दुर्गम दुरुस्त पार्ने संस्मरण

समीक्षा

दुर्गम दुरुस्त पार्ने संस्मरण

दैनिक जीवनका अनवरत दैनिकीलाई एक–दुई दिन थाँती राखेर यात्रामा निक्लिएका लेखक मानवका पीडादायक यथार्थ देखेर आत्तिान्छन्, छट्पटिन्छन्।

भन्छन्, दान गर्नू बिर्सिदिनू तर यात्रा गर्नू सम्झिरहनू ! भनेजस्तो कहाँ हुन्छ र ? बिर्सने कुराहरू बेलाबेला याद आइदिन्छन्, सम्झने क्षण भने स्मृतिबाट बिलाइहाल्छन्। यात्राका समयमा देखेका मन छुने विषयवस्तु टिपोट गर्ने बानी राम्रो लाग्छ। बुँदामा उल्लेख गरिएको तिनै टिपोटले सुन्दर लेख तयार हुन्छ। विभिन्न ठाउँमा यात्रा गर्दै टिपोट गरी तयार पारिएको यात्रा संस्मरणले त्यस ठाउँको परिचय बोकेको हुन्छ। दाजु गोविन्दराज भट्टराईको संयोजकत्वमा फागुन अन्त्यतिर १५ जनाको टोली पूर्वको साहित्यिक यात्रामा निक्लियौं। मबाहेक टोलीका सबैको लेख आइसक्यो। म भने साथीभाइका कृतिभित्रै हराइरहेछु।

कृति पढिसकेपछि त्यसभित्रको गुलियो रस निकाल्न असाध्यै मनपर्छ। कुनै किताब यति नशालु हुन्छन्, त्यस्ता किताबको अध्ययनपश्चात् धेरै दिनसम्म नशाजन्य पदार्थको सेवन गरे झैं लठ्ठिन्छु। शंकर लामिछाने र विश्वेश्वरप्रसादका कृति पढ्दा सधैं यस्तै महसुस हुन्छ। नियात्रा संग्रह प्रणय र पाइला पुस्तकको चर्चामा निमग्न छु। निबन्धमा कला मिसाएर नयाँ स्वादको रचना तयार पार्ने ज्ञानेन्द्र विवश पछिल्लो समय नियात्रामा कलम चलाइरहेका छन्। एक थुँगो फूलको वर्णन गर्नुपर्दा एउटा विशाल फूलैफूलको नर्सरी तयार पार्न सक्ने शब्द भण्डार भएका यी लेखकको धेरै किताब पढिसकेकी छु। यिनको नयाँ पुस्तक सुन्दरी चोकले पनि मन नलोभ्याएको त कहाँ हो र ?

यात्रा गर्दा नयाँ ठाउँको जीवनशैली, संस्कार, संस्कृति र प्राकृतिक पर्यावरणलाई आँखाले स्पर्श गरी ओठले चुमेर हृदयमा सँगाल्नु र त्यसलाई कृतिको रूपमा तयार पारेर पाठकसामु ल्याउनु कत्रो आनन्दको कुरा हो। त्यसैकारण साहित्य समाजको प्रतिबिम्ब हो भनिन्छ। यसमा दुई दर्जन लेख छन्। प्रायः नेपालकै अधिकांश ग्रामीण भेगको कथाव्यथा छन् भने छिमेकी भारतमा घुमेका स्मरणीय पलहरू पनि संग्रहमा छन्। लेखकले यात्रा गरेका ठाउँको प्राकृतिक, भौगोलिक, ऐतिहासिक, सांस्कृतिक पक्षको विस्तृत अध्ययन अवलोकन गरेर लेखिएका कतिपय नियात्रा सुन्दर नारीको सौन्दर्यमा डुबेर लेखिएका रहस्यमय कविता झैं लाग्छन्। भन्नुपर्दा, प्रकृति र नारी उस्तै सुन्दर हुन्छन्। सुन्दरी चोक, अन्नपूर्णाका विम्बहरू अनि प्रणय र पाइला। पुस्तक पढेपछि लेखक नारीवादको पक्षमा उभिए झैं लाग्यो।

पुस्तकभित्र मन परेको निबन्ध गाउँ जाँदा जे देखियोबाट सानो अनुच्छेद– ‘रमणीय सौन्दर्यको त्यस पाटोमा मन लठ्ठिएर भुनभुनाउन थाल्छ सुस्तरी ! भावुक भावना बयली खेल्छ। चञ्चल स्वभाव चुपचाप हुन्छ। चंगा झैं मन प्रकृतिको विस्तीर्णम् आवरण माथि घुम्न र डुल्न थाल्छ मस्तले। आँखाभरि हरियो रङ नाच्छ धरतीको सुगन्धसहित। अन्ततः पहाडी तरेलीका बिस्कुनमा मन रमाउन थाल्छ। प्रेमको पाटोलाई आँखाको स्पर्श र अनुभूतिले भेटिने रहेछ। 

