सिन्धुलीको घ्याङलेख गाउँपालिका बिहान ८ देखि बेलुका ७ बजेसम्म खुल्ने
सिन्धुली : सिन्धुलीको घ्याङलेख गाउँपालिकाले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिन थालेको छ। गाउँपालिकाले सेवाग्राहीको हितमा ध्यान दिएर नेपाल सरकारले तोकेको भन्दा थप चार घण्टा अतिरिक्त सेवा प्रदान गर्न थालेको हो।
यसअघि बिहान १० बजेदेखि साँझ ५ सम्म सेवा प्रदान गर्दै आएको कार्यालयले साउनको पहिलो सातादेखि बिहान दुई घण्टा र साँझ दुई घण्टा समय थप गरेर सेवा प्रवाह गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए।
यसका लागि पालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममै कार्यालयको अतिरिक्त सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, लेखा शाखाका प्रमुख लगायतका कर्मचारीहरू बिहान ८ बजे नै कार्यालय पुग्ने गरेका छन्।
कार्यालयमा बिहान र बेलुका अतिरिक्त काम गर्ने कार्यालय सहयोगीहरूलाई भने दिउँसो काममा नआउँदा पनि हुने बताइएको छ।