जहाँका गृहिणी रामायण गाउँछन्

भानुको सम्झना

जहाँका गृहिणी रामायण गाउँछन्

चुँदीको माटो स्पर्श गरेपछि लाग्यो, त्यहाँ चल्ने हावाले रामायण सुसेल्छ। त्यहाँ चिर्बिराउने पन्छीले रामायण चिर्बिराउँदा रहेछन्।

केही सम्झने र बुझ्ने भएपछि मैले सुनेको पहिलो साहित्य हो, रामायण। त्यतिबेलाको कुरा। फुर्सद भयो कि बा प्रायः रामायण पढ्नुहुन्थ्यो। बा घर नभएका बेला आमाले पढ्नुहुन्थ्यो। रामायण पढ्दा उत्पन्न हुने लय अथवा झंकारले घर संगीतमय बनाउँथ्यो। साँझ–बिहान बाको स्वरमा स्वर मिलाएर रामायण वाचन गर्दा गर्दै केही काव्यिक लय मनमा बस्यो। यसरी बसेको लय विधानले मेरो अन्तःस्करणमा साहित्य अनुराग पैदा गर्‍यो।

अलि जान्ने भएपछि रामायणका सर्जक भानुभक्तको जीवनीबारे जानकारी भयो। साहित्य क्षेत्रमा लागेपछि लाग्यो एउटा छन्द कविता। अनुरागीका लागि आदिकवि भानुभक्त साँच्चिकै कुलदेवता हुन्।

हुन त चुँदीबेंसी हुँदै एकदुई पटक लमजुङतिर गइयो आइयो तर भानुजन्मस्थलमा टेक्ने अवसर भने प्राप्त भएको थिएन। जुन अवसर २१०औं भानु जयन्तीमा मात्र जुर्‍यो।

यात्रा प्रिय लाग्छ। तर वर्षाद्को समय। एकातिर बुटवल नारायणघाट सडकको दुर्गति र नारायणबाट मुग्लिङ सडकमा निरन्तर झरिरहेको पहिरो। अनि बुटवल तानसेन खण्डमा झर्ने ढुंगे पहिरोको त्रासदी। अर्कोतर्फ भानुभक्त जन्मेको धर्ती टेक्ने सम्मोहन। आखिर सम्मोहनले जित्यो।

कार्यक्रममा बुटवलबाट प्राडा हिरण्यलाल ज्ञवाली, पाल्पाबाट भावना खनाल र पंक्तिकार निम्त्याइएका रहेछौं। भावनाजीले जान नसक्ने भएपछि हामी दुई चुँदीतिर लाग्यौं। २०८० असार २८ गते बिहान काठमाडौंबाट अतिथि लिएर आउने गाडीलाई मुग्लिनमा भेटेर सँगै जाने कार्यक्रम आयोजकको थियो। हामी भने असार २७ मै पोखरातर्फ लाग्यौं। पोखरा पुगेलगत्तै पृथ्वीनारायण क्याम्पसका नेपाली विभाग प्रमुख डा. कुसमाकर न्यौपानेसँगपोखरालाई एकफन्को मार्‍यौं।

विधान आचार्यसहितका १६ साहित्यकारको टोली काठमाडौंबाट प्रस्थान गर्‍यो। हामी सोही दिन बिहान ९ बजे डुम्रेबजारतर्फ प्रस्थान गर्‍यौं। डुम्रेदेखि सेपाबगैंचा हुँदै आदिकवि भानुभक्त जन्मस्थल पुग्यौं। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भवनको माथिल्लो तलामा भानु संग्रहालय स्थापना गरेको रहेछ। जहाँ आदिकविद्वारा हस्तलिखित रामायण र उहाँको नित्य कर्ममा प्रयोग भएका केही सामग्री एवं भानुकालीन घरायसी सामग्रीको संकलन रहेछ।

असार २८ गतेका लागि पूर्वनिर्धारित रामायणवाचन प्रतियोगिता र खुल्ला कवितावाचन प्रतियोगिता सुरु भयो। कार्यक्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता थियो। जुन साँच्चिकै रोचक थियो। रामायण वाचन भयो। खुल्ला प्रतियोगिताका कविता पनि पढिए। तोकिएको समयमै २८ गतेको कार्यक्रम सकियो पनि।

