विद्यालय खाजा कार्यक्रममार्फत विद्यार्थीको स्वास्थ्य र शैक्षिक अवस्था सुधार भएको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो पाँच वर्षमा चार गुणा बजेट बढाएको बताएका छन्।
खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्यालय खाजा कार्यक्रममार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउदै लगिएको बताएका हुन्।
उनले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तर रुपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राखे।
प्रधानमन्त्री दाहालले खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी दिए। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार इटाली गएका हुन्।