नेपाली समाजको समावेशी चरित्रलाई बीपीले व्यावहारिक राजनीतिमा समेट्ने प्रयास गरे। उनले लिएको संसदीय लोकतन्त्रको बाटो आज देशको मूल राजनीतिक पद्धतिको रूपमा संस्थागत भइसकेको छ।
आज हामी नेपाली राजनीति र साहित्यका शिखर व्यक्तित्व बीपी कोइरालाको ४२औं स्मृति दिवस मनाउन गइरहेका छौं। बीपी बितेको चार दशक नाघिसक्दा पनि उनको व्यक्तित्व र कृतित्वमाथि देशैभर सघन छलफल र बहस हुँदैछ। नेपाली कांग्रेसभित्र र बाहिर उनको योगदानलाई लिएर यस प्रकारका छलफल, बहस हुँदै जानु कोइरालाले अँगालेको दर्शन र अभ्यास गरेको राजनीतिक बाटोको सर्वस्वीकार्यताको दायरा बढ्दै जानु हो।
बीपी कोइरालाको राजनीतिक व्यक्तित्वका स्पष्ट दुई आयाम छन्। पहिलो, तत्कालीन समस्यालाई पर्गेलेर समाधानको उचित उपाय पहिल्याउन सक्ने गतिशील राजनीतिक व्यक्तित्व थियो। दोस्रो, राजनीतिक कोर्सका दौडान मुलुकले कालान्तरमा भोग्न सक्ने दीर्घकालीन समस्यालाई आकलन गरेर समस्याको जरोसम्म पुग्ने र समाधानको उपाय खोज्ने सुविचारित समाजशास्त्रीय चेत थियो। यी दुई आयामको बलमा बीपीको व्यक्तित्व निर्माण भएको छ। अद्यापि उनी नेपाली राजनीतिको केन्द्रमा छन्। यी दुई बृहत् आयामलाई केन्द्रमा राखेर प्रकट हुने उनका अरू सहायक विशेषता छन्। प्रजातान्त्रिक व्यक्तित्व, गतिशील व्यक्तित्व, राष्ट्रभक्त छवि र समन्वयकारी व्यक्तित्व।
अन्यायी जहानियाँ राणा शासकको पञ्जामा जकडिएको तत्कालीन समाजले विद्यालयको मुख देख्न पाएन। त्यसैले नेपालको प्रमुख समस्या चेतनाको कमी थियो। उतिबेलाको कुरा छोडिदिउँ। दुर्भाग्य मान्नुपर्छ, विज्ञान प्रविधिको क्षेत्रमा दुनियाँले अभूतपूर्व प्रगति गरिसक्दा नेपालमा थुप्रै यस्ता परिवार छन्, जहाँ विद्यालय पुगेको पुस्ता मुस्किलले एउटा पुग्दैछ। यस्तो विकराल परिस्थितिमा चेतनाको दुर्लभ दियो बालेर आठ दशक पहिला बीपीले नेपाली समाजलाई जोडेर सामूहिक संज्ञान निर्माणको पहिलो प्रयास थालेका थिए। यसको आधारभूत पिलरको रूपमा उनले राष्ट्रियताको नवीन आयाम खुट्ट्याए।
केवल भूगोल, ढुंगा, माटोजस्ता भौतिक पदार्थले मात्र राष्ट्रियताको आयाम समेट्न नसक्ने बरू राष्ट्रवासीको सामूहिक हित, चित्त, भावना र सामञ्जस्यतामा मात्र राष्ट्रियताको निर्माण हुने उनको परिभाषा आफैंमा नवीन र ओजस्वी थियो। एउटै समुदायभित्र पनि भूगोलअनुसार फरकफरक भाषा, संस्कार र व्यावहारिक जीवनमा भेद छ। उदाहरणका लागि पूर्वको ब्राह्मण र पश्चिमको ब्राह्मणबीच भाषिक आञ्चलिकता प्रधान छ। फरकफरक भूगोलमा बस्ने नेवार र गुरुङको आआफ्नो संस्कार छ। लवज छ। यो विविधतालाई बुझ्न र एउटा सूत्रमा उन्न सकेमा मात्र राष्ट्रियता बलियो हुने उनको आशय थियो।
लोकतान्त्रिक छविलाई केन्द्रमा राखेर बीपीले जीवनभर लोकतन्त्र प्राप्तिका लागि संघर्ष गर्नुभयो। उनले खोजेको लोकतन्त्रको केन्द्रमा नागरिक थिए। जनताद्वारा निर्वाचित सरकार र नागरिकले बनाएको संवैधानिक परिधिभित्र संवैधानिक राजसंस्था उनको वैचारिक मेरुदण्ड थियो। राजा र नागरिकबीचको अटुट सम्बन्ध र सहकार्यबाट मात्र विशिष्ट भौगोलिक अवस्थिति लिएर जन्मिएको नेपालको राष्ट्रियताको संरक्षण र प्रवद्र्धन गर्न सकिने बीपीको विश्वासलाई नेपाली कांग्रेसले लामो समयसम्म अंगीकार गर्यो। तर, राजाको उल्टो मतिलाई समयको गतिले ठीक पार्नुपर्ने भयो।
