संसदमा रवि लामिछानेको प्रश्न- सुन तस्करी प्रकरणमा सरकारले कर्मचारीलाई नथुनेर किन सरुवा गर्छ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन तस्करी हुनु सामान्य भइसकेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आम नेपाली जनताले सुन तस्करीबारे बानी पारिसकेको व्यंग्य गरे।
उनले यस्ता तस्करीका घटनामा सरकारले कर्मचारीलाई सरुवा गरेर कारबाही गर्छ कि पुरस्कार दिन्छ भन्दै प्रश्न गरे। उनले त्यस्ता कर्मचारीलाई तत्काल बर्खास्त गरी थुन्न माग गरे।
'क्विन्टलका क्विन्टल सुन आउनुमा नेपाली जनताले अचम्म मानेका छैनन्। नेपालीले थाहा पाइसके। बानी पारिसके। यस्ता घटना आउँछ। तर सरकारले कर्मचारीको सुरुवा गर्छ। सरुवा कारबाही गरिएको हो कि पुरस्कार गरेको हो? बर्खास्त गर्नुपर्ने होइन र? थुन्नुपर्ने होइन र?,' लामिछानेले प्रश्न गरे।
उनले कर्मचारीलाई सरुवा गर्दा अनुसन्धान प्रभावित गर्ने समय मिल्ने बताए। उनले ट्याक्सीबाट बरामद गरिएको सुन मालिकसम्म किन पुर्याइएन भन्दै प्रश्नसमेत गरे। 'सरकारलाई सूचना आएको थियो ठीक छ। भरियामात्र समाउनु थियो र ट्याक्सी समातियो। मालिकसम्म पुगेपछि मालिकलाई पनि समातिन्थ्यो होला नि। तर किन गरिएन?,' उनले भने।
उनले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको स्मरण गराउँदै त्यसलाई तत्काल अगाडि बढाउन सभामुखलाई आग्रह गरे। उनले सुन तस्करी प्रकरणमा गृहमन्त्री र सम्बन्धित निकायले जवाफ दिनुपर्ने बताए।
'यस प्रकरणमा गृहमन्त्री र सम्बन्धित निकायले जवाफ दिनुपर्छ। सरकारले हकेर कुराको सुरुवात त गरेको छ। तर बीचमै कहीँ लगेर गिजोलेको छ। हाँगाबिगा काटेर सरकारले अनुसन्धानमा आलटाल गरेको छ,' उनले भने।