नेपाल चीनबीचको रुइला नाका तत्काल खुलाउने तयारीमा छौं : गृहमन्त्री
गोरखा : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन महिनाभित्रै उत्तरी गोरखामा बिओपी स्थापना हुने बताएका छन्।
मंगलबार गृह जिल्लाका पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले पहिलो चरणमा तिब्बतको सीमा क्षेत्रमा पर्ने चुमनुब्री-१ साम्दोमा बिओपी स्थापना गर्ने बताएका हुन्।
‘यही साउनभित्रै साम्दोमा बिओपी स्थापना हुनेछ’, उनले भने, ‘निर्णय भइसकेको छ। अब हेलिकोप्टर चार्टर गरेर सामान लैजान्छौँ। साउनको अन्तिमसम्म पनि कुर्नुपर्दैन छिट्टै हुन्छ।’ छेकम्पारतर्फ भने अहिले तत्काल बिओपी राख्ने निर्णय नभएको उनले बताए।
सोही वडाको रुइला नाका पनि तत्काल खुल्ने उनले बताए। ‘अहिले मात्र पनि चीनको प्रतिनिधिमण्डलहरूसँग पनि कुरा भएको छ। एम्बास्डरहरूसँग पनि कुरा भएको छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘नियमित कुराकानी भइरहेको छ। छिट्टै प्रक्रिया पूरा गरेर खुलाउँछौँ भन्नु भएको छ।’
चुमनुब्री ७ छेकम्पारतर्फको ङुइला नाकाका बारेमा पनि छलफल अघि नबढेको उनले बताए। यो मात्र नभै यसअघि ट्रेडिङ प्वाइन्टका रूपमा सञ्चालित नाकाहरू पनि खुलाउने विषयमा छलफल अघि बढिरहेको उनले बताए।