शब्दचित्रमा पुष्पलाल
पुष्पलालले २०२५ सालमै गरेको युवा सम्मेलनले नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने कार्यक्रम पास गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल बितेको ४५ वर्ष भएछ। नेपाली लोकतान्त्रिक आन्दोलनका सिद्धान्तकार उनको सिद्धान्तलाई कार्यान्वयनमा ल्याउन हामी पुष्पलालका अनुयायीहरूलाई नेपालका स्वघोषित कांग्रेस र कम्युनिस्टलाई धेरै वर्ष लाग्यो। उनको २०३५ साल साउन ७ गते भारतको दिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा देहान्त भयो। त्यसबेला मलगायत केही साथीहरू राजकाज अपराध मुद्दामा केन्द्रीय कारागारमा थियौं।
त्यसअघि २०१७ सालमा तत्कालीन राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई प्रतिबन्ध लगाएर निर्दलीय व्यवस्था घोषणा गरेका थिए। त्यसको विरोधमा पुष्पलालले २०१८ साल मंसिर १ गते एक पर्चा प्रकाशित गरे। त्यो पर्चा लोकतन्त्रका हिमायती दलहरू सबै एकै ठाउँमा आएर संयुक्त तथा शान्तिपूर्ण जनसंघर्ष गर्न अपिल गरेका थिए। तत्कालीन प्रधानमन्त्री बीपी कोइराला उनको मन्त्रीमण्डलका सदस्यहरू र सभामुखलाई राजा महेन्द्रले थुनेर अन्य नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई पनि थुने।
बाहिर रहेका नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरले राजाको कदमविरुद्ध ‘हिट एन्ड रन’ नामक सशस्त्र गुरिल्ला युद्ध सञ्चालन गर्ने निर्णय गरे। यसबेला पुष्पलालले कांग्रेस नेता सुवर्ण शमशेरलाई शान्तिपूर्ण संयुक्त जनआन्दोलन गर्न अपिल गरेका थिए। तर, सुवर्णजीले मान्नु भएन। दुई वर्षमै उनको ‘हिट एन्ड रन’ असफल भयो। २०२४ सालमा राजासँग मेलमिलाप गर्ने भनेर उक्त हिट एन्ड रन आन्दोलन फिर्ता लिए। त्यसबेला पुष्पलालले सुवर्णको अपरिपक्व आन्दोलनको आलोचना गरेका थिए। कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनले चुनेको नेतृत्व अल्छी भएपछि २०२५ सालमा देशभरका युवालाई समेटेर पुष्पलालले तेस्रो सम्मेलन गरेका थिए।
अब पुष्पलाल र अन्य कम्युनिस्ट तथा लोकतान्त्रिक नेताहरूलाई सम्झने हो भने निजी सम्पत्ति राख्न नपाउने प्रावधानको संविधानको संशोधन गर्नु पर्छ। युवा विदेश निकासी बन्द गर्नु पर्छ।
पुष्पलालले गरेको उक्त सम्मेलनले नेपालमा नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने कार्यक्रम पास गर्यो। त्यसले नेपालका ७५ वटै जिल्लालाई लपेट्यो। पूर्वका विराटनगर, झापा, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र पश्चिममा गण्डकी, लुम्बिनी, धौलागिरि, भेरी र सेतीजस्ता धेरै जिल्ला र अञ्चलमा व्यापक र संगठित किसान आन्दोलन भए। यो आन्दोलनले सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थालाई धेरै कमजोर बनायो। तर, त्यही बेला कमरेड पुष्पलाललाई हृदयघात भयो। अन्ततः त्यही रोगबाट २०३५ साल साउन ७ गते उनको भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा निधन भयो।
त्यसपछि पनि पुष्पलालकै नीतिबाट २०३५/३६ मा संयुक्त विद्यार्थी आन्दोलन भयो। जसले निरंकुश व्यवस्थालाई जनमत संग्रहको कठघरामा उभ्यायो। तर, सबै राज्यको साधन प्रयोग गरेर बहुदलीय व्यवस्थालाई हराइयो। तर पनि हामी पुष्पलालका अनुयायीले बाटो बिराएका कम्युनिस्ट समूह र कांग्रेसलाई सकारात्मक धारणामा ल्यायौं। २०४६ सालमा पनि बृहत् संयुक्त जनआन्दोलन भयो र निरंकुश व्यवस्था ढल्यो। त्यसपछि नेपालमा बहुदलीय व्यवस्था स्थापना भयो, नेपालीले प्रजातन्त्र प्राप्त गरे। लामो समयदेखि गुम्सिएको महसुस गर्ने नेपालीजनले खुला ठाउँको स्वच्छ श्वास फेरेको महसुस पनि गरे।
बहुदलीय व्यवस्था आएपछि प्रजातान्त्रिक सरकारहरूले जनविरोधी काम र युवा निकासी गरेर खाने आर्थिक पद्धति ल्याए। अर्थात् विप्रेषणमा आधारित अर्थव्यवस्थाको अवधारणा ल्याए। जसले निजीकरणका नाममा राज्यका सबै सम्पत्ति कौडीका मोलमा बेचिए। यो बेथितिका विरुद्ध कम्युनिस्ट पार्टीको एक समूहले हतियार उठाएपछि बनेका नेपाली कांग्रेसका सरकारले चरम बेथिति र आर्थिक भ्रष्टाचार गरे। यी दुवै अतिवादको आडबाट अपुतालीका राजाले पुनः लोकतन्त्रको अपहरण गरे। त्यसको विरोधमा फेरि रत्नपार्कमा पुष्पलालको फोटो राखेर कांग्रेस र कम्युनिस्टले संयुक्त जनआन्दोलनको घोषणा गरे।
त्यसपछिमात्र विद्रोहीसँग १२ बुँदे सम्झौता भयो। त्यसपछि २०६२/०६३ सालको जनआन्दोलन भयो। त्यसबाट नेपालमा संघीय गणतन्त्र स्थापना भएको छ। अब पुष्पलाल र अन्य कम्युनिस्ट तथा लोकतान्त्रिक नेताहरूलाई सम्झने हो भने निजी सम्पत्ति राख्न नपाउने प्रावधानको संविधानको संशोधन गर्नु पर्छ। युवा विदेश निकासी बन्द गर्नु पर्छ। कृषिमा १५ प्रतिशत, उर्जामा १५ र शिक्षा र स्वास्थ्यमा १०/१० प्रतिशत बजेट राखेर व्यापक उत्पादन अभियान गर्ने वातावरण बनाउनु पर्छ।
उत्पादित वस्तु विदेश निकासी गरेर व्यापार घाटा घटाउने, ऊर्जा विदेश निकासी गर्ने धारणा हटाउने, बरु यातायातमा ऊर्जाकरण गर्ने काम अघि बढाउनु पर्छ। पेट्रोल, डिजेल पैठारी बन्द गर्ने, केवलकार र रोपवे पद्धति मधेस, पहाड र हिमाल सबैतिर स्थापना र भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्ने, व्यापक र युद्धस्तरको जनआन्दोलन गर्नुपर्ने अवस्था छ। त्यो आन्दोलनको माध्यमबाट एउटा पद्धतियुक्त सभ्य लोकतान्त्रिक व्यवस्था निर्माण गर्नतर्फ लाग्नुपर्छ। यति गरेमा मात्रै पुष्पलाललाई सम्झेको उचित ठहर्नेछ।