माथिल्लो तामाकोसीमा पनि भ्रष्टाचार
४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनामा अर्बौं भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ५१ अर्ब भ्रष्टाचार भएको भनिएको छ।
दोलखाका स्थानीय, एन्टी करप्सनका सञ्चालक तथा अभियन्ता विश्वनीति प्रकाशमान पाख्रिनले तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध छानबिनका लागि अख्तियारमा उजुरी दिएका छन्। ३५ अर्ब लागतको माथिल्लो तामाकोसी आयोजनालाई अनियमितता र भ्रष्टाचार गरेर लागत बढाएको आरोप लगाइएको छ।
तत्कालीन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा उपल्लो तामाकोसी तत्कालीन सञ्चालक समितिका अध्यक्ष मुकेशराज काफ्लेसहित १० जनाविरुद्ध छानबिनका लागि अख्तियारमा उजुरी दिएका छन्। माथिल्लो तामाकोसी आयोजना कम्पनीको प्रतिवेदनअनुसार आयोजना निर्माणको लागत करिब ८६ अर्ब लागेको उल्लेख छ। सबैको मिलोमतोमा आयोजनालाई ढिला गरी लागत बढाउने काम गरेको बताइएको छ।
अभियान्ता पाख्रिनले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्ले, आयोजनाका तत्कालीन सञ्चालक समितिका अध्यक्ष अर्जुनकुमार कार्की, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, कम्पनी सचिव रामसुन्दर श्रेष्ठ, प्रशासन महाशाखा प्रमुख विनोदचन्द्र कर्माचार्य, कामु उपआयोजना प्रमुख प्रदीपकुमार थिके, आयोजना प्रबन्धक दिनेशजंग राणा, आयोजना सहायक प्रबन्धक विमल गुरुङ, आयोजनाका सहायक निर्देशक मुकुन्द अधिकारी, वातावरणविद् डा. गणेशप्रसाद न्यौपानेविरुद्ध उजुरी दर्ता गराएका हुन्।