहरू ( वडा-१ देखि १९ सम्म)मा अहिले झण्डै ९० प्रतिशत चाापाकल सुकेर पानी आउन छाडेको चापागाईँले बताए। उनले भने, 'खानेपानीको हाहाकार भएको जनगुनासो आएपछि हामीले वाडा-वाडामा पुगेर प्रारम्भिक सर्वे गर्दा करिब ९० प्रतिशत चापकल सुकेको पायौं।’
लामो समयदेखिको खडेरी र प्रचण्ड गर्मीका कारण जमनिमुनिको पानीको लेयर झन् झन् तल झर्दै गएका कारण चापाकलमा पानी आउन छाडेको उनले बताए। 'चापाकलको पाइपभित्र सतहदेखि २९ फिट तलसम्म पानी भएमात्र चापकलले पानी तान्न सक्छ। तर पानीको त्यो लेयर ३० फिटभन्दा तल गयो भने चापाकलले पानी तान्न सक्दैन। अहिले वीरगन्जमा देखिएको समस्या त्यही नै हो। यहाँको पानीको लेयर अहिले ३० फिटभन्दा तल गइसकेको छ।
सरकारी धारा जडानका लागि खानेपानी संस्थानमा सेवाग्राहीको भिड
चापकलहरू सुकेर पानी आउन छाडेपछि सरकारी धारा जडानका लागि वीरगन्जस्थित नेपाल खाननेपानी संस्थानको शाखा कार्यालयमा सेवाग्राहीको भीड बढेको छ। साउन १ देखि ४ गतेसम्म चार दिनको अवधिमै नयाँ धारा जडानका लागि २०९ जनाले आवेदन दिएको कार्यालय प्रमुख इन्जिनियर निरण महर्जनले बताए। 'पहिले सरकारी धारा जडान गर्न कोही मान्दैनथे। अहिले चापकलहरू सुकेर पानीको हाहाकार भएपछि सरकारी धारा जडानका लागि कार्यालयमा सेवाग्राहीको ओइरो लागेको छ,' उनले भने।
वीरगन्ज महानगर क्षेत्रमा पानीको समस्या गत जेठदेखि नै सुरु भएको भन्दै उनले त्यसयता नयाँ धारा जडानका लागि आवेदन दिनेहरूको संख्या ह्वात्तै बढेको बताए। 'जेठभन्दा पहिलेका महिनामा नयाँ धारा जडानका लागि महिनामा मुश्किलले औसतमा ५ जनामात्रै आउँथे. तर जेठयता भने त्यो संख्या अप्रत्यासितरूपमा बढ्दै गएको छ।'
उनका अनुसार नयाँ धारा जडानका लागि २०७९ को बैशाखमा ७ जना, जेठमा ४ जना, असारमा १५ जना, साउनमा १३ जना, भदौमा ६ जना, असोजमा २ जना, कात्तिकमा १ जना, मंसिरमा १ जना, पुषमा ३ जना, माघमा ९ जना, फागुनमा ४ जना र चैतमा १४ जनाले आवेदन दिएका थिए। गत बैशाखमा ४१ जनाले आवेदन दिएकोमा गत जेठमा त्यो संख्या ह्वात्तै बढेर १५७ पुगेको महर्जनले बताए। गत असारमा भने त्यो संख्या अझ बढेर २०२ जनाले आवेदन दिएको उनले बताए। 'गत असार महिनाभरिमा २०२ जनाको आवेदन परेकोमा साउन लागे यता चार दिनमै २०९ जनाले निवेदन दिइसकेका छन्,' उनले भने।
झन्झटिलो प्रक्रियाले सेवाग्राही पीडामा
चापकाल सुकेर पानीको लागि त्राहीमाम भएका वीरगन्जका स्थानीयबासी सरकारी धारा जडानका लागि खानेपानी संस्थान पुगे पनि झन्झटिलो प्रक्रियाका कारण थप पीडामा परेका छन्। गत जेठ २५ गते महानगरका मेयर राजेशमान सिंहले पानीको समस्या समाधानका लागि भन्दै महानगरका ४ हजार घरधुरीमा खानेपानी संस्थानको निःशुल्क धारा जडान गरिदिने घोषणा समाजिक सञ्जालमार्फत् गरेका थिए। तर मेयरले घोषणा गरेको त्यो निःशुल्क धारा जडानको प्रक्रिया झन्झटिलोका साथै निःशुल्क नभएको महानगरबासीको गुनासो छ।
