मुस्ताङमा तिब्बती शरणार्थीले मनाए स्वर्ण जयन्ती
जोमसोम : मुस्ताङमा बसोबास गर्ने तिब्बती शरणार्थीले आइतबार आफ्नो तिब्बती शिविर स्वर्ण जयन्ती मनाएका छन्।
घरपझोङ गाउँपालिका-१ छैरो गाउँको छेरोक नाम्ग्यालिङ समाजघरमा तिब्बती शरणार्थी समुदायका मानिसहरूले औपचारिक कार्यक्रम गरी स्वर्ण जयन्ती मनाएका हुन्।
स्वर्ण जयन्ती मनाउन मुस्ताङ बाहेकका सातवटा स्थानका शरणार्थी क्याम्पका प्रतिनिधिहरू मुस्ताङ आएको छेरोक तिब्बती क्याम्पका पूर्व मुखिया नर्वु फुन्छोक लामाले जानकारी दिए।
उनका अनुसार मुस्ताङी तिब्बती शिविरको स्वर्ण जयन्तीमा सहभागी हुन पोखराको हेम्जा तिब्बती क्याम्प,पोखरा पृथ्वी चोक तिब्बती क्याम्प,पोखराको छोरेपाटन तिब्बती क्याम्प,दुलेगौडा तनहुँ तिब्बती क्याम्प,काठमाडौं जावलाखेल तिब्बती क्याम्प ,काठमाडौं स्वंम्भु तिब्बती क्याम्प र काठमाडौं बौद्ध तिब्बती क्याम्पका शरणार्थी प्रतिनिधि टोली मुस्ताङ आएका हुन्।
तर, स्वर्ण जयन्तीमा दोलखा,मनाङ,ताप्लेजुङ र रसुवामा बस्ने तिब्बती शरणार्थी प्रतिनिधि टोली उपस्थित हुन नसकेको पूर्व शरणार्थी मुखिया नर्वु फुन्छोक लामाले बताए। नेपालमा तिब्बती शरणार्थीहरूको एक दर्जन शरणार्थी शिविर छ।
जयन्ती समारोहको काठमाडौं लाजिम्पाटस्थित शरणार्थी क्याम्पमा बस्ने काठमाडौं क्षेत्रका शरणार्थी संघका अध्यक्ष लोफेन टुल्कुले उद्घाटन गरेका थिए। स्वर्ण जयन्तीमा तिब्बती शरणार्थी संघका अध्यक्ष रोम्वा छिरिङ र सभामुखले भर्चुअल माध्यमबाट शुभकामना दिएका थिए।
स्वर्ण जयन्तीमा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन ,वडाध्यक्ष आशबहादु थकाली र छैरो गाउँका मुखिया दुरेन गौचनलाई आमन्त्रण गरिएको थियो।
मुस्ताङको शरणार्थी क्याम्पमा सुरुवाती ५० घरधुरीका २२४ जना नागरिक बस्ने भए पनि अहिले जम्मा २१६ जना मात्रै छन्।