ऊ घरबाट बाहिर निस्की
पहिलोपटक !
सरकार खोज्दै
बलात्कृत छोरीका लागि
न्यायको गुहार माग्दै,
मिटरब्याजी सुदखोरको
खुनी नंग्राको घाउ बोकेर
सहायताको भीख माग्दै।
परार सालको आगलागीमा
जलेको झुपडीको क्षतिपूर्ति
माग्दा पनि नपाएपछि
बेवास्ताको जवाफदेहिता माग्दै
खाली पैताला खियाउँदै
ऊ सरकार खोजिरहेकी छ
यात्रामा अबिरल बगिरहेकी छ ।
पाँचवर्षे छोरीको दिवा खाजा
स्कुलका हेडमास्टर र अध्यक्षले
भट्टीमा लगेर सोमरससँग निलेपछि
त्यसकै हिसाब खोज्दै।
औंला भाँच्दै समयको अन्तरालमा
भुत्ते भएको स्मृतिको छिनोले
बिर्सिएका नम्बरहरू
दिमागमा खोप्दै
गह्रुँगा पाइला गह्रुँगो मन
धुलो र पसिनाले छोपिएको तन
चुहिने झुपडी ज्यानमारा धन।
याद भन्नु के नै रहेछ र ?
आफूले गुमाएका
आफूले पाउन नसकेका
अरूले पाएको देखेका
आफूले पाउने आस गरेका
सपनाको चिहान त रहेछ।
ऊ थप सपनाको चिहान बनाउन
राजी छे, न्याय अनि हिसाबबिना
जवाफदेहिताबिना
अनि जवाफबिना
घर फर्किन राजी छैन।
अहँ, ऊ गाउँ फर्किन राजी छैन।