सिन्धुलीमा जम्मा ७३ प्रतिशतमात्र रोपाइँ सम्पन्न
सिन्धुली : साउनको दोस्रो साता हुँदा पनि सिन्धुलीमा जम्मा ७३ प्रतिशत मात्र धान रोपाइँ सकिएको छ। पर्याप्त वर्षात् नहुँदा जिल्लामा धान रोपाइँ कम भएको हो।
सिन्धुलीमा वर्षे धान खेती हुने क्षेत्रफल १५ हजार ९ सय हेक्टर हो। त्यसमध्ये हालसम्म ७३ प्रतिशत अर्थात् ११ हजार ६ सय ७ हेक्टरमा मात्र रोपाइँ सकिएको हो।
यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले कमी हो। सिन्धुलीमा अघिल्लो वर्ष यो समयमा झण्डै ९६ प्रतिशत रोपाइँ सकिएको थियो। यो वर्ष ढिला मनसुन भएका कारण धान रोपाइँ पनि ढिला भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका सहायक प्राविधिक रामप्रसाद पाण्डेले बताए।
‘असारको अन्तिम सम्ममा ७५ प्रतिशत रोपाइँ सम्पन्न हुनुपर्नेमा जिल्लामा ५८ प्रतिशत मात्र सकिएको थियो। अहिलेसम्म जिल्लामा करिब ७३ प्रतिशत रोपाइँ सकिएको छ,’ उनले भने।
यति वेला रोपाइँ सकिसक्नु पर्नेमा जिल्लाको माढी फाँट, तीनपाटन, मरिण, कमलाखोंच, सुनकोशी गढतिर क्षेत्रका अधिकांश कृषकहरू धान रोप्न व्यस्त छन्। कुला नलाग्ने क्षेत्रका किसानहरू आकाशको पानी पर्खेर बस्दा पनि धान रोपाइँ कम भएको उनको भनाइ छ।
पर्याप्त मल तथा युवा जनशक्तिको अभावका कारण पनि समयमा रोपाइँ हुन नसकेको छैन। पानी अभावका कारण रोपाइँ गर्न नसक्दा धानको ब्याड नै फुल्न थालेको कमलामाई नगरपालिका ५ की किसान सिता विकको गुनासो छ।