बीपी एक सिद्धहस्त लेखक र साहित्यकार हुन्। आत्मकथा ‘आफ्नो कथा’ र ‘जेल जर्नल’मा उनको लेखनशैलीको स्पष्ट छाप र परिचय पाइन्छ।
बीपी कोइरालाको परिवार एउटा राजनीतिक परिवार थियो। आत्मकथा ‘आफ्नो कथा’मा उनी लेख्छन््, ‘राजनीति मेरो जीवनमा जन्मजात फलामको चम्चा भनेर आयो।’ त्यसले बीपीलाई आजीवन छाडेन। तर यो लेखको दृष्टि मूलतः बीपीको साहित्यका नारी पात्रउपर हुनेछ। साहित्यको चर्चाबिना उनको व्यक्तित्व एकांगी बन्न जान्छ। वनारसमा जन्मेका बीपी वनारस, चन्द्रगन्ज, विराटनगर, कलकत्ता, टेडीमा हुर्के बढे। आफ्नो कथामा उनको प्रारम्भिक जीवनमा सर्वाधिक प्रभाव पर्ने महिलाहरूको बडो अभिरुचिपूर्ण वर्णन गरिएको छ। यो लेख तिनै महिला र तिनको परिवेशमा केन्द्रित छ।
बीपीका लिखतहरू पुनर्पाठ गर्ने उपक्रमको मज्जा नै बेग्लै छ। रहस्यका पात्रहरू त्यहाँ गुजुल्टिएका हुन्छन्। यो लेख त्यही र विचरण गर्ने कोसिसको परिणाम हो, जसले एउटा स्पष्ट आकार ग्रहण गर्न बाँकी नै छ। बीपी एउटा सिद्धहस्त लेखक र साहित्यकार भएकाले उनले आत्मकथा ‘आफ्नो कथा’ र ‘जेल जर्नल’मा उनको लेखनशैलीको स्पष्ट छाप र परिचय पाइन्छ। आफ्नो कथा सुन्दरीजल कारागारमा बस्दा लेखिएको थियो। राजा महेन्द्रले उनकै शब्दमा शासनबाट च्युत गरेर बीपीलाई प्रिजर्भ गरेर राखेको समय थियो। बीपीको उमेर ५० को आसपास थियो। जेलमा रहँदा लेखेका दिनपञ्जीहरूमा आफूले आत्मकथा लेख्ने तयारी गरेको र केही अंश लेखेको चर्चा भेटिन्छ। आफ्नो कथा बीपीको निधन पछिमात्र छापियो २०४०–४१ सालतिर।
आफ्नो कथामा बीपीले केही महिलाको विशेष वर्णन छ। ती अधिकांश परिवारभित्रकै थिए। तीमध्ये प्रमुख महिला हुन्, उनको हजुरआमा राज्यलक्ष्मी, उनकी आमा दिव्या, माहिली आमा, साहिँली दिदी, कान्छी नानी आदि। आमा र हजुरआमाबाहेक अरू महिलाको चरित्र चित्रण प्रकारान्तरले बीपीका कथा र उपन्यासमा हुन पुगेका छन्। बीपी साहित्यको एउटा सामान्य अध्येताले त्यो कुराको छनक पाउँछ बाँकी त्यसको पोयो फुकाउने कुरा उसको विस्तृत अभिरुचिमा भर पर्छ।
महिला र यौनका बारेमा बीपीको जुन उद्धात दृष्टिकोण बन्न पुग्यो त्यो बीपीको संसर्गमा आएका यिनै महिलाहरूको सूक्ष्म अवलोकनबाट सम्भव भएको मान्न सकिन्छ। बीपीले पढेका विश्वसाहित्यका पात्रहरू दूरका विषय थिए, तिनको समेत प्रभाव अवश्य पर्यो होला। तर आफ्नो आँखा
अगाडिका सजीव पात्रहरूको अप्रतीम चिरकालीन छाप रहन पुग्नु अन्यथा होइन।
