गल्याङमा ड्रागन फल
स्याङ्जा : गल्याङका हुमनाथ भट्टराईले दुई वर्षमै ड्रागन (सिउँडी) फल फलाए। दुई वर्षअघि आफैंले धान, मकै उब्जाउँदै आएको ६ रोपनी जग्गामा ड्रागन खेती सुरु गरेको उनले बताए।
गल्याङ नगरपालिका–३ लल्याङ्मा सूर्योदय कृषि तथा पशुपालन फर्ममार्फत उनले ड्रागन खेती गरेका हुन्। एकैपटक उनले ६ सय बिरुवा लगाए। ड्रागनका लागि सपोर्ट चाहिने हुँदा उनले १ सय ५० वटा पिलरसमेत बनाए। सोही पिलरमा अहिले ड्रागनका फल राताम्यै भएका छन्। कतै राता त कही कतै सेता फलले बगैंचाको सौन्दर्यतालाई बढाएको छ। यातायात व्यवसायीसमेत रहेका भट्टराईले युट्युव हेरेर ड्रागन खेतीप्रति आकर्षण बढेको बताए। सबै खालका बिरामीका लागि उपयुक्त फल मानिएकाले पनि यसतर्फ रुचि जागेको उनको भनाइ छ।
अहिले उनले आम्दानी लिन थालेका छन्। दुई वर्षअघि रोपेका बिरुवाले फल दिन थालेका छन्। यसपटक तीन सय बिरुवाले फल दिएको र बजारको समस्या नभएको उनले बताए।
‘प्रतिकिलो पाँच सय रुपैयाँका दरले स्थानीय बजारमा बिक्री गरेको छु। पहिला निःशुल्क चखाउँछु। त्यसपछि उनीहरू नै किनेर खान्छन्’, उनले भने, ‘सबै गरेर पाँच लाख लगानी भएको छ। अर्को वर्ष सबै उठाएर नाफामा जान्छु। राम्रो खेती रैछ।’
उनले बिरुवा पनि उत्पादन गर्छन्। प्रतिबिरुवा सयदेखि दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ। एकपटक रोपेपछि यसले २० देखि २५ वर्षसम्म उत्पादन दिन्छ। यो सेतो र रातो दुई प्रकारका हुन्छन्। वैशाख जेठमा फुलेपछि असोज कात्तिकसम्म यो फल खान पाइन्छ। झन्डै सात महिनासम्म फल दिइरहन्छ। अन्य फलफूलमा जस्तै यसमा पनि प्रशस्त मात्रामा भिटामिन पाइने हुँदा प्रतिरोधात्मक क्षमताका लागि निकै उपयोगी मानिएको छ। गुलियो स्वाद भए पनि सुगरका बिरामीका लागि पनि यो उपयोगी हुने बताइएको छ।
कम परिश्रममा राम्रो आम्दानी लिन सकिने यस्ता खालका नगदे बाली निकै उपयोगी रहेको बताउँछिन् कोपिला भट्टराई। ‘भर्खरै ५० किलो फल टिपेर बजार जानुभाथ्यो २५ सय रुपैयाँ नगद लिएर फर्कनुभो’, उनले खुसी हुँदै थपिन्, ‘बाँदरले पनि खान नजानेको रैछ यो फल।’ सबै खालका अन्न र फलमा बाँदर आतंकले सताएका बेला ड्रागन फलको स्वाद भने बाँदरले नखाएकोे पाइएको हो।
लल्याङ्मा लगाइएको ड्रागन फलले राम्रो उत्पादन दिन थालेपछि गाउँलेलाई समेत ड्रागन खेती लगाउने चासो बढाएको भट्टराईको भनाइ छ।
उनले थपे, ‘मेरो लगानी र परिश्रमको संरक्षण गर्न र ड्रागन खेतीलाई व्यावसायिकतातर्फ जाने मेरो उद्देश्यलाई पूरा गर्न प्राविधिक सल्लाहको खाँचो छ।’