समयको पाबन्दीका कारण बाहिरबाट निम्त्याइएका अतिथिको त्यस दिन खासै भूमिका नरहे पनि भानुभक्तकालीन बिर्के टोपी लगाएर चहकिनुको रउस भने अर्कै थियो। आयोजकबाट उपहार प्राप्त बिर्के टोपी लगाएर भानुको प्रतिमाको सेरोफेरोमै फुर्फुरिँदै फोटो खिच्ने खिचाउने काम भने गज्जबले चल्यो।

सबैभन्दा आनन्दको क्षण त भानुभक्तका पनाति हरिनाथ आचार्यसँग भेट हुनु र उहाँसँग फोटो खिचाउनुको थियो। भानुभक्तको रचनाधर्मिताबारे उनका अभिव्यक्ति सुन्न पाउनु अविस्मरणीय पल बन्यो। हरिनाथको रूपमा साँच्चिकै भानुभक्त भेटेजस्तो लागिरहेको थियो।

साँझ बन्दीपुरमा सन्ध्याकालीन कवि गोष्ठी सम्पन्न भयो। जो अनौपचारिक थियो। वरिष्ठ कनिष्ठको कुनै पर्खाल त्यहाँ लगाइएन। जो जहाँ बसेको छ, त्यहीँबाट रचना पढ्ने सुनाउने गरियो। क्रमशः राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, नवर।ज कार्की, हिरण्यलाल ज्ञवाली, अमृत क्षेत्री, ज्योति जंगल, रीमा के.सी., लक्ष्मी माली, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, किशोर पहाडी, सञ्जीव पौडेल, प्रकाश सिलवाल, काशीराज आचार्य, विष्णुविभु घिमिरे, भीष्म उपेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमी र तीर्थ श्रेष्ठले आ–आफ्ना रचना सुन्यौं सुनायौं।

असार २९ गते बिहान साहित्यिक टोलीले ऐतिहासिक बन्दीपुर बजार आ–आफ्नै किसिमले अवलोकन गरेपश्चात् पुनः चुँदीका लागि बिहानै प्रस्थान गर्‍यौं। निर्धारित कार्यक्रमअनुसार प्रभातफेरी भइसकेको रहेछ। जसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पनि सहभागिता हुँदोरहेछ। पञ्चैबाजासहितको र्‍यालीमा स्थानीय जनसमुदायको आकर्षक सहभागिता हुँदोरहेछ।

हामी पुग्दादेखि नै गाउँगाउँबाट विभिन्न झाँकीसहितको टोली कार्यक्रमस्थलमा आउने क्रम चलिरहेको थियो। आयोजकहरूलाई कार्यक्रमको व्यवस्थापन गर्न भ्याइनभ्याइ थियो। स्थानीय र भानुभक्तको पारिवारिक नातेदार हुनुको अर्थमा काठमाडौंबाट आएका विधान आचार्य र काशीराज आचार्य पनि काममा खटिइरहे। व्यवस्थापकीय कार्यमा विधानको दौडधुप हेर्न लायक थियो।

प्रमुख अतिथिमा गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निम्त्याइएको थियो। ढिलाइका कारण कार्यक्रम तोकिएको समयभन्दा ढिलै सुरु भयो। आसनग्रहण, स्वागत भाषण, खादामालाजस्ता सनातन कर्मकाण्ड नगरी कार्यक्रम सम्पादन नहुने ! नेपाली यो मानसिकताले त्यहाँ पनि गाँज्यो र थुप्रै समय खाइदियो।

भानुभक्तले सत्ताको चाकरी गरेनन्। तानाशाहहरूको हुन्डी खाएनन्। बरु निर्दोष उनी थुनामा परे। जरिवानामा परे। तत्कालीन अवस्थामा राज्यसत्तालाई घोचपेच र व्यंग्य गर्दै लेख्नु ठूलै विद्रोह हो, क्रान्ति हो। भानुभक्तले त्यस्तै विद्रोह गरे।

आयोजक समितिले भानुभक्तीय रामायणको नयाँ संस्करण प्रकाशन गरेको रहेछ। विधान आचार्य र प्रभा भट्टराई आचार्यद्वारा सम्पादित भानुभक्तको रामायण कार्यक्रममा विमोचन गरियो। पाहुना साहित्यकारमध्ये प्रतिनिधिको रूपमा विराटनगरकी ज्योति जंगल र भैरहवाका कवि रुद्र ज्ञवालीलाई कविता प्रस्तुत गर्ने अवसर प्रदान गरियो। त्यतिञ्जेल दिनको २ बजिसकेको थियो। पाहुनालाई घर फर्किने हतारो थियो। कार्यक्रम चलिरहेकै अवस्थामा 
हामीलाई बोकेको सवारीसाधन बाटो लाग्यो।