आफ्नो कथामा बीपी लेख्छन्– ‘हाम्रो मस्तिष्कमा अडेर रहेका स्मृतिहरू– कति स्मृतिहरू त मस्तिष्कको अवचेतनको अँध्यारो अन्तरगर्भमा लुकेर रहेका हुन्छन्, जहाँ परोक्षबाट हाम्रो मनोविज्ञानलाई प्रभावित पारिरहन्छन्। ती हाम्रा अनुभवका प्रतीक हुन् र तिनीहरू नै जगका त्यस्ता ढुंगा हुन् जसका उपर हाम्रो विश्वास, चरित्र र आचरणको इमारत खडा हुन्छ। स्मृतिको माध्यमबाट नै कुनै पनि अनुभवको स्थायी प्रभाव व्यक्तिका चरित्रमा शतत् परिरहन्छन्। नत्र भने जीवनमा अनुभव पनि पानीमा नाउँजस्तै ‘हिँड्दैछ पाइला मेट्दैछ’ गर्ने थिए।
बीपी थप लेख्छन्, ‘पुरुष शासित हाम्रो समाजमा नारीको चारित्रिक गुण दोषको केवल एउटा माप छ पातिव्रत्य। यदि नारी पतिता छ भने उसका तमाम दोष गन्तीमा आउँदैनन्। र, यदि छैन भने उस्का सारा गुणहरू मूल्यहीन भएर जान्छन्। पतिव्रताको पनि अर्थ मैथुनिक एक लिंगी निष्ठामा मात्र सीमित पारिएको छ। कलकत्तामा छँदा पातिव्रत्य धर्मको खुकुलोपनको एउटा ज्वलन्त उदाहरण पाएँ। त्यो अनुभवले मेरो मानवचरित्रसम्बन्धी विश्वासमा ठूलो प्रभाव पार्यो जो पछिसम्म कायम छ। त्यसैले मेरो विश्वासमा यौनको चारित्रिक महात्म्यको ठूलो अवमूल्यन गराएको छ। त्यसैले जसलाई हाम्रो समाजमा खसेकी आइमाई भन्छन्, त्यसउपर अरूहरूले सजिलै ढुंगा फ्याँक्न सक्छन्, म सक्तिनँ किनभने त्यस्ता प्रत्येक नारीमा म आफ्नी माहिली आमाको अनुहार देख्छु।’
वनारसभन्दा कलकत्ता निक्कै ठूलो वैभवशाली महानगर थियो। बीपी आफ्नो इलाजका लागि बुवा कृष्णप्रसाद भएको ठाउँ कलकत्ता गएका थिए। त्यहाँ उनी जम्माजम्मी चार, पाँच महिना बसे। त्यो चन्द्रशमशेरको कोपभाजनमा परेर लखेटिँदाको समय थियो। वनारसमा रहेका झन्डै चार दर्जन बृहत् परिवारका सदस्यहरूको हात मुख जोर्ने जुगाडको इन्तजाम गर्नका लागि कृष्णप्रसाद कलकत्ता पुगेर आफ्ना पुराना व्यवसायी साथीहरू सम्बन्धीसँग सहाराको हात माग्दै र नूतन सम्भावना खोजीको विकट संघर्ष गरिरहेको बेला थियो।
काठमाडौंको राजनीति, व्यवसाय र संस्कृतिमा कलकत्ताको प्रभाव घटिसकेको थिएन। बंग भंग अर्थात् बंगालमा हुने निरन्तरको विद्रोहबाट आजित भएर ‘डिभाइड एन्ड रुल’अन्तर्गत बंगलालाई दुई टुक्रामा विभाजन गरिएको थियो– पूर्वी बंगाल र पश्चिम बंगाल भनेर। हिन्दु बहुल पश्चिम बंगाल, मुस्लिम बहुल पूर्वी बंगाल जो पूर्वी पाकिस्तान (१९४७) हुँदै १९७३ मा बंगलादेश नामको स्वतन्त्र देश बन्न पुग्यो। त्यतिले नपुगेर कलकत्तामा रहेको राजधानीलाई दिल्ली सारियो १९११ मा। त्यसको औपचारिक रूप भने १९३१ मा मात्र पूरा भएको थियो। नयाँ दिल्लीको नयाँ संरचना बन्न दुई दशक लागेका कारणले। मुगलकालीन दिल्ली र लुटेनले डिजाइन गरेको अंग्रेज निर्मित दिल्ली प्रस्ट छुटिन्छ। दिल्ली घुमेको जो कोहीका आँखाले
