विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री
जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-५ अन्तर्गतका पाँचवटा सामुदायिक विद्यालयलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यालयका १२५ जना विद्यार्थीलाई पुग्ने गरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले ५ लाख ३ हजार आर्थिक सहयोग गरेका थिए।
सोही आर्थिक सहयोगबाट थासाङ-५ अन्तर्गतका कुञ्जो, टिटी, छयो, देउराली र पैरोथाप्लाका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री संरक्षण व्यवस्थापन समिति कुञ्जोले खरिद गररेको हो।
ती सामग्री गाउँपालिका अध्यक्ष बिष्टकै हातबाट विद्यार्थीलाई वितरण गरिएको ताक्लुङ आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन पुनले जानकारी दिए।
ओझेलमा परेको विद्यालय र विद्यार्थीलाई आर्थिक सहयोग गरी पोशाक, शैक्षिक सामग्री र विद्यालयलाई चाहिने साउन्ड सिस्टम खरिद गरिएको हो। गाउँघरका विद्यालयलाई शिक्षाप्रति जागरुक बनाउन आफूले आर्थिक सहयोग गरी शैक्षिक सामग्री हस्तान्तरण गरेको अध्यक्ष विष्टले बताए।