पर्यटकको रोजाइमा सहिद स्मारक
हेटौंडा : हेटौंडा–११ नवलपुरमा अवस्थित सहिद स्मारक देशकै नमुना सहिद केन्द्रसँगै पर्यटकीय गन्तव्य बन्न पुगेको छ। २०३७ सालतिर गौचरणका रूपमा रहेको सो क्षेत्र स्मारकका रूपमा विकास भएसँगै अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको हो।
स्मारकमा विशेषगरी मकवानपुर, बारा, पर्सा, रौतहट, चितवनसहित बागमती प्रदेशका विभिन्न जिल्लाबाट दैनिक हजारौँको संख्यामा पर्यटकहरू आउने गरेका छन्। सहिद स्मारक संस्कृति तथा अस्तित्वको संरक्षण र स्वतन्त्रता प्राप्तिका निम्ति बलिदानी दिने अमर सहिदहरूको सम्झनाका लागि स्थापित स्वरुपका रुपमा परिचित छ।
यहाँ सहिदका बारेमा पूर्ण रुपमा अध्ययन, अनुसन्धान र सहिदप्रति श्रद्धा अपर्ण गर्न मानिसहरू आउने गरेका छन्। यसको संरक्षण, सम्वर्द्धन र निरन्तरताबाट पर्यटकीय पूर्वाधारको विकास भएकाले वार्षिक ५ लाख भन्दा बढी पर्यटकहरू आउने गरेको स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपाने बताए।
हेटौंडाबाट पूर्वपश्चिम राजमार्ग हुँदै ४ किलोमिटरको दूरी पार गरेपछि पुगिने स्मारक नवलपुर सरस्वती (बसामाणी) सामुदायिक वन क्षेत्रको २० हेक्टर जमिनमा फैलिएको छ।
एउटै ढुंगामा १२ जना सहिदको प्रतिमा रहेको सहिद स्तम्भ यहाँको प्रमुख आकर्षणका रूपमा रहेको छ। २०५१ मा स्थापना गरिएको उक्त प्रतिमामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदहरूलाई समेट्ने गरी १२ सहिद र ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको छ। त्यस्तै २०५१ मा मनामोहन बाटिकाको स्थापना गरिएको थियो।
स्मारक परिसरमा जननेता मदन भण्डारीको स्मृतिमा उनको दुर्घटनाबाट मृत्यु भएको स्थान दासढुंगाको दृश्य प्रतिबिम्बित हुनेगरी निर्माण गरिएको मदन स्मारक, जनमुखी नेताका रुपमा चिनिने रुपचन्द्र विष्टको स्मृतिमा ‘निश्पक्ष सक्रियताको अभ्यास थाहा’ लेखिएको थाहा स्तम्भ रहेको छ।
स्मारक परिसरमा पर्यटकहरू एकैसाथ बस्न, घुम्न, र फोटो खिच्न मिल्ने गरी आकर्षक बगैँचा, आर्कब्रिज, आराम गर्ने कुर्सीहरू र वरपिपल चौतारीसहितको मैत्री पार्क, मालाकार क्यारी, आधुनिक झोलुङ्गे पुल, झरना पार्क, पौडी पोखरी, बालबालिकाको लागि मनोरञ्जन पार्क निर्माण गरिएको छ।
यहाँ करिब ३ विगाहा क्षेत्रफलमा चिडियाघर रहेको छ। जहाँ संसारकै सबैभन्दा ठूलो चरा अस्ट्रीजसहित २ दर्जनभन्दा बढी जीव जनावर रहेका छन्।
जिल्लाको पर्यटकीय स्थलको सूचना केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अनुसार पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ। ऐतिहासिक प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र मनमोहन अधिकारीको पूर्णकदको प्रतिमा पर्यटकको रोजाइको प्रमुख थलोका रूपमा रहेको छ।
यहाँ धरहरा पार्क, ६५ फिट अग्लो र १९ मिटर चौँडाइको सहिद स्तम्भ, पिकनिक स्थल, रजत जयन्ती स्तम्भ, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क, प्रेमलाल स्मृति प्रतिक्षालय, विश्राम स्थल, आवासीय सेमिनार हल, धार्मिक अनुष्ठान तथा विवाह ब्रतबन्धका लागि विवाह मण्डप निर्माण गरिएको छ।