इतिहास साक्षी राखेर बीपी स्वयं र नेपाली कांग्रेसले राजसंस्थालाई पटकपटक चेतावनीसहितको नसिहत दियो– जनताका अहरणीय अधिकार जबर्जस्ती खोस्नेहरूको इतिहासमा कुनै स्थान छैन। नागरिक अधिकार राजाले दयाभाग स्वरूप दिएका दानबस्तु होइनन् बरू राज्यले महसुस गरेका या स्वीकार गरेका तत्त्वहरू हुन्। त्यसैले नागरिक अधिकार खोस्ने कुचेष्टा नगर। स्वयं बीपीले ठाउँठाउँमा भनेका छन्, ‘जनतामाथि जबर्जस्ती गर्छौ भने इतिहासमा राजसंस्थाको स्थान कतै रहने छैन।’ आखिर भयो त्यस्तै। पर्दापछाडि अराजनीतिक शक्तिहरूसँगको साँठगाँठबाट जनताविरुद्ध तिरीपासा खेल्ने राजसंस्थालाई कांग्रेसकै नेतृत्वमा बिदाइ गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नुपर्यो, जुन सुखद कुरा हो।
नेपाली समाजको समावेशी चरित्रलाई उनले व्यावहारिक राजनीतिमा समेट्ने प्रयास गरे बीपीले। २०१६ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेपछि उनको नेतृत्वको मन्त्रिमण्डलमा सहभागी महिला, मधेसी, थारू, आदिवासीलगायत समुदायका अनुहारले पुष्टि गर्छ। उनले लिएको संसदीय लोकतन्त्रको बाटो आज देशको मूल राजनीतिक पद्धतिको रूपमा संस्थागत भइसकेको छ। यद्यपि उनले खोजेको पूर्ण लोकतन्त्र प्राप्तिको महान् उद्देश्यका लागि भने हामीले अझै मिहिनेत गर्नुपर्ने देखिन्छ। किनकि पूर्ण लोकतन्त्र राजनीतिक व्यवस्था परिवर्तनमात्र नभएर जनताको अवस्था परिवर्तनसँग प्रत्यक्ष साइनो गाँस्ने सर्वाधिक महत्त्वको विषय हो।
आज छिमेकी भारत र चीन शीतयुद्धकालीन बीपीको समयका रहेनन्। उनीहरूसँग भएको विशाल मानव जनशक्ति र सूचना प्रविधिको क्षेत्रमा गरेको प्रगतिको आधारमा उनीहरूको आर्थिक हैसियत चुलिएको छ। आर्थिक समृद्धिको जगमा टेकेर विकासको बाटो पहिल्याएका उनीहरूले विश्व राजनीतिक रंगमञ्चमा आफ्नो हैसियत सशक्त बनाउँदै लिएका छन्। उनीहरूको अगाडि हाम्रो हैसियत लघु स्वरूपमा खुम्चिँदै गइरहेको छ। निःसन्देह यो सुखद संकेत होइन।
अन्तर्राष्ट्रिय फोरममा देशको हैसियत कसरी कायम हुन्छ भन्ने कुराको एउटा महत्त्वपूर्ण निर्धारक तत्त्व उक्त देशको नेतृत्वले छिमेकी देश र शक्ति राष्ट्रबाट पाउने सम्मान र महत्त्वसँग प्रत्यक्ष रूपमा जोडिन्छ। बीपीले तत्कालीन छिमेकी देशबाट पाएको सम्मान र महत्त्व प्रष्ट्याउने दुई सन्दर्भ हेर्नु प्रासंगिक हुन्छ। तत्कालीन भारतको सर्वाेच्च नेतृत्वमा अंग्रेजविरुद्ध भारत छोडो आन्दोलनमा सहभागी हुँदैदेखिका बीपीका आत्मीय साथीहरू थिए। गान्धी, नेहरू, राममनोहर लोहिया, जयप्रकाश नारायण सबैसँग उनको सम्बन्ध थियो। निरंकुश शासकविरुद्ध बीपीले गान्धीसँग सहयोग मागेको र गान्धीले आफू सधैं न्यायको पक्षमा उभिने कुरा बताएको उनले आत्मवृत्तान्तमा लेखेका छन्। भारतबाट राजनीतिक जीवन सुरु गरेका बीपीका लागि तत्कालीन भारतीय उच्च नेतृत्व मित्रमण्डली समान थियो।
