भारी वर्षाले जलमग्न दाङ, हुलाकी राजमार्ग अवरुद्ध
दाङ : भारी वर्षाका कारण दाङको देउखुरी उपत्यका भित्रका केही स्थान जलमग्न भएका छन् । पूर्वपश्चिम राजमार्ग छेउछाउका बस्तीहरूमा खहरे खोलाको बाढी पसेको हो।लमही नगरपालिका–१ मा रहेको कौडियाखोलामा आएको बाढी होमपाइप उद्योगमा पसेको छ ।
पानीको निकास नहुदा राजमार्ग उत्तर क्षेत्रका बस्तीहरू जलमग्न भएका छन् । यस्तै गढवा गाउँपालिका - ५ र ३ मा बाढीका कारण बस्तीहरु डुबानमा पर्ने जोखिम रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीले बताइन् ।
यस्तै राजपुर गाउँपालिका–५ मा १० वटा घर डुबानको जोखिममा रहेको र अहिले पानी घट्ने क्रममा रहेकाले केही समस्या टरेको प्रहरीले जनाएको छ । कालाकाटे सिक्टा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधिन सडकमा बाढीले असर पुर्याएको छ भने बन्दै गरेको पुलमा पनि क्षति पुगेको छ। 'बाढीका कारण आउजाउमा समस्या भएको छ,'प्रहरी प्रमुख वलीले भनिन्,‘पानी परिरह्यो भने जोखिम बढेर जाने देखिन्छ ।’