संस्थानको धारा जडानका लागि महानगरका केही वडा कार्यालयले सिफारिस गरेबापत ३ हजार रुपैयाँसम्म शुल्क लिने गरेको पाइएको छ। केही वडाले भने सिफिरिस गरेबापत १८० रुपैयाँमात्रै पनि लिने गरेको छ।
शुक्रबार संस्थानको कार्यालयमा भेटिएका वीरगन्ज १० की सेवाग्राही प्रतिमा अग्रवालले संस्थानको धारा जडानका लागि सिफरिस लिन जाँदा वडा कार्यालयले ३ हजार ३० रुपैयाँ लिएको नगदी रसिद देखाइन्। उक्त रसिदमा निवेदन दस्तुर बापत ५ रुपैयाँ, खानेपानी लाइन सिफरिस बापत ३ हजार रुपैयाँ र अन्य प्रशासनिक शुल्क बापत २५ रुपैयाँ गरी कूल ३ हजार ३० रुपैयाँ लिएको उल्लेख छ।
संस्थानमै भेटिएककी वीरगन्ज-१३ की सेवाग्राही ज्वाला देवीले पनि संस्थानको धारा जडानका लागि सिफारिस लिन पुग्दा वडा कार्यालयले ३ हजार ३० रुपैयाँ लिएको बताइन्।
तर संस्थानमै भेटिएका वडा नम्बर १७ का जमदारप्रसाद सहनीले भने वडा कार्यालयले सिफारिस पत्रका लागि आफूसँग १८० रुपैयाँमात्र शुल्क लिएको बताए।
यसबाहेक संस्थानले पनि नयाँ धारा जडानका लागि विभिन्न शीर्षकमा गरी ८ हजार ४१० रुपैयाँ लिने गरेको छ। संस्थानले कार्यालयमा टाँसेको सूचनामा नयाँ धारा जडान शुल्क ३ हजार २३० रुपैयाँ, धरौटी ३ हजार रुपैयाँ, सडक खनेर पुर्दा लाग्ने शुल्क २ हजार ४० रुपैयाँ, कार्ड शुल्क ४० रुपैयाँ र चालु महिनाको पानी महशुल ११० रुपैयाँ गरी कूल ८ हजार ४१० रुपैयाँ लाग्ने उल्लेख गरिएको छ।
संस्थान कार्यालयमा भेटिएका वीरगन्ज-९ का सेवाग्राही हीराप्रसाद कलवार भन्छन्, 'मेयर सापले ४ हजार धारा निुःशुल्क जडान गर्ने हल्ला हल्लामै सकियोजस्तो छ। वडा र संस्थानमा गरी १२ हजार रुपैयाँ तिरिसक्दा पनि एक महिनादेखि मेरो घरमा धारा जडान भएको छैन। सधैं धाइरहेको छु।'
यता वीरगन्ज महाननगरका मेयर राजेशमान सिंहले भने ४ हजार धारा निशुल्क जडान गर्न आफूले गरेको प्रतिबद्धता कार्यान्वयनकै प्रक्रियामा रहेको बताए। अहिले संस्थानका धारा जडानका लागि वडा कार्यालय र संस्थानले लिइरहेको शुल्क आफूले घोषणा गरेअन्तर्गतको धाराका लागि नभएको पनि उनले प्रष्ट पारे।
'वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको ८० प्रतिशत र महानगरपालिकाको २० प्रतिशत खर्चमा ४ हजार धारा निःशुःल्क जडान गर्ने घोषणा गरेको थिएँ। त्यसको प्रक्रिया पूरा हुन केही समय लागेकाले कार्यान्वयनमा ढिला भएको हो। प्रक्रिया पूरा हुनासाथ ४ हजार धारा निशुल्क जडान हुन्छ नै।'
उनले वडा कार्यालयहरूले निजी प्रायोजनको धारा जडानका लागि आवश्यक सिफारिस पत्रका लागि लिइरहेको शुल्कमा देखिएको असमनाताबारे भने आफ्नो ध्यानाकर्षण भएको बताए। यसबारे महानगरपालिकाको राजश्व महाशाखा र सम्बन्धित वडाका वडा कार्यालयका कर्मचारीलाई बोलाएर छलफल गर्ने पनि उनले बताए।
