घरबाटै प्रतिबन्धित औषधिको खरिदबिक्री, धमाधम पक्राउ पर्दै कारोबारी

घरबाटै प्रतिबन्धित औषधिको खरिदबिक्री, धमाधम पक्राउ पर्दै कारोबारी
प्रतिबन्धित औषधिसहित पक्राउ परेका लुसान बर्देवा । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङको उत्तरी लेटाङमा व्यक्तिका घरबाटै प्रतिबन्धित औषधिको खरिदबिक्री हुने गरेको पाइएको छ । खुला सीमाको फाइदा उठाउँदै भारतबाट भित्राइने प्रतिबन्धित औषधि घरघरमा राखेर सेवनकर्तालाई बिक्री गर्ने गरिएको हो । 

घरघरमा भण्डारण गरेर राखिने अवैध औषधि रकम लिएर लागुऔषधका प्रयोगकर्तालाई उपलब्ध गराउने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि लुकाइछिपाइ भारतबाट ल्याउने गरिएको हो । 

लागुऔषधका सेवनकर्तालाई लक्षित गरेर भित्राइने औषधिको खरिदबिक्री घरघरबाटै हुने गरेको छ । घरबाटै प्रतिबन्धित औषधि बिक्री गरिरहेका एकजना युवालाई प्रहरीले शनिबार राति लेटाङ नगरपालिका–३ बाट पक्राउ गरेको छ ।

 बिना इजाजत अवैध औषधि खरिदबिक्री भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट पुगेको टोलीले राति ८:३० बजेतिर लुसान बर्देवालाई पक्राउ गरेको हो । बर्देवाको घरमा खानतलासी गर्दा स्पासपेन ३ सय १२ र ट्रामाडोल ३ सय ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार घरबाटै प्रतिबन्धित औषधि बरामद भएपछि उनलाई पक्राउ गरिएको छ । बर्देवाका सम्बन्धमा इन्सपेक्टर विकाश थपलिया नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धान र कारबाही अघि बढाउन उनलाई औषधि व्यवस्था विभागको जिम्मा लगाउने तयारी छ ।  

इन्स्पेक्टर थपलियाको नेतृत्वमा प्रहरीले लेटाङका ग्रामीण क्षेत्र लक्षित विशेष ‘अप्रेशन’ चलाइरहेको छ । प्रहरी सक्रियतासँगै प्रतिबन्धित औषधि एवं लागूऔषधका कारोबारी र प्रयोगकर्ता धमाधम पक्राउ परिरहेका छन् । लागुऔषधसहित पक्राउ परेकालाई प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउँछ भने प्रतिबन्धित औषधिसहित पक्राउ पर्नेलाई आवश्यक कारबाहीका लागि विभागमा बुझाउने गरिएको छ । 

लागुऔषध गाँजा मुद्दाको अनुसन्धानका लागि प्रहरीले असार २८ गते लेटाङबाटै ४ जनालाई पक्राउ गरेको थियो ।  लेटाङ–९ का २२ वर्षीय झुप्पे भनिने बसन्त मगर,२१ वर्षीय संयोग बुर्जामगर,२० वर्षीय आशुतोष राई र १९ वर्षीय प्रयास राई पक्राउ परेका हुन् । 

प्रहरीले असार २६ गते लेटाङ–३ कृतिमानबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) २३ वर्षीय थीरबहादुर राउत र २२ वर्षीय एनोश तामाङलाई पक्राउ गरेको थियो । राउत बिक्रेता र तामाङ खरिदकर्ता हुन् । खैरो हेरोइन खरिद गर्न तामाङ राउतको घरमा पुगेका थिए । उनीहरूबाट ४९ मिलिग्राम हेरोइन बरामद भयो । 