त्यसको भेदको रसपान गरेका हुन्छन्।
१९१४ मा जन्मेका बीपीले उल्लेख गरेका घटनाक्रम बाल्यकाल अर्थात् म्याट्रिक परीक्षा दिनु अगाडिको भएकाले १९३१ सम्म कलकत्ताको वैभव उत्कर्षमा नै थियो। वनारसमा विशुद्ध धार्मिक उद्देश्यले तिरोहित हुन गंगा बास गर्न वा संस्कृतको अध्ययन गर्ने हेतुले ज्यादा नेपाली पुग्थे तर कलकत्ता पुग्नुको कारण त्योभन्दा व्यापक हुन्थ्यो। पित्तृसत्ताले जकडेको परम्परागत समाजबाट मुक्तिको खोजीमा हिँडेका पहाडी चेतनालाई कलकत्ता महानगरमा मौजुद व्यक्तिगत आजादीको वातावरणले निष्फिक्री महसुस गराउँथ्यो सायद। त्यसरी त्यहाँ नेपालबाट विविध कारणले पुगेका नेपालीको समागममा कृष्णप्रसादले छोरा बीपीको छोटो कलकत्ता बसाइमा सरिक गराएका थिए। बीपीको त कलकत्ता बास छोटो भए पनि उनले त्यहाँबाट बोकेर लगेको चेतना उनको अनन्त कालप्रवाहमा दीर्घकालका लागि अंकित हुन पुग्यो।
पहिलोपटक ‘आफ्नो कथा’ पढ्ने जो कोही पाठक माहिली आमा, कान्छी नानी आदिको लोमहर्षक कथन पढेर अभिभूत हुन्छ। आफ्नो कथाको कथ्यको आलोकमा बीपीको साहित्यमा वर्णित नारी पात्रहरू हेर्ने हो भनेमात्र ती पात्रहरूलाई न्याय हुन्छ। ती पात्रसँग एकाकार हुने यो एउटा सुलभ मार्ग छ। यसो हुनाका कारण २००७ सालको क्रान्ति अगाडि अगाडि छापिएको ‘दोषी चस्मा’बाहेक बीपीका जे जति साहित्यिक कृति लेखिए, ती सबै २०१७–२०२५ सम्म सुन्दरीजलको कोठरीमा लेखिए। आफ्नो कथा पनि सोही समयमा लेखिएकाले ती साहित्यसँग सादृश्यता हुन पुग्नु कालक्रमिकताका दृष्टिबाट पनि प्राकृतिक देखिन्छ।
‘श्वेत भैरवी’मा संग्रहित पहिलो कथा ‘सान्नानी’, ‘आफ्नो कथा’मा वितृष्ण रूपमा बखान गरिएको कान्छी नानीसँग हुबहु मेल खान्छ। कोसी किनारको टेढी गाउँ जहाँ बीपीले लगातार तीनचार वर्ष लगातार सहरी परिवेशबाट मुक्त रहेर ग्रामीण परिवेशसँग अन्तरघुलन गर्ने, एकाकार हुने मौका पाएका थिए। त्यो सबै कार्यमा बीपीको पथ प्रदर्शक अरू कुनै नभएर तिनै कान्छी नानी थिइन् जो पछि स्मृति दंशमा ‘सान्नानी’ बनेर कथाका रूपमा प्रकट भइन्।
