रेडी ट्रेडको गोदाममा छापा, ६६ बक्स ब्रेक सु बरामद
काठमाडौं : त्रिभुवन विमानस्थलबाट भन्सार पास गरी बाहिरिएको १०० केजी सुन प्रकरणमा बुधबार पुनः ६६ बक्स ब्रेकसु बरामद भएको छ। राजस्व अनुसन्धान विभागसँग रहेको सशस्त्र प्रहरीको टोलीले सोह्रखुट्टेमा रहेको ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा मारेको थियो।
यस क्रममा ६६ बक्स ब्रेकसु र केही सुटकेससमेत बरामद गरिएको थियो। स्कुटर र मोटरसाइकलमा लाग्ने ब्रेकसु मा लुकाएर ल्याएको अवस्थामा यसअघि १०० केजी सुन बरामद भएको थियो।
गोदाममा छापा मार्ने क्रममा कुनै अबैध वस्तु फेला नपरेको राजस्व विभागले बताएको छ। अन्नपूर्णलाई प्राप्त स्रोतका अनुसार ‘रेडी ट्रेड प्रालि’ हङकङबाट सुन मगाउने कम्पनी हो। पक्राउ परेकाहरूको बयान लिने क्रममा विभागको टोलीले यो गोदाममा पहिल्यैदेखि तस्करले सुन ल्याउने र रिप्याक गर्ने गरेको सूचना प्राप्त गरेको थियो।
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार नै हुण्डी कारोबारमा समेत संलग्न अडुकियाको कमलपोखरीस्थित घरमा छापा मारेको छ । उक्त समयमा राकेश भने घरमा थिएनन्। विशेष स्रोतका अनुसार व्यवसायी राकेसको हङकङबाट सुन ल्याएर भारत पठाउने भूमिका रहेको थियो। भारतीय नागरिक राकेस लामो समय नेपालमा बसेर व्यवसाय गरिरहेका छन्। उनी नेपालमा टेस्ला गाडीको आधिकारिक बिक्रेतासमेत हुन्। यस्तै, चाँदीको व्यापार र शेयर कारोबारमासमेत उनको लगानी छ।
यसैक्रममा नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ परेका छन्। उनीसँगै सुनकाण्डमा पक्राउ पर्नेहरू १७ जना पुगेका छन्। तामाङले सुन तस्करी गतिविधिमा संलग्न भएको शंका लागेर पक्राउ गरिएको हो। बयानका क्रममा पक्राउ परेकामध्येले तामाङको नाम लिएपछि उनी पक्राउ परेका हुन्।
विभागका तीन जना निर्देशक सहितको टोलीले पक्राउ परेकाको बयान लिइरहेको छ।