लुकुमको झाँक्रीमेला

संस्कृति

लुकुमको झाँक्रीमेला

मगरहरूको दर्शन, इतिहास, आदिवासी ज्ञान र सीप स्थानीय झाँक्रीहरूमा छ। उनीहरूले स्थानीय रूपमा सयौं औषधिजन्य बोटबिरुवालगायत स्थानीय प्रकृति चिनेको हुन्छ।

मगर गाउँहरूतिर साउने संक्रान्तिको आसपासमा झाँक्रीहरूको मेला लाग्छ। त्यहाँ झाँक्रीहरूले रोगव्याधि ल्याउने राक्सो वा खराब तत्त्वहरूलाई मन्छाएर गाउँहरूमा डेसान (महामारी) आउन रोक्ने परम्परा छ। हुन त झट्ट सुन्दा यो परम्परा अवैज्ञानिक र अन्धविश्वास लाग्छ। तर, झाँक्री मेलाले मगर बस्तीहरूको समाज व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका पाइन्छ। मगरहरूको मनोबल तथा मनोसामाजिक अवस्थालाई उच्च पारेको हुन्छ। 

पूर्वी रुकुमको भुम्या गाउँपालिकामा पर्ने लुकुम गाउँमा साउने संक्रान्तिमा ‘लुतो फाल्ने’ संस्कृति गर्दै साँझ राँको बालेर गाउँ नै झिलिमिली बनेको दृश्य मनमोहक बन्छ। त्यसपछि दोस्रो दिन झाँक्री मेलाको तयारी गरी तेस्रो दिन झाँक्री मेला लाग्छ। लुकुममा झाँक्री मेला हेर्नका लागि सहरी क्षेत्रबाट मानिसहरू जाने गरेको पनि पाइन्छ। साउनको पहिलो हप्ताभरि चाडको रूपमा मनाइने भएकोले गाउँमा सहरतिर झरेका मानिसहरू पनि गाउँमा फर्केर चाडबाड मान्ने प्रचलन पाइन्छ। 

झाँक्री मेलाको दिन मेला हेर्नुका साथै सो दिन मेलामा सिस्नोले हानाहान गरिन्छ। अतिथिलाई सिस्नोको माला लगाइन्छ। त्यसको भोलिपल्ट हिलो छ्यापछ्याप तथा हिलो खेलेर आफ्नो शरीरलाई रोगव्याधिसँग प्रतिकार गर्नको लागि तयार पारिन्छ। 

मगरहरूको सांस्कृतिक दर्शन प्रकृति पूजक भएकोले उनीहरूको मुख्य पूजाआजाहरू पितृ र प्रकृति हुने गर्छ। मगरहरूले थान बनाई पूजा गर्ने अधिकांश पितृ तथा प्रकृतिको गाउँबस्तीअनुसार नाम फरक हुन सक्छ। तर, सबैको भित्री रूप खोतल्यो भने कुनैकुनै नाम गरेको वा नाम बिर्सिसकेको पुर्खा वा पितृ अथवा आफू बसोबास गरेको प्रकृति हुन्छ। यस्तो पृष्ठभूमि बोकेको मगर समुदायमा झाँक्रीहरूको ठूलो महत्त्व थियो। 

विशेष गरेर ऐतिहासिक कालमा मगर बस्तीहरूमा आधुनिक चिकित्सा नहुँदा परम्परागत चिकित्सकहरू झाँक्री थिए। उनीहरूले बिरामीको आत्मबल बढाउन विभिन्न प्रयत्न गर्नुका साथै स्थानीय औषधिजन्य जडीबुटीहरूको प्रयोगबाट उनीहरूले मानसिक, आध्यात्मिक, सामाजिक तथा शारीरिक स्वास्थ्य सेवा दिएर योगदान गरेका थिए। यो इतिहास मगरहरूको बस्ती भएको भू–भागको हो। सप्तगण्डकी प्रश्रवण क्षेत्रमा बाटोघाटोको विकास, शिक्षा तथा आमसञ्चारको विकास र आधुनिक स्वास्थ्यको विस्तारले यो संस्कृति लोप भइसकेको भएता पनि, राप्ती तथा भेरी नदीको प्रश्रवण क्षेत्रमा झाँक्री संस्कृति ओरालो बाटोमा लागे  पनि जीवित छ। लुकुमको झाँक्री मेला मगर संस्कृतिको यही अवशेष हो।

