कञ्चनपुरमा कल बाइपासमा संलग्न तीन जना पक्राउ
महेन्द्रनगर : प्रहरीले कल बाइपास गरेको आरोपमा कञ्चनपुरबाट तीन जनालाई पक्राउ गरेको छ। महेन्द्रनगरको गल्ली नम्बर ५ स्थित कोठा भाडामा लिएर कल बाइपास गर्दै आएका तीन जनालाई उपकरणसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको नयाँ दिल्लीका ४१ वर्षीय गुल्जार अहमद, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको प्रहरीले जनाएको छ।
अस्वभाविक रुपमा सिमकार्डहरू प्रयोग भएको थाहा पाएपछि ट्रेकिङ गर्दा अन्तराष्ट्रिय कल बाएपास गर्दै आएका खुलेपछि केन्द्रीय अनुसन्धान ब्युरो,जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल टेलिकमको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले प्रविधिको प्रयोग गरि कल बाइपास गर्दै आएका थिए।
केन्दीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक संजय सिंह थापाले कल बाइपासमा विदेशबाट आएको फोन नेपालकै नम्बरबाट आएको देखिने बताए।
उनले बल बाइपासले आपराधिक गतिविधिको अनुसन्धान गर्न समेत समस्या हुने गरेको बताए। पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
प्रहरीले उनीहरूको कोठाबाट ०९९५९७००० को ल्याण्डलाइन, ६० लाइन क्षमताको कनेक्सन उपकरण, गेट वे सर्भरको सिपियू एक थान, वाईफाई राउटर एक थान, वर्ल्ड लिंकको वाईफाई राउटर एक थान, ल्यापटप दुई थान, मनिटर एक थान र मोबाइल तीन थानलगायत अन्य उपकरण पनि बरामद गरेको छ।