हेटौंडा बजारको सडक विस्तार कार्य फेरि रोकियो
हेटौंडा : वर्षौंदेखि रोकिँदै आएको हेटौंडा बजार क्षेत्रको सडक विस्तार कार्य पुनः अन्यौलमा परेको छ।
पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सो सडकखण्ड विस्तार कार्य तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै विस्तार कार्य फेरि रोकिन पुगेको हो।
सडक डिभिजन हेटौंडाले ३५ दिने सूचना जारी गरी साउन १६ गतेबाट सडक विस्तारको तयारी गरेको थियो। तर अदालतको आदेशले विस्तार कार्य पुनः अन्यौलतातर्फ धकेलिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाई विजयलाल जोशीले पेश गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश अनिल कुमार सिन्हाको इजलासले मन्त्रालयसँग सडक विस्तारको विषयमा १५ दिन भित्र लिखित जवाफ माग गरेको छ।
‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारण सहित बाटोको म्याद बाहेक सूचना म्याद पाएका मितिले १५ दिनभित्र प्रत्यर्थी नं. १, २, ३, ४, ५, ६, ७, ८, ९ ले महान्यायाधिवक्ताको कार्यालय मार्फत् र प्रत्यर्थी नं. १० ले आफैं वा आफ्नो कानुन बमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी प्रस्तुत आदेश र रिट निवेदनको एक एक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला,’ आदेशमा उल्लेख छ।