एकीकृत समाजवादी रामेछापका अध्यक्ष बस्नेत एमाले प्रवेश
रामेछाप : नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत आइतबार नेकपा एमाले प्रवेश गरेका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको प्रमुखमा निर्वाचित बस्नेत पार्टी विभाजनपछि माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी रामेछापको जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए।
कम्युनिस्ट पार्टी का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा नेकपा एमाले रामेछापले आयोजना गरेको कार्यक्रममा बस्नेत एमाले प्रवेश गरेका हुन्।
बस्नेतलाई स्मृति दिवसलाई सम्बोधन गर्न रामेछाप आएका नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका थिए। पछिल्लो समय एकीकृत समाजवादीमा आफ्नो भूमिका केही नरहेको र पार्टीमा फरक मत राख्दै आएको बस्नेतको भनाइ छ।
कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन पनि आफू नेकपा एमालेमै फर्किएको बस्नेतले बताए। बस्नेतसँगै विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेको नेकपा एमाले रामेछापले जनाएको छ।