पोखरीमा डुबेका बालकको मृत्यु
विराटनगर : मोरङको बूढीगंगामा खेल्ने क्रममा पोखरीमा खसेर डुबेका नाबालकको मृत्यु भएको छ । घरनजिकको पोखरीमा डुबेर बूढीगंगा गाउँपालिका–३ का कृष्ण मगरका छोरा ३ वर्षीय कृषको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
उनका अनुसार नाबालकलाई पोखरीमा डुबेको अवस्थामा स्थानीय १२ वर्षीय सविन तामाङले देखेर आमा रमिता मगरलाई खबर गरेका थिए।
घाइते अवस्थामा उद्धार गरेर मंगलबार दिउँसो २:४५ बजेतिर नाबालकलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो । गम्भीर घाइते नाबालकको उपचारकै क्रममा मृत्यु भएको डीएसपी दाहालले बताए ।
घटनाको अनुसन्धान सुरू गरिएको छ ।