विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं : विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय घन श्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई काठमाडौं जिल्ला बूढानीलकण्ठ-५ बस्ने ४० वर्षीय लिलाबहादुर भोलोन रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त जानकारी दिएको हो।
यी घटनामा संलग्न भएका अन्य तीन जना फरार रहेका छन्। मकवानपुरका भीम भोलोन, मिलन तामाङ र पेम्बा तामाङ फरार छन्।
पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।