एलओडीका म्यानेजरसहित ३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं : बालिकालाई क्लब प्रवेशमा अनुमति दिएको कसूरमा ठमेलस्थित एलओडी ‘लर्ड अफ ड्रिङस’का म्यानेजरसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेका अनुसार एलओडीका म्यानेजर सहदेव सेढाइ र काउन्टरमा काम गर्ने सपना ढुंगानासहित ३ जनाविरुद्ध बालबालिकासम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।
नेउपाने भन्छन्, 'क्लबका सञ्सञ्चचाकद्वय राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठविरुद्ध मुदा नचल्ने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ।' घटना घटेको समयमा क्लबमा उनीहरूको उपस्थिति नदेखिएको हुँदा उनीहरूविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको नेउपानेले बताए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले एलओडीका म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानासहितलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
एलओडीमा के भएको थियो?
गत जेठ ३१ गते एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएकी थिइन्। बालिकाले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराएकी छन्। नाबालिग बलात्कारको जाहेरीमा ललितपुर प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ। यही घटनापछि आफ्नो कार्यक्षेत्रमा घटना घटेको भन्दै प्रहरी परिसर काठमाडौले बालबालिका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। घटनाको अनुसन्धानका लागी एलओडीका म्यानेजर र कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो।
घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ। यही प्रकरणमा यसअघि एलओडीका सञ्चालक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए। तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरू जिम्मा जमानीमा बेला उपस्थित हुने गरी छुटेका छन्।