क्षणिक आवेशको परिणाम : श्रीमतीको हत्या, श्रीमान् थुनामा, आमा आइसीयूमा
राजविराज : सप्तरीको महादेवा गाउँपालिकामा एक युवकले लाठी र फलामको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । महादेवा गाउँपालिका–२ अकवरपुरका ३५ वर्षीय रामरुप खंगको प्रहारले उनकी ३० वर्षीया श्रीमती पावर्तीदेवी खंगको मृत्यु भएको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।
आरोपित खंगको आक्रमणमा परी उनका बुवा,आमा समेत घाइते भएको रामचरित्र खंगले बताए । लागुऔषध सेवनकर्ता आरोपित घरबाट १६ हजार रुपैयाँ लिएर बाहिरिन खोज्दा घरपरिवारले रोकेका थिए । सोही क्रममा घरपरिवारका सबै सदस्यहरूलाई कुटपिट गरेर घाइते बनाएको स्थानीयले बताए । क्षणिक आवेशले श्रीमती चितामा,आमा अस्पतालमा र युवक थुनामा पुगेको खंगले बताए ।
श्रीमतीको हत्या गरेर भागेका उनलाई गाउँलेहरूले समातेर प्रहरीलाई बुझाएका छन् । प्रहरी निरीक्षक प्रमोद खडकाका अनुसार गाउँलेहरुले समातेर बुझाएका आरोपितविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारवाही गरिने तयारी भइरहेको छ ।
घाइते आरोपितका आमा ६२ वर्षीया सन्तोलियादेवी खंगको गम्भीर अवस्थामा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । आइसीयूमा उपचाररत उनको टाउको फुटेर अत्यधिक मात्रामा रगत बगेकाले रगतको निकै कमी भएको चिकित्सकले बताएका छन् ।