भ्रष्टाचार र बेथितिका विरुद्धमा सरकारले कडा कदम चालिरहेको छ : प्रधानमन्त्री प्रचण्ड
‘यो परिवर्तन असफल भयो भने राजनीतिक परिवर्तन मात्रै असफल हुँदैन, नेपाल राष्ट्र नै असफल हुने र दुर्घटनामा पर्ने खतरा रहन्छ’, उनले भने, ‘त्यसकारण देश र जनतालाई दुर्घटनाबाट बचाउन पनि यस पटक सरकारको नेतृत्वको हैसियतले कठोर कदम चाल्नै पर्छ भनेर महत्त्वपूर्ण काम थालिएका छन्।’
रोम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिका विरुद्धमा सरकारले कडा कदम चालेको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ इटाली आयोजित कार्यक्रममा उनले विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको बताएका हुन्।
उनले भने,‘वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको छ। नेपालमा थुप्रिएको बेथिती र विसङ्गतीको चाङ अन्त्य गर्ने विषय रातारात एक जनाले चाहँदैमा भइहाल्ने अवस्था छैन। विकृति र विसङ्गित अन्त्यका लागि सम्पूर्ण नेपालीको साथ आवश्यक रहेको छ। ’
नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहित विपरित र सङ्गठित अपराधका रुपमा काम भएको देखिएकाले सरकारले उक्त कदम चालेको बताए। उनले भने,‘शरणार्थी प्रकरणमा राष्ट्रहित विपरितको काम भएको देखियो, सरकारले फोहोर सफा गर्न यो कदम चालेको हो।’
प्रधानमन्त्री दाहालले ललिता निवास प्रकरणको छानविनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको बताए। उनले भने,‘यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो। यो प्रकरण ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफियागिरीको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ।’
उनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन नसकिए यसको औचित्य सावित नहुने बताए। ‘हामीले नेपालमा राजनीतिक परिवर्तन राजनीतिका लागि मात्र ल्याएको होइन, राष्ट्र र जनताको वृहत्तर हित हुने गरी पविर्तन ल्याउने भनेका हौँ’, उनले भने, ‘यदि जनताको जीवनस्तरमा परिवर्तन हुँदैन भने यसको दिगोपन र औचित्य पनि इतिहासमा सिद्ध हुँदैन।’
सात दशक लडेर ल्याएको परिवर्तनले राष्ट्र र जनताको हित गर्न सकेन भने त्यो दुर्भाग्य पूर्ण हुने बताए।‘यो परिवर्तन असफल भयो भने राजनीतिक परिवर्तन मात्रै असफल हुँदैन, नेपाल राष्ट्र नै असफल हुने र दुर्घटनामा पर्ने खतरा रहन्छ’, उनले भने, ‘त्यसकारण देश र जनतालाई दुर्घटनाबाट बचाउन पनि यस पटक सरकारको नेतृत्वको हैसियतले कठोर कदम चाल्नै पर्छ भनेर महत्त्वपूर्ण काम थालिएका छन्।’
नेपालमा उत्पादित सामग्रीले युरोपको बजार पाउन नसकेको, राहदानीसम्बन्धी समस्या, इटालीले ल्याउने मौसमी कामदारको सूचीमा नेपाल नसमेटिएकालगायत गैरआवासीय नेपालीले उठाएका विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ थियो।
संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनले आयोजना गरेको कार्यक्रमको दौरानमा इटालीका प्रधानमन्त्री र राष्ट्रसङ्घका महासचिवसँग अनौपचारिकरुपमा महत्त्वपूर्ण कुराकानी भएको जानकारी दिँदै उनले आफूले औपचारिक कार्यक्रममा दिएको वक्तव्यपछिको प्रतिक्रिया पनि निकै सकारात्मक भएको पाएको बताए। ‘अब इटाली सरकारसँग नेपाल सरकारको सम्बन्ध अझ गहन हुने र अगाडि बढ्ने विश्वास लिएको छु’, उनले भने, ‘तपाईंहरु (एनआरएन)ले उठाएका विषय सम्बोधनको पहलका लागि आधार मिलेको छ।’
इटालीमा रहेका नेपालीले यहाँ आइपुग्दा र इटाली रहँदा भोगेका समस्या बारेमा आफूले नजिकबाट जान्ने मौका पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपालीले भोग्दै आएका समस्या समाधानका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।