लुगुमको परम्परागत जीवनयापन

पुर्वी रुकुमको भुम्या गाउँपालिकाअन्तर्गत पर्ने लुकुम गाउँ आधुनिक भौतिक विकासको बाछिटा मगरहरूको बस्तीमा नआइपुग्दै चरम रूपमा विकास भएको मगर सभ्यता हो। गाउँको व्यवस्थित घर, खानेपानीको व्यवस्था, पशुपालनको व्यवस्था तथा खेतीपाती गर्ने जमिनको व्यवस्था आदि कुराहरू निकै व्यवस्थित थिए। 

चरीचरन प्रशस्त भएकोले पनि भेँडा, बाख्रा, गाई, भैंसी, कुखुरा, सुँगुर आदि पालेर पशुधन गतिलो आर्थिक स्रोत भएको कुरा स्थानीय बताउँदछन्। भेँडा चराउनको लागि जाडो याममा दाङ भालुबाङ हुँदै माघे संक्रान्तिको आसपास पूर्वतिर रिडी पुगेर गर्मीयाममा ढोरपाटन हुँदै डोल्पाका हिमाली भेगमा पुग्ने कथाहरू आज पनि ज्येष्ठ नागरिकहरू बताउँछन्। आधुनिक भौतिक विकास र बसाइँसराइ तथा सरकारले व्यवस्था गरेको सामुदायिक 
वन, निकुञ्जहरूले गर्दा यो भेंडी गोठहरू तथा लोम्बा प्रचलन घटेको छ। 

पुर्खाहरूले बस्तीको नजिकै सयौं वर्ष अगाडि विशेष जात धुपी–सल्लाका रुखहरू रोपेर संरक्षण गरेको पनि लुकुममा देख्न सकिन्छ। यसैगरी शदीयौंदेखि मगर संस्कारअनुसार मृतकलाई गाड्ने गरिएको चिहान (खादर) आजसम्म पनि सुरक्षित छ। चिहानमा पनि झाँक्री (रम्मा)हरूलाई गाड्ने ठाउँ र सर्वसाधारणलाई गाड्ने ठाउँ छुट्टाछुट्टै क्षेत्र तोकिएको पाउन सकिन्छ। मृतर झाँक्री (रम्मा)लाई विधिविधानसहित झाँक्री चिन्ता बस्दाको आसनमा गाडिने प्रचलन रहेछ। तर पछिल्लो समयमा गाउँबाट व्यापक बसाइँसराइ भएको त्यहाँका खालि घरहरू र बाँझो जमिनले प्रष्ट बोल्दछ। 

लुगुम गाउँको झाँक्री नाच मेला

मगरहरूको आदिम भू–भागमा धेरैजसो स्थानमा झाँक्रीको मेला, झाँक्रीहरूलाई दीक्षित गर्ने समारोहजस्ता परस्परागत ज्ञान हस्तान्तरण र परम्परागत शिक्षा प्रणाली हराइसकेको छ। भौतिक विकास निर्माण, आधुनिक शिक्षाको विकास, आधुनिक आमसञ्चार (मिडिया)को विकास तथा राजनैतिक परिवर्तनहरूले गर्दा मगर सभ्यतामा पनि धेरै फेरबदल आयो। यसले गर्दा पूर्वी रुकुमका केही गाउँहरू, बागलुङको ढोरपाटन आसपासका गाउँहरू र केही रोल्पा जिल्लाका गाउँहरूमा अवशेषको रूपमा रहेको पाउन सकिन्छ। null

यही अवशेषको रूपमा लुगुम गाउँमा पनि झाँक्री मेला, झाँक्रीको दीक्षान्त समारोह गर्ने प्रचलन छ। गाउँमा कुनै पनि मानिसले नयाँ झाँक्री उत्पत्ति भएको घोषणा गरेमा, सो व्यक्तिलाई झाँक्रीहरूको काउन्सिलले सार्वजनिक ठाउँमा परीक्षा लिने प्रचलन हुन्छ। त्यस्तो प्रचलनमा परीक्षार्थीले नदेख्ने र सुइँको नपाउने गरी (१) कौडा (झाँक्रीको पोसाकमा हुने शंखेकिरा खपटा) (२) देवी देवताको नाम (३) झिरेनी (भाँडा धुने वा बच्चाको दिसापिसाब धुने ठाउँको माटो) राखिन्छ सो वस्तुहरूलाई घाँसमात्र खाएको गाईभैंसीको गोबरको पुरिन्छ। 

परीक्षार्थीले काँप्दै गएर कौडा छोएमा झाँक्री, देवीदेवताको नाम भएको थुप्रो छोएमा चोखा झाँक्री (बलि नदिने, रगत नपार्ने झाँक्री) र झिरेनी छोएमा आलाङमालाङ (मानसिक रोगी) भनेर छुट्ट्याइन्छ। परीक्षामा उत्तीर्ण नयाँ झाँक्रीलाई पाका पुराना झाँक्रीहरूले थप शिक्षादीक्षा दिएपछि कुनै 
पूर्णिमाको दिन थुम्बु बनाएर दीक्षित गर्ने प्रचलन छ। यसका साथै साउन महिनाको ३ गते झाँक्री मेला गर्ने प्रचलन छ। 

