पहिरोले पाँचवटा बस्ती जोखिममा
बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच वटा बस्ती जोखिममा परेको छ।
पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सँयौ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवार विस्थापित भएका छन्।
पाँचवटा बस्तीका एक सय भन्दा बढी घर जोखिममा परेका छन्। असार ११ गते राति कुवापानीको चिहानडाँडा (सेतोपहाड)बाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो।
मुलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले बताए।
पहिरोले जलजला–२ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ।
स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवगारण आमा समूहको भवनमा बस्ने गरेको बताए। ‘यसअघि जंगल र मुलघडेरीको पाखोमा अडिएको पहिरोको लेदो शनिबारको वर्षातपछि पूर्णगाउँको तालसम्म पुगेको छ,’ उनले भने ‘बराहताल परिसरमा रहेका दुईवटा मन्दिर पनि जोखिममा परेका छन्। पौवाभित्र बाढी पसेको छ।’
डम्मरबहादुर खत्रीको सुन्तला बगैंचा र बारी बाढीले पुरेको छ। मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ। लेदोले पुरिएपछि यसपाली धान र कोदो रोपाइँ पाएका छैनन्। खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ।
पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए।