जैविक विषादी प्रयोगशाला
रुकुम पूर्व : जिल्लाको भूमे गाउँपालिका-२ खाबाङबगरमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जैविक तथा वनस्पति विषादी प्रयोगशालाको निर्माण गरेको छ। भूमेको ३ नम्बर वडा तिलपारा भन्ने ठाउँमा सहकारीले प्रयोगशाला निर्माण गरेको हो।
रुकुम पूर्व जिल्ला प्रांगारिक जिल्लाका रूपमा घोषणा भइसकेको छ। औजार उपकरणको प्रयोग गरी स्थानीय स्तरमा उपलब्ध जैविक विषादीलाई उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त प्रयोगशालामा बाली बिरुवामा लाग्ने हानिकारक ढुसिजन्य रोगहरूको विरुद्धमा लाभदायक ढुसिद्वारा तयार गरिएको जैविक विषादीले रोग किराको व्यवस्थापन गर्नेछ।
यसले प्राङ्गारिक मलहरूमा परजीवीकरण गरी नियन्त्रण गरि रसायन उत्पादन गर्नमा समेत मद्दत पुग्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारका प्राविधिक अधिकृत तथा बाली रोग विज्ञ बसिष्ट आचार्यले बताए।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वले सतप्रतिशत अनुदानमा प्राविधिक सहजीकरण कच्चा पदार्थ र मेसिनरी औजार उपकरण गरी ६ लाख सहयोग गरेको छ।
यसैगरी भवन निर्माणका लागि गाउँपालिकाले ५ लाख र स्वयम् सहकारीबाट एक लाख ७ हजार गरी जम्मा १२ लाख ७ हजारको लगानीमा प्रयोगशाला निर्माण गरिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका अधिकृत छैटौं खिमबहादुर रोकायले जानकारी दिए।