हो नि, आफ्नो जन्मस्थान पुगेपछि सबैको मन यसरी नै पुलकित हुन्छ।’ दैनिक जीवनका अनवरत दैनिकीलाई एक–दुई दिन थाँती राखेर यात्रामा निक्लिएका लेखक मानवका पीडादायक यथार्थ देखेर आत्तिन्छन्, छट्पटिन्छन्। मनकामना, मस्र्याङ्दी र मन पढेपछि मनै भत्कियो। धेरै कष्टकर छ नेपालका ग्रामीण भेगमा बसोबास गर्ने नेपालीको जीवन। सहरमा बस्ने मान्छेले त कल्पनै गर्न सक्दैनन्। खाली खुट्टा र पिठ्यूँमा भारी बोकेर पखेरा चढ्ने साहसीहरूसँग दुःखको पहाड पनि सँगै उक्लन्छ लेखक। उनीहरूले चाहेको सुख एकछिनको हेराइमा देखिने सौन्दर्य होइन। आफ्नै कमाइले आरामपूर्वक राम्ररी खान लाउन पाउनु नै सुखमय जीवनको प्राप्ति हो उनीहरूलाई !

चुच्चेमारामा चिप्लेटी निबन्धले पाठकको मन अत्याउँछ। मुगु र जुम्लाको सिमाना– साँधका रूपमा रहेको चुच्चेमारा मौसमअनुसार आफ्नो रूप बदलेर अद्भूत चमत्कार देखाउँछ। त्यहाँ बर्खामा मान्छे आवतजावत गर्छन्, सारा हरियाली देखिन्छ रूपसँगै उसको नाम चुच्चेमारा लेकको नामले चिनिन्छ। त्यहाँका बासिन्दा अनेकौं किसिमका जंगली वनस्पति जडीबुटी खोजेर बिक्री गरेको पैसाले जीवन निर्वाह गर्छन् तर हिउँद लागेपछि चुच्चेमाराले आफूलाई लेकबाट हिउँ पहाड बनाउँछ। त्यहाँ कुनै वनस्पति रहन्नन्। कोही चड्न नसक्ने चुच्चेमारा आफूलाई हिउँको बर्को ओडाएर एक्लै बसिरहन्छ एउटा सिंगो ऋतु बोकेर। साँच्चै प्रकृतिले समानता र संघर्ष सिकाउँछ।

राप्ती तटमा जीवनको व्याकरण : 

राजा महेन्द्रले नारायणी नदीमा डुंगामाथि बसेर कवि सम्मेलन आयोजना गरेका रोचक प्रसंगदेखि राणाकालमा उच्च पदस्थ श्री ३ परिवार र विदेशी पाहुनाको काठमाडौं बाहिर घुम्न जाने ठाउँमा पहिलो गन्तव्यस्थल नै चितवन भएको कुरा इतिहासमा पढ्न पाइन्छ। अनेकौं किंवदन्ती बोकेर बाँचेको त्यो चितवन राष्ट्रिय निकुञ्जले आदिवासीलाई के कति सम्बोधन गर्‍यो त्यो जगजाहेरै छ। प्राकृतिक सौन्दर्य, दुर्लभ वनस्पति र वन्यजन्तु एकै स्थानमा रहेको सुन्दर चितवनमा नदी र निकुञ्जमा आश्रित आदिवासीको पीडा, नारायणी र राप्ती नदीमा माछा मार्ने, निकुञ्जमा सिकार गर्ने र कन्दमूल खोजी जीवन गुजारा गर्ने आदिवासीको आवाजजस्ता दुःखद् पक्षको आवाज उठान गरेको यो नियात्राले राप्ती तटमा जीवनको व्याकरण खोजिरहेछ।

धेरै कष्टकर छ नेपालका ग्रामीण भेगमा बसोबास गर्ने नेपालीको जीवन। खाली खुट्टा र पिठ्यूँमा भारी बोकेर पखेरा चढ्ने साहसीहरूसँग दुःखको पहाड पनि सँगै उक्लन्छ लेखक।

नेपालभित्रको अर्को नेपाल : मुलुककै विकट र अति दुर्गम क्षेत्र करान भेगको खास ठाउँ नै मुगु कार्ती, किम्री र डोल्फु हुन्। यहाँका बासिन्दा सुर्खेतबाट खाद्यान्न बेसाएर खाने रहेछन्। छायाँनाथ हिमालको छेउमा ढुंगैढुंगाको डरलाग्दो भिरको बाटो छिचोल्दै १२ हजार फिट उचाइमा रहेको डोल्फु गाउँको हृदयविदारक कथा पढेर म तर्सिएँ। मासु खाएर हाडखोड छोडे झैं चुच्चाचुच्ची ढुंगाका थुप्रै थुप्रो कसरी हिँड्छन् मान्छे ? प्रश्नैप्रश्नको ओइरो लाग्छ मनमा।