साउने संक्रान्तिका दिन लुतो फाल्ने, राँको जलाउनेजस्ता कार्यक्रम गरिन्छ भने २ गते झाँक्री मेलाको तयारी गर्ने गरिन्छ। यो दिनमा झाँक्री मेलाको लागि आवश्यक पर्ने कुखुरा, सरसामानहरू जुटाउने गरिन्छ। कार्यक्रमको तयारीको लागि दाजुभाइ खलकहरू आफ्नो तबिल (प्रमुख)को घरमा जम्मा भएर सरसल्लाह गर्छन्। त्यसपछि गाउँको तबिलकोमा पनि सरसल्लाह हुन्छ।
साउन ३ गते झाँक्रीमेलाको दिन। यस दिन पहिला झाँक्रीका भाञ्जा (सहयोगी)हरू झाँक्रीको सरसमान बोकेर झाँक्रीमेला स्थानमा पुग्छन्। आगो फुकेर ढ्याङ्ग्रो तताउँछन्। त्यसपछि झाँक्री नाचको सुरुवा गर्छन्। गाउँमा भाइ खलकको झाँक्री सिंगारेर घरबाट विधिवत् तरिकाले निकालेर प्रमुख (तबिल) झाँक्रीकोमा जम्मा हुन्छन् र सबै तारतम्य मिलेपछि झाँक्रीमेलाको स्थानमा विविधत् तरिकाले पुग्दछन्। भाञ्जाहरूले उनीहरूलाई आफ्नो ढ्याङ्ग्रो र आवश्यक सामानहरू दिन्छन्। त्यहाँ झाँक्रीहरू काँप्दछन्। त्यसपछि झाँक्री नाचस्थानमा नौ पटक वरपर गरी नाच नाच्छन्। 

त्यसपछि उनीहरूको टाउकोमा लगाउने पहिरनसहित पूर्ण पहिरन लगाउँदछन्। काँप्ने, ढ्याङ्ग्रो संगीतको ताल मिलाएर बजाउने गर्छन् र फेरि नौ पटक वारको पार नाचेपछि मुल झाँक्रीले राक्सो (बोक्सी आत्मा) बसेको बासस्थानमा गएर झाँक्री विद्यामा कुराकानी गर्दछ। केही बेरको भालाकुसारी पछि राक्सो (बोक्सी आत्मा) निकालेर मूल झाँक्री कुदेर राक्सोलाई गाउँको छेउतर्फ लान्छन् र त्यहाँ कुुखुराको भोग दिने र अन्य पूजाआजा गरेर वर्ष दिनको लागि राक्सोलाई वाचाबन्धनमा बाँध्छन्। त्यसपछि झाँक्रीहरू गाउँ घुम्छन्। 

घरमा कोही बिरामी भए, उनीहरू झाँक्री देख्नेबित्तिकै काँप्ने गर्छन्, अनि झाँक्रीले काँप्दै उसलाई तन्त्रमन्त्र गर्छन् र झाँक्रीलाई कुखुरा दिइन्छ, उसले काटेर विधि पुर्‍याउँछ। सो बिरामी काँप्न छोड्छ। यस्तै गरी अरू सबै घरहरूमा झाँक्रीहरू पुगेका हुन्छन्। यो झाँक्री मेलाको दिन गाउँलेहरू सिस्नो खेल्छन्। सिस्नोले हानाहान गरेर रमाइलो गर्छन्। अतिथिहरूलाई पनि सिस्नोको माला लगाइदिने प्रचलन रहेको हुन्छ। झाँक्रीमेलाको भोलिपल्ट गाउँभरि हिलो छ्याप्ने खेल खेलेर रमाइलो गरिन्छ। यसरी झाँक्री मेला सकिन्छ।

झाँक्रीमेलाबाट समाज व्यवस्थापन

बाहिरबाट हेर्दा झाँक्रीमेला साधारण देखिन्छ। बाहिरबाट हेर्दा अन्धविश्वास, आधुनिक युगमा अवैज्ञानिक प्रचलन, रुढिवादी प्रचलन जस्तो देखिन्छ। तर, गहिरिएर हेर्ने हो भने यसले गाउँको सामाजिक व्यवस्थालाई मजबुत बनाएको देखिन्छ। झाँक्रीमेलाले मगर समाजलाई ऐक्यबद्धता हुनको लागि प्रेरित गरेको पाइन्छ। 