गाँजा र प्रतिबन्धित औषधिसहित असार २० गते लेटाङ–९ का २० वर्षीय दिवाहाङ राई र पवन बाग्दास पक्राउ परे । प्रहरीले खानतलासी गर्दा घरबाट लागुऔषध गाँजा आधा किलो तथा प्रतिबन्धित औषधि स्पासपेन २ सय र ट्रामाडोल २ सय ट्याब्लेट बरामद भएको थियो । राई र बाग्दाससँगै गाँजाको अवैध धन्दामा संलग्न रहेको पाइएपछि असार २८ गते थप ४ जना पक्राउ परेका हुन् । 

प्रहरीले असार २० गते नै लेटाङ–८ का २० वर्षीय सुवास कार्की र २५ वर्षीय लोकेश राईलाई पनि पक्राउ गरेको थियो । घरबाट स्पासपेन ५ सय ५३ र ट्रामाडोल ४ सय ४५ ट्याब्लेट बरामद भएपछि लेटाङ–९ का २६ वर्षीय अभिषेक दर्जी पनि पक्राउ परे । असार १६ गते लेटाङका २ वटा घरमा प्रहरीले छापा हानेको थियो । बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं संचय गरेर घरमा राखेको पाइएपछि लेटाङ–३ का तेजनकुमार राई पक्राउ परेका थिए । प्रतिबन्धित औषधिको कारोबारमा संलग्न लेटाङ–३ का श्यामकुमार लिम्बू फरार छन् । 

लेटाङका ग्रामीण क्षेत्रका घरघरमा पछिल्लो समय लागुऔषध एवं प्रतिबन्धित औषधि छ्यापछ्याप्ती फेला पर्न थालेको डीएसपी दाहालले बताए । उनका अनुसार कारोबार र दुव्र्यसनीको संख्या बढेसँगै ग्रामीण क्षेत्रमा अपराधिक घटना बढ्ने सम्भावनालाई मध्यनजर गरेर कारबाही तीव्र पारिएको छ । 

औषधिजन्य वस्तुसँग जोडिएको अवैधधन्दा नियन्त्रण गर्न र लागुऔषधको दुव्र्यसनबाट समाजलाई मुक्त गर्न प्रहरी सक्रियता बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार प्रहरी सक्रियतासँगै लागुऔषध तथा प्रतिबन्धित औषधिको कारोबार र दुव्र्यसनमा संलग्न धमाधम पक्राउ परिरहेका छन् । ‘घरघरमा लागुऔषध तथा नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि फेला पर्ने गरेको पाइयो,’ उनले भने, ‘प्रहरी टोली परिचालन गरेर विशेष अभियान चलाइएसँगै प्रहरीले सफलता प्राप्त गरिरहेको छ ।’ 

पछिल्लो समय प्रतिबन्धित औषधि मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने क्रम बढेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लागुऔषधका दुव्र्यसनीले ट्रामाडोल र स्पासपेन मिसाएर सेवन गर्ने गरेका हुन् । लागुऔषधको दुव्र्यसनले व्यक्तिगत स्वास्थ्यसँगै धन सम्पत्तिसमेत सखाप पारिहेको र अपराधिक घटना पनि बढाउने गरेको एसपी पोखरेल बताउँछन् । 

‘दुव्र्यसनले व्यक्ति,परिवार र समाजमा पारिरहेको नाकारात्मक असरका बारेमा सबैलाई प्रष्ट पार्न जनचेतनामूलक कार्यक्रम तथा कानुनी कारबाहीलाई प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘दुव्र्यसन र कारोबार रोक्न प्रहरी आक्रामक बनेको छ ।’

बेलैमा सबैले ध्यान नदिए लागुऔषधले ठूलै समस्या निम्त्याउने अवस्था रहेको एसपी पोखरेल बताउँछन् । अपराधिक घटनामा दुव्र्यसनीको संलग्नता हुने गरेको बताउँदै उनले दुव्र्यसन र यसको जालोमा युवापुस्ताको संलग्नता धेरै पाइने उल्लेख गरे । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.