डेंगु संक्रमणले धरानमा सात जनाको मृत्यु, बीपी प्रतिष्ठानमा छुट्टै डेंगु अस्पताल सञ्चालन
धरान : डेंगु रोगको संक्रमणका कारण धरान उपमहानगरपालिकामा ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र ३ पुरुष रहेको धरान उपमहानगरपालिकाका स्वास्थय महाशाखा प्रमुख उमेश मेहताले बताएका छन्।
धरानमा बुधवार उनि एकजना डेंगु संक्रमितको मृत्यु भएको छ। यस अगाडि डेंगु संक्रमित जेठ ३० गते धरान १७, असार १५ गते धरान ११ साउन २ गते धरान १८ र साउन ३ गते धरान ५ का एक-एक जना महिलाको मृत्यु भएको छ। त्यस्तै साउन २ गते धरान ११, साउन ७ धरान २ र साउन ८ गते धरान १० का एक पुरुषको मृत्यु भएको मेहताले बताएका छन्।
धरानमा डेंगु रोगको संक्रमणले महामारीको रुप लिएपछि बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएर उपचार सुरु गरेको छ। डेंगु रोगका संक्रमित विरामीहरूको संख्या दैनिकरूपमा वृद्धि हुन थालेपछि विरामीको उपचारलाई सहज बनाउनको लागि छुट्टै डेंगु अस्पताल सञ्चालन गरी विरामीको उपचारलाई सहज पारिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले बताए। उनले प्रतिष्ठानको कोभिड अस्पताल भएको स्थानमा २८ बेडको डेंगु अस्पताल सञ्चालन गरिएको बताए। डा. कार्कीले डेंगु अस्पतालसँगै विरामीको संख्या वृद्धि भए प्रतिष्ठानको आकस्मिक कक्षमा विरामी भर्ना गरि उपचार गर्ने गरिएको बताए। प्रतिष्ठानले डेंगु संक्रमित विरामीको उपचार सशुःल्क गर्ने गरेको र डेंगु परीक्षण निःशुल्क गरिएको डा. कार्कीले जानकारी दिएका छन्।
प्रतिष्ठानमा ३८ जना डेंगु संक्रमित विरामीको उपचार भइरहेको पनि डा. कार्कीले बताए। विजयपुर हस्पिटलमा ४३ जना डेंगु संक्रमित विरामीको उपचार भइरहेको निर्देशक प्रभाव खतिवडाले बताए। धरानको ८ को श्रेष्ठ मेडिकलमा देनिक २० जना डेंगुका विरामी उपचारमा आउने गरेको सञ्चालक उमा श्रेष्ठले बताएकी छन्।
धरानकै विरेन्द्र मेडिकलमा पनि दैनिक १५ जनालाई डेंगु संक्रमण देखा परेको सञ्चालक चन्द्र फोम्बोले बताए। धरानमा डेंगु संक्रमितको संख्या वृद्धि भएपछि जनता समाजवादी पार्टीले दैनिक लामखुट्टे मार्ने अभियान सञ्चालन गरेको छ। जसपा धरानका अध्यक्ष ताजुव लिम्बुले धरानको ११, १२,९,१५ र १७ नम्बरमा लामखुट्टे मार्ने अभियान सम्पन्न गरिएको र संक्रमितहरूलाई निःशुल्क औषधि वितरण गरिएको बताए।