नियात्राकारले अरू धेरै गन्तव्यका वर्णनमा नेपाली परिवेशलाई सम्झिएका छन्। तुलना गरेका छन्। बिम्ब बनाएर नेपाली पहाड र बस्तीहरूलाई उतारेका छन्।
कहिल्यै नसुनेको शब्द ‘उमिहोतारू’। यो शब्दको लय समात्न अझै पनि जिब्रोलाई कठिनै परिरहेको छ। घुमन्ते लेखकको पहिचान बनाएका कृष्ण बजगार्इं यस्ता शब्दहरूको प्रयोग गर्नमा खप्पिस छन्। उनका धेरै कृतिको पंक्तिमा यस्तै अनौठा शब्द भएका ‘भाय साक्रा’, ‘दाइबुचु’ र ‘युरेसियाको स्पर्श’ नामका नियात्रा कृति छन्। ‘उमिहोतारू’ जापानी शब्द रहेछ र यसको अर्थ समुद्री जुनकिरी हुँदो रहेछ। आफ्नै ल्याकत र बुताले चम्किने जुनकिरीको प्रकाशले अन्धकार रातलाई पनि मोहक बनाई दिन्छ। कृति भित्र लेखनका बान्की र शैली पनि यस्तै मोहक लाग्छन्।
नेपालजस्तो भूपरिवेष्ठित भूगोलका पाठकलाई समुद्रका कथा, पानीको साम्राज्य माथिको यात्रा वर्णन, निम्छरा र साँघुरा सडकमा गोडा चलाउने हाम्रा लागि भीमकाय सहर र ती सहरभित्र दौडँदा देखिएका सपनाका कथाले ठाउँठाउँमा टक्क उभ्याउँछन्। नियात्रा पढिरहेको पाठकको यात्रा ठाउँठाउँमा हाम्रा लोकल बस रोकिएजस्तै रोकिन्छ। भन्न खोजेको र वर्णन गर्न खोजेको यथार्थ हामीले भोगिरहेको दैनिकीभन्दा बिल्कुलै भिन्न भएका कारण त्यसको प्रतिबिम्ब मस्तिष्कमा उतार्न र महसुस गर्न केहीबेर नरोकिई धरै छैन। २१ गन्तव्यका कथा (यात्रा वर्णन) छन्, जसमा फरक भूगोल, विषय र विशेषता छन्। सबै नेपाली परिवेशभन्दा धेरै फरक छन्।
बतासे सहरमा बादलको गेट होस् वा क्याम्ब्रिजमा निर्वस्त्र सुन्दरी अथवा क्यान्टरबरी टेल्स र क्याथड्रेलको वर्णन। त्यसमा नेपाली दसगजाभन्दा बिल्कुलै पर जापान, अमेरिका र बेलायतका कथा छन्। पाठकले नूतन गन्तव्यको अनुभूति गर्छन् ती पढ्दा। योनि म्युजियममा चिहाउँदा शीर्षकको नियात्रा पढ्नु अघि लाग्यो, धत्तेरी बजगाईं पनि कहाँकहाँ पुगेछन्। किन जानु त्यस्तो ठाउँ ? गइहाले पनि किन लेख्नु त्यस्तो कुरो ? जस्तो पनि लाग्यो। तर उनीसँगै म पनि म्युजियम चिहाउन पुग्दा कल्पनाभन्दा नितान्त फरक थियो यथार्थता। त्यस्ता म्युजिमयहरू त नेपालमा पनि भए हुने नि जस्तो पनि लाग्यो।
ग्रिनविचको काल्पनिक रेखामा पाइला राखेको वर्णन होस् वा कुकुरको चिहानमा चार थोपा आँसु झारेका कुरा वा प्रजातन्त्रको जन्मस्थलमा म्याग्नाकार्टा खोज्दा नियात्राकारले देखेका दृश्य आँखैअघि नाचेजस्तो लाग्छन्। उनका हरेक नियात्रा पढ्दा उनका पाइलासँगै पाठक पनि उसैगरी हिँडेको भान हुन्छ। घुमन्ते लेखक बजगाईंले यस कृतिमा शिल्प कुशलतापूर्वक प्रदर्शन गरेका छन्। डायोस्पोरिक लेखनको शक्तिशाली कला बेलायती गाउँमा कुपर नियात्रामा होस् वा बिटल्स र यायावरमा नियात्रामा आएको छ।
नियात्राकारले अरू धेरै गन्तव्यका वर्णनमा नेपाली परिवेशलाई सम्झिएका छन्। तुलना गरेका छन्। बिम्ब बनाएर नेपाली पहाड र बस्तीहरूलाई उतारेका छन्। उनको शब्द संयोजनको शिल्प यहाँ सितारा झैं बनेर झल्किएका छन्। नियात्राकारसँग मेरो असहमति तुलना गर्ने कुरामा छ। परदेशको वैभवसँगको तुलना आफ्नो निम्छरोपनासँग गर्नु ठीक लाग्दैन। हो, हाम्रो देशमा सम्पन्न मुलुकहरूको जस्तो विराट विकास भएको छैन। राजनीतिक नेतृत्वले गर्न सकेको छैनन्। त्यही कुरा बारम्बार गरिरहँदा टनटनी दुख्छ।
नियात्राकारको लेखकीय शैली र उनको यो कृति एउटा टुर गाइड पनि हो। पहाडको टुप्पोदेखि समुद्रमुनिसम्मको यात्रा गर्दा उनले जे भोगे अथवा टोकियोमा सपनाको यात्रा उनले जसरी गरे कृतिका अरू नियात्राहरूले पनि ती ठाउँमा पुग्न चाहनेलाई पथप्रदर्शन गरेका छन्। नियात्राकारले लेखक साहित्यकारका जन्मस्थल र कर्मस्थललाई तीर्थ मानेका छन्। नेपालमा पनि त्यस्तै भइदिए हुने नि भन्ने कामना पनि गरेका छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासबाट यो कामको सुरुआत भइसकेको छ। आदिकविको निवासले पनि यो बहसमा भाग लिएको छ। अरू धेरै महान् सर्जकहरू पनि समेटिनु पर्छ। कृतिभरि साहित्यिक पर्यटनको एउटा मार्गदर्शकको रूपमा उभिएका छन् नियात्राकार। भँुडीपुराण प्रकाशनले बजारमा ल्याएको यो कृति भर्चुअल यात्रामा रमाउन खोज्नेहरूका लागि एउटा श्रेयष्कर पथप्रदर्शकको रूपमा छ।