बीपी एकातर्फ जेल जीवनमा मनोविज्ञानका नयाँ नयाँ पुस्तक पढ्दै थिए, जो फ््रयाड योङ उत्तर युगका थिए। दोषी चस्मा सिर्जना गर्दाताका चेखभ, मापसँको साहित्यको प्रभाव ज्यादा थियो। तर मनोविज्ञानका क्षेत्रमा निरन्तर नयाँ रहस्य उद्धाटित भइरहेका थिए र त्यहीअनुसार साहित्य पनि लेखिँदै थिएँ। बीपीले यो सबै विकासक्रम आठ वर्ष लामो जीवनमा अध्ययनमात्रै गरिरहेका थिएनन्, अनुशीलन पनि गरिरहेका थिएँ, पूर्वीय सभ्यताका वेददेखि उपनिषद् दोहोर्याएर पढ्दै थिए। त्यसको समष्टिगत राप र ताप त्यतिबेला लेखिएका साहित्यमा झल्किनु नैसर्गिक हुन जान्थ्यो।
पितृसत्ताको जाँतोमा निसासिन इन्कार गर्दै स्वको खोजीमा हिँडेर थाकेकी साहिँली दिदीले बीपीसँग गरेको आखिरी बिलौना यस्तो थियो– अब म धेरै दिन बाँच्दिनँ। मेरो समय सिद्धियो। पछिको युगमा नारीले सुखको भाग्य लिएर आउली। मैले त जीवनपर्यन्त लड्नुपर्ने भाग्य लिएर आएँ। तिमी मेरो निम्ति नपर्ख।’ के बीपीले तीन घुम्तीको इन्द्रमायालाई एउटा पात्रका रूपमा जुन उन्मुक्त र स्वतन्त्र जीवन दिए, त्यो तिनै साहिँली दिदीको अन्तरकामनाको पछिको युगको सुखको भाग्य लिएर आएका नारी थिई ? त्यो प्रश्न जो कोहीको मनमा उठ्न पुग्छ।
श्वेत भैरवी’मा संग्रहित पहिलो कथा ‘सान्नानी’ र ‘आफ्नो कथा’मा वितृष्ण रूपमा बखान गरिएको कान्छी नानीसँग हुबहु मेल खान्छ। कोसी किनारको टेढी गाउँ जहाँ बीपीले लगातार तीनचार वर्ष लगातार सहरी परिवेशबाट मुक्त रहेर ग्रामीण परिवेशसँग अन्तरघुलन गर्ने, एकाकार हुने मौका पाएका थिए। त्यो सबै कार्यमा बीपीको पथ प्रदर्शक अरू कुनै नभएर तिनै कान्छी नानी थिइन्।
बीपीको कथामा नारी मुक्ति, स्वतन्त्रता र विद्रोहको रोमाञ्चक चित्रण गरिएको छ। ती सबै पात्र उनको बाल्यकालमा परिवारमार्फत उनी ठोक्किन पुगेका महिला थिए। ‘नरेन्द्र दाइ’ उपन्यासको पात्र मुनरियाको माहिली आमासँग तुलना नहोला र ? तिनै माहिली आमाको चिठी यहाँ उद्धृत गर्नु उपयुक्त हुनेछ, ‘के हार्दिक आग्रहरहित अपनाएको पतिव्रता धर्म खुब भयो भने पाखण्ड नत्र वेश्यावृत्ति होइन ? समाजको आँखामा परेर मात्र जीवनभर आफ्नो शरीरलाई कुनै एउटा पुरुषको भोगका लागि अर्पित गरिरहनु ग्रहित वेश्यावृत्ति होइन र ? केही त्यस्तो कायरपन कुत्सित चरित्रहीनता होइन जसको तुलनामा हृदयको आवेग थाम्न नसकेर पोइल जानु चारित्रिक साहस हो ? स्वेच्छाको व्यभिचार ज्यादा सैह्य छैन र वनिश्पत करवलको वेश्यावृत्तिभन्दा ?
