दोलखाको विगु गाउँपालिकामा चितुवा आतंक, स्थानीय त्रसित
दोलखा : दोलखाको विगु गाउँपालिको वडा नम्बर ६ र ७ मा एक सातामा चितुवाले १० वटा बाख्रा मारेको छ। वडा नम्बर ७ का वडाध्यक्ष दलबहादुर श्रेष्ठका अनुसार आइतबार राति मात्रै मानेडाँडाका स्थानीय अनिल दुलालको गोठमा चितुवा पसेर पाँचवटा बाख्रा मारेको छ।
चितुवा घर घरमा पस्न लागेपछि स्थानीय आतंकित बनेका छन्। 'बाख्रा त खायो खायो हामीलाई समेत आक्रमण गर्छ कि भन्ने चिन्ता छ', पीडित दुलालले भने।
केही दिनअघि विगु गाउँपालिका-६ आलम्पुको स्थानीय चिनिमाया विश्वकर्माको चार वटा र इसी शेर्पाको एउटा गरी पाँचवटा बाख्रा मारेको स्थानीयले बताएका छन्।
'राति राति चितुवा गोठमा पसेर बाख्रा मार्न थालेको छ,'पीडित चिनिमायाले बताइन्। अब त राति काम विशेषले बाहिर निस्कन पनि डरमर्दो बनेको छ।'
केही समय अघि वडा नम्बर ६ वासाका स्थानीय तारा थामी र रंगबहादुर थामी तथा क्यार्थलका मान बहादुर थामीको घरमा पनि चितुवा पसेर आतंक मच्चाएको स्थानीयले बताए।
उत्तरी गाँउमा चितुवा लगायतका वन्यजन्तुले आतंकित पार्न लागेपछि गौरीशंकर संरक्षण क्षेत्र र सम्बन्धित वडा तथा पालिकामा जानकारी गराएको भए पनि सुरक्षा र क्षतिपूर्तिका विषयमा कुनै पहल नभएको स्थानीय पीडितहरुले गुनासो गरेका छन्।
गौरीशंकर संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसीप्रसाद दाहालले किसानको पशुलाई वन्यजन्तुले आक्रमण गरेर मारेको बारेमा जानकारी आएको र त्यसको उचित क्षतिपूर्ति दिइने बताए।
वन्यजन्तुबाट आफ्नो पशुको सुरक्षाका लागि स्थानीयले गाई, बाख्रा बाध्ने गोठ बलियो बनाउनुपर्ने सूचना अधिकारी दाहालको भनाइ छ।