पालिकाको पहिचान झल्काउने पाठ्यसामग्री
गुलरिया : गुलरिया नगरपालिकाको पहिचान बढाउने आधारभूत तह (कक्षा १—८) स्थानीय पाठ्यक्रम गुलरिया गाथाको पाठ्यसामग्री सार्वजनिक भएको छ। गुलरिया नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आधारभूत शिक्षालाई गुणस्तरीय र जीवनोपयोगी सीपमा आधारित बनाउन पुस्तक प्रकाशन गरेको हो।
पालिकाभित्रका स्थानीय कला, संस्कृति, ऐतिहासिक परम्परा, धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थानहरूको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यका पाठ्यक्रम निर्माण गरिएको उनले बताए।
नगर क्षेत्रका महत्वपूर्ण विषयवस्तुको परिचय गराई बालबालिकालाई आफ्नो ठाउँको कला र संस्कृतिसँग परिचित गराउँदै आफ्नोपनको सकारात्मक सोचको विकास गराउन पुस्तक सहयोगी हुने गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए। ‘श्रमप्रति सम्मान गर्दै स्वाभिमानी तथा स्वावलम्वी धारणाको विकास गर्दै राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय तहका विषयवस्तुसँग परिचित गराउनसहयोग पुग्ने अपेक्षा छ’, उनले भने, ‘पालिकामा लामो समयसम्म कार्यरत अनुभवी शिक्षकहरूको विज्ञ समूहको छलफल, अन्तरक्रिया तथा कार्यशाला बैठकमार्फत नगरपालिकाले पाठ्य सामग्री तयार पारेको हो।’
पुस्तकमा नेपालकै दुर्लभ लोपोन्मुख वन्यजन्तु कृष्णसार तथा संरक्षण क्षेत्र, नगर र वडा, जनसंख्या, विकास निर्माण, पेशा, संस्कृति, जातजाति, सामाजिक, धार्मिक अवस्था, स्थानीय पेशा, ब्यवसाय, प्राकृतिक सम्पदा, विपद्जस्ता विषयवस्तु समेटिएका छन्।