ल्याब टेस्टको भ्रम

समीक्षा

ल्याब टेस्टको भ्रम

डा. केयुर गौतमले प्रयोगशालामा काम गर्ने क्रममा देखेका समस्या, बिरामीहरूले बारम्बार सोधिरहने प्रश्न, प्रयोगशाला रिपोर्टमा रहेको अलमल हुने कुराहरूलाई टिपोट गरेर नै पुस्तक लेखेका छन्।

वातावरणीय प्रतिकूलता, आधुनिक जीवनशैली र अखाद्य वस्तुको मिसावट आदि कारणले रोग तथा महामारी दिनप्रतिदिन बढ्दो छ। यसकै अनुपातमा अस्पताल, ल्याब तथा चिकित्सकहरूको संख्या पनि उत्तिकै बढेको अवस्था छ। तर पनि स्वास्थ्यसम्बन्धी चेतना पर्याप्त छैन। मानिसमा स्वास्थ्यसँग जोडिएका थुप्रै भ्रमले जरा गाडेको छ। यस्तै अवस्थामा वरिष्ठ प्याथोलोजिस्ट डा. केयूर गौतमको ‘प्याथोलोजी मार्गदर्शन’को पुस्तक सार्वजनिक भएको छ।

प्याथोलोजी ल्याबसँग जोडिएका जनचासोका विषयलाई यो पुस्तकले सम्बोधन गर्दै भ्रमहरू चिर्ने कोसिस गरेको छ। ल्याब टेस्टका सन्दर्भमा बिरामी, चिकित्सक तथा ल्याब टेक्निसियनकै बीचमा अल्मलिएका थुप्रै जिज्ञासालाई यो पुस्तकले सरल भाषामा समाधान दिन खोजेको छ। पुस्तकमा बिरामीले बारम्बार सोध्ने र दैनिकजसो व्यावहारिक रूपमा आउने समस्याबारे उनले अध्ययन, अनुसन्धान र अनुभवका आधारमा गतिलो निष्कर्ष दिएका छन्। रगत झिक्ने सही तरिका, नसा नदेखिँदा प्रयोग गरिने भेन भ्युवरजस्ता सामान्य विषयदेखि रगतको मात्रा, एचबीएवानसी जाँच, बायोस्पी, युरिक एसिड, प्याप स्मियर जाँचजस्ता गहन विषय किताबले सरल भाषामा सम्बोधन गरेको छ।

सम्यक डाइग्नोस्टिकका अध्यक्ष गौतमको ‘प्याथोलोजी मार्गदर्शन’ ४११ पृष्ठको छ। पुस्तकमा १०० शीर्षक छन्। सही रिपोर्टका लागि आफूलाई कसरी तयार पार्ने, रगत जाँचका लागि रातभर खाली पेट किन बस्नुपर्छ, ब्लड ग्लुकोज पीपी कुन बेला दिने, गुणस्तरीय प्रयोगशाला रिपोर्ट तयार पार्न आवश्यक कुरा, विभिन्न जाँच गर्नुपर्ने कारण र त्यसको तयारीजस्ता शीर्षकमा ल्याब धाइरहनुपर्ने सर्वसाधारणका मनमा आइरहने शंकाहरूको गतिलो निवारण गरिएको छ। सामान्य अवस्थामा ल्याब जानुपर्ने अवस्था भएका व्यक्तिदेखि उमेर ढल्किएपछि आउने स्वास्थ्य समस्याको प्रयोगशाला परीक्षणबारेमा सरल भाषामा लेख्नु लेखकको विशेषता हो।

