छाक्ताङ खोलामा अस्थायी पुल बनाइँदै
जोमसोम : उत्तरी कोरला नाका जोड्ने ७६ किमी बेनी-जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ-२ छाक्ताङ खोला निर्माणाधीन पुल नजिकै अस्थायी पुल निर्माण थालिएको छ।
बर्खायामको मौसमसँगै थासाङको छाक्ताङ खोलाको बहाव उच्च हुन थालेपछि सवारी साधन तथा पैदल यात्रु आउजाउ गर्न अस्थायी पुल बनाउन थालिएको हो।
अस्थायी पुल निर्माणका लागि बेनीमा जगेडा रहेको बिमलाई मुस्ताङ ल्याएर पालिकाको खर्चमा दुईतर्फी ग्याविन वाल उठाएर जडान गर्न लागिएको निर्मल स्पोर्टिङ क्लबका अध्यक्ष महेन्द्र गौचनले जानकारी दिए। उनले २/३ दिन भित्रै अस्थायी पुल सञ्चालनमा आउने बताए।
‘करिडोर सडकको पुल निर्माणाधीन अवस्थामा छ, पुल बन्न समय लाग्ने देखिन्छ,’ उनले भने,‘छाक्ताङ खोलाको वाहव उच्च छ, सवारी आरपार गर्न पनि सास्ती हुन्छ।’
छाक्ताङमा निर्माण गर्न लागिएको अस्थायी पुलको माथि पश्चिममा राष्ट्रिय गौरवको कोरला सडक आयोजनाले ८० मिटर लामो पुल बनाउँदै छ। पुल निर्माणका लागि कालिका गजुरमुखी जेभीले ७ करोड ४२ लाख लागतमा ठेक्का सम्झौता गरेको हो। आयोजनाको छाक्ताङ खोला पुलको पछिल्लो भौतिक प्रगति ८३ प्रतिशत रहेको छ।