देशले के गर्छ होइन, देशलाई के गर्छु

देशले के गर्छ होइन, देशलाई के गर्छु
सांकेतिक तस्बिर।

सन् १९६१ जनवरी २० तारिखको चिसो बिहान अमेरिकाका नवनिर्वाचित ३५औं राष्ट्रपति जोन एफ केनेडीको शपथ ग्रहण समारोह आयोजनाको भव्य तयारी भइरहेको थियो। माइनस ६ डिग्री सेल्सियसको कठ्यांग्रिने जाडो तथा बाक्लो हिउँको वास्तै नगरी वासिंटन डिसीस्थित क्यापिटल विल्डिङको सामुन्ने करिब २० हजार मानिस जम्मा भएका थिए, प्रिय राष्ट्रपतिको शपथ ग्रहण समारोहको प्रत्यक्ष साक्षी बन्न।

केनेडीले शपथ लिइसकेपछि पहिलो ऐतिहासिक सम्बोधन गरे। जुन उनको मृत्युपर्यन्त पनि लोकप्रिय बनिरह्यो। उक्त सम्बोधनको क्रममा उनले दिएका केही उद्गार स्मरणीय र अनुकरणीय बने। उक्त सम्बोधन उनले नागरिकका लागिमात्र गरेको नभई सम्पूर्ण विश्वलाई नै प्रभाव पार्ने खालको थियो। सोही क्रममा उनले भनेका थिए, ‘मेरा अमेरिकी मित्रहरू, नसोध्नु तिम्रो देशले तिम्रा लागि के गर्न सक्छ, बरु सोध्नु म मेरो देशका लागि के गर्न सक्छु।’

उल्लेखित उद्गारले सधैं मलाई पनि केही सोच्न घच्घच्याइरहेको हुन्छ। हामी नेपालीमा देशप्रतिको सोचमा किन गुनासो, नैराश्यता र नकारात्मकता मात्र भेटिन्छ ? किन यस्तो भइरहेको छ ? प्रश्न गहन छ। देशमा व्याप्त महँगी, बेरोजगार, बेथिति, भ्रष्टाचार, कमजोर माथिको थिचोमिचो, योग्यता र क्षमताको बेवास्ता, सरकारी निकाय र प्रशासनको अकर्मण्यता, राजनीतिक दलहरूको शक्ति मोह र मात्र पदका लागि होडबाजी, आदि इत्यादि कुराले पनि नेपाली नागरिकमा निराशा छाउनु स्वाभाविक हो।

राजनीतिक दलका नेताहरू जसले सम्पूर्ण नेपाली र देशलाई कुशल नेतृत्व प्रदान गरी सही दिशानिर्देश गर्नुपर्ने थियो। उनीहरू आफैं बाटो बिराएर एकअर्कालाई होच्याउने, घोच्ने,  अर्काको कमजोरीलाई केलाउने, औंल्याउने अनि आफू उत्कृष्ट हुने दाउ र होडमा व्यस्त छन्। अरूले गरेको कामको आलोचना गर्नु अनि कमजोरी केलाउनु सजिलो काम हो, आफैं गर्न पो त गाह्रो। यस किसिमको सोच र मानसिकताले हामीलाई कहाँ पुर्‍याउँछ ? यस्तो

प्रवृत्तिले जनतामा अझ 

बढी नकारात्मक सोचको विकास गर्नेछ। जुन पछि गएर नेताहरूकै लागि विस्फोटक र आत्मघाती हुनसक्छ, समयमै सोच्न सकिएन भने। देशलाई कहाँ पुर्‍याउने भन्ने एउटा ठोस दृष्टिकोण पनि नभएको भान हुन्छ, नेतृत्व तहमा। देश विकास गर्ने, जनतालाई समृद्ध बनाउने नारा घन्क्याउन कुनै कसर छाडिएको छैन।

तर, सोहीबमोजिमको योजना तथा कार्यक्रम कसले बनाउने थाहा छैन। दलका कार्यकर्ता पोस्ने, आफ्नो व्यक्तिगत लाभका लागिमात्र सोच्ने नेतृत्वले देशलाई केही दिनुको साटो देशबाट लिनमात्र जानेको हो कि भन्ने भान हुन्छ। अनि नेपाली जनतामा सकारात्मक सोच कसरी र कहाँबाट आउँछ ? सकारात्मकतातिर डोर्‍याउने कसले ? सबैले देश दोहन कसरी गर्ने भन्ने ध्याउन्न मात्रै पालेर भविष्यका सन्ततिका लागि के बाँकी राख्ने हो ? थाहा छैन।