स्मारक परिसरमा पर्यटकहरूले घोडचढीको आनन्द लिने गरेका छन्। बुद्ध प्रतिमा, एक सिंङे गैंडा र लैनो गाईको प्रतिमाले पर्यटकहरूलाई लोभ्याउने गरेको छ।
विभिन्न कालखण्डमा सहादत प्राप्त गरेका सहिदका बारेमा प्रकाशित पुस्तक, जीवनी, लेख रचना र फोटोलगायतका सम्पूर्ण विवरण उपलब्ध हुने गरी सहिदका बारेमा अध्ययन अनुसन्धान एवं खोज गर्नका लागि सहिद अनुसन्धान केन्द्र स्थापना गरिएको छ।
त्यस्तै देवी मन्दिरका कारण धर्मप्रति आस्था राख्ने पर्यटक नियमित तथा दशैंमा दुर्गा पूजा गर्न आउने गरेका छन्। यस ठाउँको पुरानो नाम काभ्रेथली हो। बाँझो र सुक्खा गौचरणका रूपमा रहेको सो क्षेत्रमा २०४७ साउन ७ गते पुस्पलाल स्मृति दिवसको दिन वृक्षरोपण गरी सहिद स्मृति वनबाटिका नामकरण गरिएको थियो।
२०४९ पुस १७ गते तत्कालिन मकवानपुर जिल्ला परिषद् र हेटौंडा नगरपालिकाको निर्णय अनुसार यस क्षेत्रमा सहिद स्मारक निर्माण सुरु गरिएको हो। तत्कालीन जिल्ला विकास समितिका अध्यक्ष वीरबहादुर लामाले २०५० बैशाख १५ गते सहिद स्मारकको शिलान्यास गरेका हुन्। त्यतिबेला हेटौंडा नगरपालिकाका मेयर डोरमणि पौडेल थिए। उनै पौडेल स्मारकको संस्थापक र बहालवाला अध्यक्ष हुन्।
२०५१ माघ १७ गते २०४६ सालसम्ममा सहादत प्राप्त गर्ने सहिदको प्रतिमाको स्थापना गरिएको हो। स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको करिब २५ टनको विशाल ढुंगामा ललितकलाका पृथ्वि श्रेष्ठ, गोविन्द चौधरी र कमलेश महर्जनले ११ महिना लगाएर उक्त प्रतिमा निर्माण गरेका हुन्। उक्त प्रतिमा निर्माणको लागि तत्कालीन हेटौँडा नगरपालिकाले ९० हजार र जिल्ला विकास समितिले २५ हजार लगानी गरेको थियो।
जहाँ राष्ट्रिय एकीकरणका लागि देउथलको युद्धमा वीरगती प्राप्त गर्ने भक्ति थापा, राणाहरूको जहानिँया निरङ्कुश शासनको विरुद्ध जनतालाई मुक्त पार्न जीवन बलिदान गर्ने चार सहिदहरू क्रमशः, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंलालाल श्रेष्ठको मुखाकृति निर्माण गरिएको छ। त्यसैगरी सामन्त जमिदारको विरुद्ध लडेका भीमदत्त पन्त, पञ्चायती व्यवस्थामा प्रजातन्त्रका लागि लडेका यज्ञबहादुर थापा, पञ्चायती व्यवस्थाको विरुद्धमा लडेका विरेन राजवंशी, रत्न कुमार वान्तवा, मुनेश्वरी यादव र पञ्चायतकै विरुद्धको आन्दोलनमा गोली खाएका प्रभाकर पौडेलको मुखाकृति समावेश छ।
राज्यले प्रत्येक बर्ष माघ १६ गते सहिद दिवस मनाउने गरेको छ। यहाँ सहिद दिवसको दिन सहिदको प्रतिमामा माल्यापर्ण गर्दै सहिदप्रति श्रद्धा अर्पण गर्ने गरेको स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना बताउँछन्।
पार्कको संरक्षण तथा प्रशासनिक व्यवस्थापनका लागि ३१ जना कर्मचारी परिचालित भएका छन्। आन्तरिक आम्दानीबाट उनीहरूलाई पारिश्रमिकको व्यवस्थापन मिलाइएको कार्यालय प्रमुख न्यौपाने बताउँछन्। स्मारककै कारण सो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी २ सय भन्दा बढी घर परिवार लाभान्वित भएका छन्।
स्मारकको आफ्नै भू स्वामित्व भने छैन। वन कार्यालयसँग आफ्नै भू–स्वामित्वको लागि पहल गरिएको भए पनि हालसम्म सो क्षेत्र जिल्ला वन कार्यालय अन्तर्गत पर्दछ। समितिले विभिन्न संरचना निर्माण गर्दा वन अतिक्रमण हुने गरेको गुनासो आउने गरेको छ।