व्यक्तिको मृत्युपरान्त के उसमा चरित्र भन्ने तत्व बाँकी रहन्छ र ? आखिर त्यस्ती नारी मरेतुल्य होइन, जसलाई समाजको भय र अरू प्रकारका करबलले हृदयले स्वीकार नगरेको पतिको शय्यामा खुम्चिएर सुत्ने कर रहन्छ ?’ कस्तो सार्वभौम सवाल छ माहिली आमाको। यस्ता अनेकन सवाल आफ्नो कथामा प्रविष्टि पाएका प्रत्येक चरित्रले गरेका छन्।
नरेन्द्र दाइमा गौरीको चरित्र खास खुलेको छैन। राइटर बाजे कथा एउटा अपवाद छ, जसमा राइटर बाजेको स्वास्नीले अन्तिमसम्म स्वामीभक्ति गरेकी हुन्छिन्। तर तिनै स्वामीको मरण सहज पार्नका हेतुले उनी हेनरिक इबसेनको ‘नोरा’ बन्न पुग्छिन्। सुम्निमा कसरी अध्यात्म र भौतिकवादको घर्षणको उम्दा पात्र बन्न पुगिन् ? यस्ता अनेकन प्रश्नले बीपी साहित्यका पाठकलाई उदिग्न पारी राख्छन्।
बीपीको माहिली आमा नै त्यस्ती एउटा अद्भुत पात्रमध्ये थिइन्, जसलाई सम्झेर बीपी चरित्रसम्बन्धी समाजका साधारण विचार जसले प्रत्येक आचरणलाई स्पष्टसित सेतो र कालो कक्षमा टुंग्याउँछ, त्यसलाई हतपत्त स्वीकार गर्न सम्भव छैन, मानव चरित्र नै बडो जटिल छ भन्ने निष्कर्षमा पुगेका थिए। उनले उनको साहित्यमा त्यही भएर ‘ग्रे’ अर्थात् खैरो रेखा कुशलतापूर्वक कोर्न सके।
राजनीतिमा संविधान र नियम कानुन मान्नुपर्ने तर साहित्यमा आफ्ना पात्रहरूमाथि निर्बाध अधिकार रहने हुँदा उनले आफूलाई ‘अराजकतावादी’ दावा गर्न पुगे। राजनीतिमा विद्रोही र क्रान्तिकारी उनी साहित्यमा अराजकतावादी बने। त्यो उनको स्वःघोषणा थियो, त्यसउपर आजपर्यन्त बहस जारी छ। बीपीका युटोपियन पात्रहरू साहित्यको संसारमा बिनाझन्झट र व्यवधान विचरण गरे, रमाए। यो साहित्यको संसारमा नारी पात्रहरू जो मुक्त रहे, स्वतन्त्र रहे, तिनीहरू बीपीको विश्वदृष्टि अनुरूपका नै थिए तर विविध आयाममा। ती सबैको केन्द्रमा नारी मुक्तिको चेतना प्रबल थियो।
यसरी हेर्दा बीपीका नारी पात्रहरू उनले बाल्यकालमा देखेभेटेका पात्रहरूको सेरोफेरोमा निर्माण भएको पाइन्छ। नारी मुक्तिको चिन्तन गर्ने हरकोहीले बीपीको आफ्नो कथामा वर्णित नारीहरूबाट अभिप्रेरित हुनु ती पात्रले उतिबेला नै भविष्यको बाटो देखाएको महसुस गर्नु बीपीको साहित्यको सफलता मान्नुपर्छ। स्थानाभावले त्यो सबै प्रसंगको बेलीबिस्तार यो सानो आलेखमा सम्भव नभएकाले यो विषयमा आफ्नै केही प्रारम्भिक जिज्ञाशा पाठकसामु राखेको मात्र हुँ। बाँकी समयक्रममा विस्तारमा आउनेछ।