हामीले अरूलाई सिकाउन पहिले आफूले जान्नु पर्‍यो नि ! आफू राम्रो बाटोमा हिँडे पो गन्तव्य राम्रो भेट्टिन्छ। गलत बाटो र गलत दिशाले गलत लक्ष्यमा पुर्‍याउँछ। सही र गलत छुट्याउन नसक्ने अगुवाले सबै पिछलग्गुलाई उनकै गन्तव्यमा पुर्‍याउँछ। समयको गतिशीलतालाई चुनौती दिने कसैले आँट गर्न सक्दैन। समयको गतिसँगै आफूलाई परिचालन गर्न नसक्नेले लक्ष्य भेटाउन पनि सक्दैन। यो समयको माग पनि हो। देशको पनि आफ्नै गति हुन्छ। त्यही गतिमा सम्पूर्ण संयन्त्र चल्न सकेन भने भद्रगोलको अवस्था सिर्जना हुन्छ। हामी आज त्यही स्थितिको सामना गरिरहेका छौं।

कुरा देशले के दिने वा देशलाई के दिने भन्ने विषयमा केन्द्रित थियो। देशलाई साँचिक्कै समृद्ध तुल्याउने र सन्ततिका लागि उज्वल भविष्यको जोहो गर्ने हो भने केही गर्नै पर्ने समय घर्किन लागिसक्यो। सबैले गम्भीर भई सोच्नुपर्ने बेला भयो। अब यसरी चल्दैन। सम्पूर्ण राजनीतिक दल, त्यसका नेताहरू, बुद्धिजीवी, समाजसेवी, कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, मजदुर–किसान सबैले एकजुट भई देशका लागि केही गर्ने प्रण गर्नुपर्‍यो। बोल्न जान्नेहरूले बोल्नु पर्‍यो, लेख्न जान्नेहरूले लेख्नुपर्‍यो, बलियाले बल गर्नुपर्‍यो, बुद्धि भएकाहरूले बुद्धि पुर्‍याउनु पर्‍यो अनि राष्ट्रसेवकहरूले इमान्दार भएर लगनशील भई सेवा गर्नुपर्‍यो। अनि समयले साथ दिनेछ विकासले गति लिनेछ।

खाली अरूको आलोचना गरेर समय खेर फाल्नुभन्दा देशका लागि के गर्न सकिन्छ भनी चिन्तन गर्‍यो भने केही सकारात्मक नतिजा आउन सक्छ। होइन भने दिनभर करायो दक्षिणा हरायोको स्थितिमा पुग्नेछौं हामी। साँचिकै देशका लागि केही गर्छु भन्नेहरू एकठाउँमा आउनुपर्‍यो। व्यक्तिगत इच्छा, आकांक्षा, स्वार्थहरूलाई तिलाञ्जलि दिई पूर्णरुपमा देशप्रति इमान्दार भई सेवा गर्ने दृढ संकल्पसहित अघि बढ्नु पर्छ।

कति तेरो–मेरो अनि आफ्नो भनी बलमिच्याई गरी बस्ने ? सबै मिलेर सबका लागि आफ्नै देश बनाउने र देशका लागि केही गर्नेतिर किन नलाग्ने ? विशेषतः राजनीतिक दलका नेताहरूले एकचौटी गम्भीर भएर सोच्नुपर्‍यो कि आज हामीले यो देशका लागि र भविष्यका लािग केही उदाहरणीय र स्मरणीय काम गरेर गएनौं भने धिक्कार्ने छन् र सन्ततिले सराप्ने छन्। उनीहरूले यो देशलाई सतीले सरापेको देश भन्नुको साटो उल्टै उनीहरू आफैंले सराप्ने छन् हामीलाई। समयमै चेत पुगोस्।

प्राकृतिक एवं सांस्कृतिक धरोहरले भरिपूर्ण, सम्पदाका धनी हामी विश्वमञ्चमा शिर ठाडो गरी किन उभिन सक्दैनौं ? समान हैसियत भएका मुलुकहरू हामीलाई धेरै पछि पार्दै अघि बढिसके। वीरताको गाथाहरूले भरिएको इतिहास बोकेको स्वतन्त्र मुलुकमा बसेर पनि स्वाभिमानको जगेर्ना किन गर्न सक्दैनौं ? हाम्रै कर्तुतहरूले गर्दा त हो ! सायद यी र यस्ता प्रश्न धेरै छन्, अनुत्तरित। यस्ता कुराहरू सम्झेर जोकोही स्वाभिमानी नेपालीको मन भक्कानिएर आउँछ। अनि सम्झन्छ गोपाल योञ्जनको गीतः 
देशले रगत मागे मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी।।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.