गौतमले प्रयोगशालामा काम गर्ने क्रममा देखेका समस्या, बिरामीहरूले बारम्बार सोधिरहने प्रश्न, प्रयोगशाला रिपोर्टमा रहेको अल्मल हुने कुराहरूलाई टिपोट गरेर नै पुस्तक लेखेका छन्। ७०–८० प्रतिशत रोगको डाइग्नोसिस, ट्रिटमेन्ट र मोनिटरिङ प्याथोलोजीका आधारमा गरिने हुनाले आमजनमानसमा सचेतना जगाउन पुस्तक उपयोगी हुने विश्वास देखिन्छ। पुस्तक आममानिससँगै चिकित्सक, नर्सिङ स्टाफ, पारामेडिक्स र विद्यार्थीलगायतलाई उपयोगी हुनेछ। गैरआख्यानात्मक कृतिका रूपमा यस पुस्तकले न्याय पाएको छ। पछिल्लो समय प्रायः अंग्रेजीका शब्दावली नै बढी प्रयोग गर्न थालिएको छ। कतिपय अवस्थामा त शब्दावलीलाई नेपालीमा लेखेको खण्डमा नबुझिने समस्यासमेत छ। यस अर्थमा यो पुस्तकले नेपाली भाषामा क्लिष्ट चिकित्सकीय साहित्यलाई सरलीकृत रूपमा बुझाउने प्रयास गरेकाले पनि संकलन योग्य कृति बनेको छ।

गौतम लेख्छन्, ‘दैनिकजसो आउने जिज्ञासा र कौतूहलता एवं भ्रमलाई स्पष्ट रूपमा व्याख्या गर्दै सँगालिएर बनाइएको र ७० प्रतिशतभन्दा बढी रोगको निदान, उपचार र उपचारपछि चाहिने यो महत्त्वपूर्ण विषयलाई जनमानसमा लैजानु उपयुक्त ठानेर पुस्तक लेखेको हुँ।’ चिकित्साशास्त्र पढ्ने क्रममा प्याथोलोजी विषय पहिलो दुई वर्ष अध्ययन गरिन्छ। त्यो समयमा यस विषयको महत्त्व खासै बुझिँदैन। पछि पनि यस विषयका लागि भनेर कुनै समय छुट्ट्याइएको विरलै पाइन्छ। त्यसैले चिकित्सकहरूलाई पनि मध्यनजर गर्दै सही रिपोर्टको आवश्यकता तथा त्यस रिपोर्टलाई निकाल्न आइपर्ने विश्लेषण गर्नुपूर्व एवं विश्लेषणको क्रममा एवं विश्लेषणपश्चात् हुन सक्ने त्रुटिहरूलाई पनि हृदयंगम गर्दै बिरामीको शारीरिक अवस्थासँग मेल खाए नखाएको निक्र्योल गर्न पुस्तक सहयोगी हुने देखिन्छ। उपचारमा संलग्न चिकित्सकहरूलाई पनि रिपोर्टमात्र नभई अन्य विषय जसले रिपोर्टमा देखा पर्न सक्ने विचलन ल्याउँछ सो बारेमा पनि पुस्तकले पर्याप्त जानकारी दिन्छ।

गौतमले एक दशकभन्दा लामो समयदेखि स्वास्थ्य सेवाका क्षेत्रमा संस्थागत रूपले नेपाली समाजलाई अनवरत सेवा दिँदै आइरहेका छन्। फिलिपिन्सको सेन्ट लुइस विश्वविद्यालयबाट एमबीबीएस गरेका उनले काठमाडौं विश्वविद्यालयअन्तर्गत कस्तुरवा मेडिकल कलेज म्याङलोरबाट प्याथोलोजीमा एमडी गरेका हुन्। उनले भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालबाट अंकोप्याथोलोजीमा विशेषज्ञता हासिल गरेका हुन्।

नेपालको पहिलो आईएसओ १५१८९ मान्यता प्राप्त सम्यक डाइग्नोस्टिक प्याथोलोजी ल्याबका संस्थापक अध्यक्ष डा. गौतमले गुणस्तर र शुद्धताका लागि नेपालको प्याथोलोजी उद्यममा अग्रणी भूमिका पनि निभाएका छन्। देशमा नयाँ प्रविधिहरू भित्र्याउन पनि उनको प्रमुख भूमिका छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.