कुनै पनि नयाँ ठाउँको यात्रा गर्नुअगावै त्यसको एउटा बिम्ब मान्छेको मनमस्तिष्कमा बसिरहेको हुन्छ। भानु जन्मस्थलका बारेमा मनमा कोरिएकोे बिम्ब चित्र अनुरूपका स्वरूप देख्न नपाउँदा अलिकति मन खिन्न पनि भयो। आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन भएपश्चात् केही सकारात्मक काम भने भएका र केही हुने क्रममा रहेछन्। समितिको व्यवस्थित कार्यालय, कार्यालयको माथिल्लो तलामा भानु संग्रहालय, भानु पार्कको लागि जग्गा व्यवस्थापन आदि आशालाग्दा कार्य भएका रहेछन्। रम्घामा भानुको विशाल प्रतिमा निर्माणको तयारी हुँदै गरेको कुरा पनि जानकारी पाइयो।

कस्तो संयोग भने छिमेकी गोरखा जिल्लाका पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे भने तनहुँका भानुभक्तले नेपाली भाषाका माध्यमले नेपालको भाषिक एकीकरण गरे। भाषा भनेको अन्तःस्करणलाई छुने संवेदना हो, जुन संवेदनाले पश्चिममा देहरादुनदेखि पूर्वमा मेघालयसम्मका नेपाली भाषीलाई भाइचाराको सूत्रमा जोडिरहेको छ। भाषाले भिन्न देशका नागरिकहरूको मन एकअर्कासँग जोडिरहेको छ। त्यसैले त भनिन्छ, राजनीतिले तोडेका मनलाई साहित्यले जोड्छ।

केही मान्छे वधूशिक्षासँग जोडेर भानुभक्तको आलोचना पनि गर्छन्। उनीहरूले दुई सय वर्ष पहिलेका आफ्नै पूर्वजहरूको क्रान्तिकारिताको पनि मूल्यांकन या परीक्षण गरेको भए यस्तो आलोचना गर्नुपूर्व सय पटक अवश्य सोच्थे होला। भानुभक्तको विराट व्यक्तित्वलाई रामायण र वधूशिक्षामा 
मात्र खोजियो भने त्यो घोर अन्याय हुन जान्छ।

भानुभक्तले ‘भोलि भोलि’ कवितामार्फत तत्कालीन नोकरीतन्त्रमा रहेको लालफित्ता शाही प्रवृत्तिको धज्जी उडाएका थिए। लामखुट्टे उपियाँ कवितामार्फत झ्यालखानाको अवस्था र बन्दीहरूले भोग्नुपर्ने दयनीय स्थितिको विद्रूप तस्बिर उदांगो पारे। उनले प्रश्नोत्तर मालामार्फत थुप्रै प्रेरणाप्रद सुक्तिहरू निर्माण गरे जुन वर्तमानमा समेत जीवनोपयोगी छन्।

भानुभक्तले सत्ताको चाकरी गरेनन्। तानाशाहहरूको हुन्डी खाएनन्। बरू निर्दोष उनी थुनामा परे। जरिवानामा परे। तत्कालीन अवस्थामा राज्यसत्तालाई घोचपेचर व्यंग्य गर्दै लेख्नु ठूलै विद्रोह हो, क्रान्ति हो। भानुभक्तले त्यस्तै विद्रोह गरे।

भानुको रम्घा यतिबेला खण्डहर जस्तै छ। अलिअलि बचेखुचेको रम्घा पनि विस्तारै चुँदीतिर सरुवा भएछ। मान्छेसँगै त्यहाँका मठमन्दिर पनि चुँदी बेंसीतिरै काज सरुवा र रमाना भएछन्। यस्तो भएता पनि चुँदीको माटो स्पर्श गरेपछि लाग्यो, त्यहाँ चल्ने हावाले रामायण सुसेल्छ। त्यहाँ चिर्बिराउने पन्छीले रामायण चिर्बिराउँदा रहेछन्। चुँदीको माटो रामायणको लयले पोतिएको छ। जहाँका हलिया र रोपारहरू रामायण गुन्गुनाउँदै रोपाइँ गर्छन्। जहाँका किसान रामायणका श्लोक भट्ट्याउँदै घाँस दाउरा गर्छन् र जहाँका गृहिणी चुलोचौकामा लयबद्ध रामायण गाउँछन्। आदिकवि भानुभक्तका चरणपादुका स्पर्श भएको यस्तो पावन भूमिलाई सत् सत् नमन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.