धुलिखेलमा खुल्यो ‘दुसित थानी’

धुलिखेलमा खुल्यो ‘दुसित थानी’
सुन्नुहोस्

काभ्रे : काभ्रे जिल्लाको धुलिखेलमा लग्जरी ब्रान्डेड रिसोर्ट ‘दुसित थानी हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ। विश्वप्रसिद्ध होटल ब्रान्ड दुसित थानीको व्यवस्थापनमा धुलिखेलमा हाइ इन्ड रिसोर्ट खुलेको हो।

दुसितको फ्ल्यागसिप फाइभ स्टार ब्रान्ड ‘दुसित थानी’ नेपालमै पहिलोपल्ट सञ्चालनमा आएको हो। बौद्ध धर्मावलम्बीको तीर्थस्थल नमोबुद्ध नजिकै पात्लेखेलको शिखरमा निर्माण भएको दुसित थानी ६३ रोपनी क्षेत्रमा फैलिएको छ। होटल अवस्थित क्षेत्रको सुन्दरता र प्राकृतिक मनोरम दृश्यले पाहुनालाई लोभ्याउँछ। थाइल्यान्डको अग्रणी होटल र प्रपर्टी डेभलपमेन्ट एजेन्सी दुसित इन्टरनेसनलको व्यवस्थापनमा सञ्चालन हुने रिसोर्टले दुसितको थाई–प्रेरित आतिथ्यता र स्थानीय संस्कृति र परम्परामार्फत सत्कार गर्नेछ। थाई भाषामा दुसित थानीको अर्थ ‘स्वर्गको सहर’ हुन्छ। जसलाई होटलको मनमोहक प्राकृतिक दृश्य, प्रकृति र संस्कृतिको अद्वितीय सम्मिश्रणले पुष्टि गर्दछ।

दुसित थानी हिमालयन रिसार्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक घण्टा तथा भक्तपुर दरबार स्क्वायरबाट २५ किलोमिटरको दूरीमा छ। दुसित थानीले नेपालमै पहिलोपल्ट बटलर सुविधा दिनेछ। अर्थात् हरेक पाहुनाका लागि होटलले एक समर्पित व्यक्ति उपलब्ध गराउनेछ। पाहुनाको सबै ख्याल बटलरले राख्नेछन्।

होटलको प्रारम्भिक उद्घाटन कार्यक्रममा लगानीकर्ता रमेश हमाल तथा मर्भेन्द्र मोर परिवार (ओमस्टोन एसिया क्यापिटल) र दुसित ग्रुपकी प्रमुख कार्यकारी अधिकृत खुनसुफाजी सुथुम्पुनले होटलका महाप्रबन्धक क्रिस पान्यालाई होटलको साँचो प्रदान गरे।

हालका लागि होटलले २८ कोठामार्फत सेवा दिनेछ। जसमा चारवटा जुनियर सुइट र १८ विलासी आवास उपलब्ध छन्। आराम, सुन्दरता र आधुनिक सुविधाको सामञ्जस्यपूर्ण मिश्रणस्वरूप होटलका कोठा ४७ देखि ५७ वर्गमिटरसम्मका छन्। होटलका पाहुनाले पाँचखाल उपत्यका र १८० डिग्रीमा हिमालयन पर्वत शृंखनाको मनोरम दृश्यावलोकन गर्ने अवसर पाउनेछन्। दोस्रो चरणमा रिसोर्टमा थप २६ कोठा बन्नेछन्। यसरी कुल कोठाको संख्या ७२ पुग्नेछ।

दुसित थानीमा उपलब्ध दुसितको सिग्नेचर देवराना वेलनेसले व्यक्तिगत प्राथमिकता र आवश्यकताअनुसारको वेलनेस सुविधा दिन्छ। देवाराना वेलनेसमार्फत पुरानो थाई र परम्परागत हिमालयन हिलिङ थेरापीको सम्मिश्रणको स्पा ट्रिटमेन्ट प्रदान हुन्छ। होटलका पाहुनाले इन्फिनिटी स्विमिङ पुल र आउटडोर ज्याकुजीबाट हिमाल र पाँचखाल उपत्यकाका मनोरम दृश्यावलोकन गर्न पाउनेछन् भने पूर्ण स्वास्थ्य अनुभवको लागि स्टिम, सौना र फिटनेस सेन्टर सुविधाको भरपूर उपयोग गर्न सक्नेछन्।

पाहुनाका लागि असाधारण पलहरू सिर्जना गर्ने दुसितको प्रतिबद्धता अनुरूप, रिसोर्टले प्रदान गर्ने अर्को अद्वितीय अनुभव हो, डाइनिङ। अवार्ड विजेता एक्जुकेटिभ सेफ भावी खनालको नेतृत्वमा बहुमुखी मल्टिकुजिन गन्तव्य थान र एक जीवन्त पुलसाइड बार बेलामा लोभलाग्दो भोजन विकल्प उपलब्ध हुनेछ। होटलका मेनु तथा ककटेलहरू स्थानीय स्रोत सामग्री र कुशलतापूर्वक क्राफ्ट गरिएका छन्।

रिसोर्टले विविध कार्यक्रम आयोजना गर्न पर्याप्त स्पेस प्रदान गर्दछ। जमघट तथा उत्सवका लागि ३ सय ५० पाहुना अटाउने लुम्पिनी बलरुम उपलब्ध छ। बलरुमसँगै उपलब्ध ५ सय ४० वर्गमिटरको घाँसे मैदानमा बृहत्तर सेवा प्राप्त गर्न सकिन्छ।

होटलमा साना जमघट तथा सेमिनार आयोजना गर्न दुई बैठक कोठा उपलब्ध छन्। दुसित थानी हिमालयन रिसोर्टको उद्घाटनले धुलिखेलको आतिथ्यता ल्यान्डस्केपमा रोमाञ्चक अध्याय सुरुवात भएको होटलका महाप्रबन्धक क्रिस पन्याले बताए। ‘हाम्रो मूल मूल्यलाई प्रतिविम्बित गर्ने यो भव्य मञ्चको अनावरण गर्न पाउँदा हामी हर्षित छौं,’ पान्याले भने, ‘हामी सबै पाहुनालाई आफ्नै परिवारको सदस्यझै व्यवहार गर्नेछौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.