उता चीनको भ्रमणमा जाँदा बीपीलाई स्वागत गर्न चिनियाँ प्रधानमन्त्री चाउ एन लाई एअरपोर्टसम्म पुगेका थिए भने अध्यक्ष माओ राति ११ बजे बीपी सुतेको होटेलको कोठामा भेट्न आएका थिए। चीनले सगरमाथामाथि दाबी लिएको अवस्थामा माओसँगको उक्त भेटमा बीपीले सगरमाथामाथि नेपालको बलियो दाबीमात्र प्रस्तुत गरेनन्, अन्तर्राष्ट्रिय वैधता पनि लिए र सदाका लागि सगरमाथा नेपालको बनाए। नेपाली नेताहरूले छिमेकी राष्ट्रहरूबाट यो स्तरको सम्मान पाउने र उनीहरूसामु उपस्थिति जनाउने कुरा कल्पना बाहिर पुगेको दुर्भाग्यपूर्ण स्थिति छ। तर, प्रचुर अध्ययनको विराट दायरा, कुशाग्र बुद्धि र कूटनीतिक चतुर्याइँको बलमा बीपीका लागि त्यो स्तरको उच्च सम्मान पाउन सहज थियो।
द्वितीय विश्वयुद्धको त्रासदीपछि दुनियाँमा देशका नक्साहरू परिवर्तन भइरहेका थिए। उपनिवेश भत्किने देशहरू स्वतन्त्र हुने र नयाँनयाँ देशहरू बन्ने क्रम जारी थियो। देशको स्वतन्त्रता शक्ति राष्ट्रहरूले दिने मान्यतामा निर्भर रहने विश्वास बलशाली बन्दै गइरहेको थियो। यस्तो अवस्थामा नेपाल जस्तो भौगोलिक, आर्थिक, राजनीतिक र सैन्य सामथ्र्यको हिसाबले सानो देशले विश्व राजनीतिक रंगमञ्चमा गर्विलो उपस्थिति जनाउने कुरा अहं थियो। भारतीय प्रधानमन्त्री नेहरूले भारतको संसद्मा उभिएर ‘हिमालय मुनिको भूगोलमा आक्रमण हुनुलाई हिन्दुस्तानले आफ्नै देशमाथि भएको हस्तक्षेप र आक्रमणको रूपमा लिन्छ’ भन्ने अभिव्यक्तिलाई खण्डन गरेर फिर्ता लिन लगाएर होस् वा इजरायलको विषयमा संयुक्त राष्ट्रसंघको महासभामा प्रखर विचार राखेर होस्, विश्व राजनीतिक र कूटनीतिक रंगमञ्चमा नेपालको स्थान उँचो बनाउने कामको नेतृत्व बीपीले गरेका थिए।
अर्काेतिर भारत निर्वासनमा छँदा इन्दिरा गान्धीले अवाञ्छित प्रस्ताव ल्याएपछि विदेशी महारानी मान्नुभन्दा स्वदेशी महाराज मान्छु भनेर उनी स्वदेश फर्किए। देशको स्वाधीनता रक्षाको सबालमा यत्तिको परिपक्व बुझाइ अरू समकालीन र पश्चवर्ती नेताहरूमा विरलै पाइन्छ। त्यसैले बीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा अंगीकार गरेको असंलग्न परराष्ट्र नीति नेपालको सुखद भविष्यका लागि सर्वाधिक महत्त्वपूर्ण छ।
यद्यपि बीपीको जीवन सहज थिएन। उनले कतै भनेका थिए, ‘म सिजेरियन विधिबाट जन्मिएँ। एक प्रकार मेरो जन्म आफैंमा विद्रोह थियो।’ उनको जीवन निःसन्देह नायकीय थियो तर समस्याबाट मुक्त थिएन। संघर्षशील जीवन र कहानी पढ्ने र सुन्नेहरूका लागि आकर्षक देखिएता पनि स्वयंको लागि भने कष्टकर हुने नै भए। परवास, निर्वास र जेलमा रहँदा उनले भोग्नुपरेका समस्याको फेहरिस्त लामो छ।
बीपीलाई आदर्श मान्नु इमान, धीरता र वीरतामा अडिग रहनु हो। हरेक वर्ष आउने बीपी जयन्ती, बीपी स्मृति वा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बीपीको कृतित्व र व्यक्तित्व माथिको बहस छलफललाई केवल पुनरुक्ति दोषवाला फुर्सदको मेलोमेसो र कर्मकाण्ड मात्र बन्न नदिन सबैजना कर्मयोगी बन्न र आफ्नो ठाउँबाट राष्ट्रनिर्माणमा योगदान दिन आवश्यक छ।