अहिले वीरगन्जमा देखिएको खानेपानीको चरम समस्या तत्कालका लागि सम्बोधनका लागि महानगरका सहरी क्षेत्रका १८ वटा वडामा आवश्यकताअनुसार १० देखि १५ वटा खानेपानी संस्थानको धारा जडानको काम शनिबार या आइतबारदेखि नै सुरु गर्ने निर्णय भएको जानकारी उनले दिए। महानगरका मेयरको कार्यकक्षमा शुक्रबार दिउँसो मेयर सिंह र खानेपानी संस्थान शाखा कार्यालय वीरगन्जका प्रमुख महर्जनसमेतको सहभागीतामा बसेको बैठकमा पानीको हाहाकारको समस्या तत्कालका लागि सम्बोधनका लागि यस्तो निर्णय गरिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी गराए।
महानगरको वडा नम्बर १ देखि १७ र १९ नम्बर वडा गरी १८ वटा वडामा अहिले सबैभन्दा बढी पानीको समस्या देखिएकाले ती प्रत्येक वडाको सार्वजनिक स्थानमा १० देखि १५ वटा धारा जडानको काम तत्कालै सुरु गर्ने निर्णय भएको घिमिरेले बताए।
संस्थानले धारा जडानको काम शनिबार या आइतबारदेखि नै थाल्ने र धारा जडानमा लाग्ने सबै खर्च र त्यसको महशुल महानगरपालिकाले तिर्ने सहमति भएको जानकारी उनले दिए। खानेपानी संस्थानको पानी आपुर्ति गर्ने पाइप लाइन नभएका ग्रामीण भेगका लगायतका वडामा भने यसअघिदेखि ट्याङकरबाट पानी वितरण गर्दै आएको सेवालाई पनि निरन्तरता दिने निर्णयपनि भएको घिमिरेले बताए।
वन फडानी र खोलाको दोहनले मधेसमा पानीको समस्या
चुरे तथा भावर क्षेत्रमा बढ्दो वन फडानी र नदी-खोलाको अत्यधिक दोहन भइरहेकाले वीरगन्जसहित मधेसका सहरी क्षेत्रमा चापाकल सुक्ने समस्या देखिएको वातावरणविद्हरू बताउँछन्। दिनप्रतिदिन बढ्दो वन फडानी र अत्यधिक दोहन भइरहेकाले त्यसले पर्यावरणमा समेत असर परेको र मधेसमा पानीका प्राकृतिक स्रोतहरू मासिँदै गएको चुरे र तराईको अन्तरसम्बन्धबारे विद्यावारिधि गरेका डा. विजयकुमार सिंह दनुवार बताउँछन्।
'तराईमा अहिले देखिएको पानीको अभावको मूल कारण नै बढ्दो वन विनास र अत्यधिक नदी-खोलाको दोहन नै हो। वीरगन्जमात्रै नभइ सर्लाही, महोतरी, धनुषालगायतका जिल्लाका सहरी क्षेत्रमा अहिले पानीको समस्या देखा परिरहेको उनि बताउँछन्। विशेषगरी चुरे भन्दा तलको भावर क्षेत्रमा पर्ने वीरगन्ज, जनकपुर लगायतका मधेसका सहरी क्षेत्रमा जमिनमुनी पानीको रिचार्ज हुन नसक्दा चापाकल, ट्युबेललगायतका स्रोतहरू सुक्न थालेको दनुवारको भनाइ छ।
उनी भन्छन्, 'पहिले पहिले जंगगल घना थिए। खोलाहरूमा प्रशस्त ढुंगा हुन्थे, जसले गर्दा पानी रोकिँदै आउँथ्यो। तर अहिले वन फडानी तिब्र छ। खोलाहरूको दोहन पनि अत्यधिक भइरहेको छ। त्यसकारण माथिबाट पानी बग्दा तीव्र गतिमा आउँछ। कुनै अवरोध हुँदैन र चुरेबाट भावर क्षेत्रमा माटोसँग पानी मिसिएर आउँदा बाक्लो भएर जमिनले सोस्न सकेन अर्थात् जमिनमुनिको पानी रिचार्ज हुन सकेन अनि पानीको लेयर झन् झन् तल गइरहेको छ।’
चुरे क्षेत्रका नदी खोलाहरूमा अहिलेपनि प्रशस्त पानी रहेको उनि बताउँछन्। तर भावर क्षेत्रमा आइपुग्दा तीनै नदिखोलामा पानी नभेटिएको अवस्था रहेको उनी बताउँछन्।
दनुवार भन्छन्, ‘वीरगन्जको सबालमा कुरा गर्ने हो भने वीरगन्ज सहरको आसपासमा ठूला नदी वा खोला छैन, भएका साना नदी पनि अतिक्रमणमा परिसकेको छन्। अनि लामो समयदेखि वर्षा पनि भएको छैन। जसका कारण जमिनमुनि पानीको रिचार्ज हुन सकेको छैन। पानीको लेयर झन् झन् तल गइरहेको छ।'