ऐतिहासिक कालमा आदिवासी मगर समुदायको समाज कसरी चलेको थियो भन्ने कुराको इतिहास बताउँदछ। झाँक्रीमेलाको समग्र रूप भनेको साउने संक्रान्ति, झाँक्री नाच, हिलो खेल्ने दिनको समग्र रूप हो। यो समयमा गाउँ बाहिर भएका मानिसहरू चाड मान्नको लागि गाउँ फर्कने गर्छन्। गाउँको झाँक्री नाच मेलाका लागि भाइखलकले एउटा झाँक्री नाचको लागि लैजाने परम्परा रहेको छ। 

भाइखलक फुटेर छुट्टाछुट्टै बनेमा जुन समूह बनेको हो त्यति समूहले एक÷एक वटा झाँक्री मेलामा लैजानु पर्छ। साधारणतया भाइखलक भनेर एकै ठाउँमा कुलपितृ पूजाआजा गर्ने समूह भनेर बुझिन्छ। यो पंक्तिकार झाँक्री मेलाको अवसरमा पुगेको बेला सो गाउँमा २२ भाइखलकको झाँक्री नाचमा सहभागी भएको र बाँकी १० भाइखलकको झाँक्री नभएकोले उनीहरूले मेलाको लागि जरिवानास्वरूप रकम अनिवार्य दान गरेका बताएका थिए। कुनै पनि भाइखलकले झाँक्री उत्पादन गर्न नसकेको अवस्थामा समाजको रीतअनुसार रकम बुझाउनुपर्ने प्रचलन सो गाउँमा पाइन्छ। यसले के देखाउँछ भने समाजको सूक्ष्म रूपमा व्यवस्थापन गर्नका लागि झाँक्री मेला पनि एक परम्परागत संस्था (प्रथाजनित संस्था) को रूपमा देखिन्छ।

यस प्रचलनले गाउँमा समाजको सबैभन्दा सानो इकाइ समूह भाइखलक र समग्र भाइखलकहरू मिलेर समग्र गाउँको सामाजिक संरचना निर्माण हुन्छ।। झाँक्रीको तबिल (प्रमुख)को जम्मा भएर सामूहिक निर्णय गर्ने परिपाटी यहाँको मगरहरूमा रहेको छ। यो सामूहिक निर्णय कार्यान्वयन गराउनका लागि भाइखलकमा रहेको सानो इकाइ प्रत्येक घरपरिवारसम्म पुर्‍याउँदछ। यसबाट गाउँको कुनै निवासी व्यक्ति वा उसको परिवार यस सामाजिक व्यवस्थापन परिपाटीमा जोडिन पुगेको देखिन्छ।null

झाँक्रीमेलाको चाडको अवसर पारेर गाउँमा टाढाटाढा गएका मानिसहरू फर्केर आउने भएकोले पारिवारिक मिलन, सामाजिक भेटघाटले खुसी ल्याउने त गर्ने नै भयो। अर्कोतर्फ झाँक्रीहरूले राक्सो (दुरात्मा)लाई एक वर्षको लागि पूजाआजा गरी शान्त बनाएकोले गाउँलेहरूमा आत्मबल, आत्मविश्वास बढाउँदछ। यसका साथै साउने संक्रान्ति तथा झाँक्रीमेला मनाउँदा, पूजाआजा गर्दाका परिकारहरूले वर्षायामको काम गर्ने मानिसहरूलाई थप प्रोटिन तथा शक्ति प्रदान गर्दछ। 

सिस्नो खेल्ने र हिलो खेल्ने प्रचलनले उनीहरूलाई त्यहाँ प्रकतिसँग सामीप्यता हुने अवसर प्रदान गर्दछ र यसले प्राकृतिक रूपमा भ्याक्सिनको काम गरेर मानिसहरूलाई स्वस्थ्य हुन मद्दत पनि गर्दछ। मेलाले युवायुवतीहरूलाई भेटघाटको अवसर तथा मनोरञ्जन प्रदान गरेर नयाँ सम्बन्धहरू स्थापना गर्ने मौका दिएको हुन्छ।

बालबालिकाहरूलाई सामाजिकीकरण, सामूहिकताजस्ता कुराहरू सिकाउँदछ। यसका साथै आफन्तहरूको भेटघाटले साइनोहरूको पुनर्ताजगी पनि गराउँछ। यो झाँक्री मेलाले सूक्ष्म रूपमा समाजको व्यवस्थापन गरेको हुन्छ। गाउँलेहरूलाई हामी भन्ने कुराहरू सिकाएको हुन्छ, अभ्यास गराएको हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.