मान्छे, जस्तोमा पनि बाँच्न सक्ने लाचार प्राणी। दुःखको दुखाइले सीमा नाघिसक्दा पनि सुखको खोजीमा बगिरहन्छ मान्छे। त्यही दुःखले बनेका अक्करे पहाडसँग हातेमालो गर्छ मान्छे। त्यस्तै प्रणय छ अनि त्यसैमा पाइला। पदचाप जीवनको दुःखद् यात्रा हिँडिरहेको छ। तिनै डोल्फुवासीलाई थाहा होला, दुःखको कथाव्यथा कति मर्मघाती हुन्छ भन्ने कुरा ! संसारले सञ्चार प्रविधिमार्फत फड्को मारेर कहाँ पुगिसक्यो तर यी दुःखीहरूको जीवनशैली आदिमकालकै अन्धकारमा छामछुम गरिरहे झैं लाग्छ।

सहरको सुखसयलमा बस्नेलाई यी र यस्ता दुर्गम गाउँका कथाहरू एकादेशका लाग्न सक्छन् तर यो डोल्फु हाम्रै देशभित्रको एउटा अन्धकार गाउँ हो। त्यसो भए यो मात्र एउटा दुःखको कथा बोकेको गाउँ हो त भन्ने प्रश्न उठ्ला। यस्ता विकट गाउँ धेरै छन्, विकास र समृद्धिका आँखाहरू पुग्न बाँकी। नपुगेको र नदेखेको ठाउँ हेर्ने रहरले लेखकलाई छिमेकी मुलुक भारतका विभिन्न ठाउँमा तानेर लैजान्छ। उनले लेखेको सिक्किमको वर्णन पढ्दै गर्दा नेपालकै पूर्वी पहाड राँके सम्झिएँ। यतिबेला आकाशलाई पूरै कुहिरोले ढाकेको छ र जंगलभित्र हुस्सु पसेर आँखाको दृश्यमा– संसारभरि घनघोर जंगलबाहेक केही देखिँदैन। साँच्चै ठ्याक्कै यस्तै थियो, मैले स्पर्श गरेको राँके। नजिकैको कालिम्पोङको रूपले मन बरालियो भन्छन् लेखक– कालिम्पोङ सौन्दर्य कलाको भण्डार हो, बैंस चुहेको मुस्कान छ त्यहाँ, बैंस लजाएको अनुभूत हुन्छ त्यहाँ। साँच्चै बैंसको रंग स्वयंमा मादक र मायालु हुन्छ।

सायद प्रकृतिको अनुपम सौन्दर्यको रहस्यकै कारण मान्छे उत्सुकतापूर्वक यसको पछाडि दौडन्छन्। त्यसो त, आनन्दमय अनुभूतिको अभावमा मान्छे उदास हुन्छ। भनिन्छ, जीवनको प्रमुख रहस्य नै आनन्दको आशा र त्यसको प्राप्तिको प्रतीक्षा हो। जीवनलाई पूर्णता र अर्थ दिन पनि बाह्य प्रकृति एवं जीवनशैलीसँग साक्षात्कार गर्न यात्रा आफैंमा आवश्यक हुन्छ। यस किसिमको यात्राबाट आध्यात्मिक आनन्द र जीवनको सर्वाधिक खुसीको अनुभूति प्राप्त हुन्छ।

हिजोआज नेपालमा शरणार्थी काण्ड चरमोत्कर्षमा छ। बीसौं वर्षदेखि भुटानी शरणार्थी आश्रयको खोजीमा नेपाल आएको कुरा त सर्वविदितै छ। शरणार्थीको नाममा नक्कली शरणार्थी बनाउने गिरोहको अझै खोजी कार्य जारी छ भन्दै गर्दा नेपालीको महानताको हिसाबकिताब बाहिरी देशदुनियाँले गरेकै होला। पुस्तककै नियात्रा संस्मरणमा शरणार्थीको महत्त्वकांक्षा पढेपछि हालको अवस्था थोरै लेखिहालें। कसैलाई चोट परे क्षमा चाहन्छु। लेखकले धेरै पहिले देखेको शरणार्थी शिविर आज बदलिएको छ। समग्रमा किताब राम्रो छ, धेरै पिछडिएका गाउँ, त्यहाँका बासिन्दाको आवाज बुलन्द गरेका छन् लेखक।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.