अब हार्भेस्टरले काट्नेछ उखु
परासी : नवलपरासीको प्रतापपुर गाउँपालिकाले उखु काट्ने हार्भेस्टर मेशिन ल्याउने भएको छ। प्रतापपुरसँगै सुस्ता गाउँपालिकाका किसानहरूको प्रमुख खेती उखु हो। उखु काट्ने समयमा मजदुर अभावसँगै लागतसमेत बढ्दा किसानहरूलाई समस्या भएका कारण उक्त मेशिन खरिद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए।
उखु किसानहरूका लागि खरिद गर्न लागिएको हार्भेस्टर नेपालमै पहिलो पटक ल्याउन लागिएको यादवको दाबी छ। हार्भेस्टरको मूल्य एक करोड बढी भारतीय रुपैयाँ रहेको छ। यहाँसम्म ल्याउँदा करिब दुई करोड नेपाली रुपैयाँ लाग्ने अनुमान गरिएको अध्यक्ष यादवले बताए। भारतबाट ल्याइने उक्त मेशिन कृषि प्रयोजनका लागि रहेकाले एक प्रतिशत मात्र भन्सार दस्तुर लाग्ने बताइएको छ।
मेशिन खरिदका लागि संघीय सरकारबाट ७५ लाख र प्रदेश सरकारबाट ४५ लाख आइसकेको छ। अपुग रकम पालिकाले व्यहोर्ने यावदले बताए। हार्भेस्टर भारतको महाराष्ट्रमा पाइने भएकाले केही दिनमा वडाअध्यक्षसहितको टोली त्यसतर्फ गएर त्यहाँको खेतीका बारेमा पनि जानकारी लिइने उनले बताए। चालु वर्षको उखु क्रसिङ समय (मंसिर) भित्र उक्त मेशिन ल्याई सकिने यादवको भनाइ छ। हार्भेस्टर चलाउन आवश्यक पर्ने दक्ष जनशक्ति कम्पनीले नै उपलब्ध गराउने छ।
‘केही महिना कम्पनीले पठाएका जनशक्तिबाट चलाउँछौं पछि यहीकै जनशक्ति उत्पादन गरेर सञ्चालन गर्ने सोच छ’, अध्यक्ष यादवले भने। मेशिन चलाउन एकै पटक दुई जना जनशक्ति चाहिन्छ। थोरै जग्गामा लगाइएको उखु पनि यसबाट काट्न सकिने बताइएको छ। जिल्लामा अहिले १२ हजार बिघामा कुल २० लाख क्विन्टल उखु उत्पादन हुँदै आएको उखु उत्पादक कृषक समितिले जनाएको छ। जिल्लामा तीन ठूला चिनी उद्योग सञ्चालनमा छन्।
हार्भेस्टरले एक घण्टामा साढे चार बिघा क्षेत्रफलमा लगाइएको उखु काट्ने यादवको भनाइ छ। यसले उखु काट्दा किसानको ५० प्रतिशतभन्दा बढी रकम बचत हुने अनुमान छ। किसानले अहिले छिल्ने, काट्नेसहित मजदुरलाई प्रति क्विन्टल एक सय रुपैयाँ दिँदै आएका छन्। मेशिनबाट काट्दा बढीमा ४० देखि ५० रुपैयाँ प्रति क्विन्टल लागत पर्ने उखु किसानसमेत रहेका अध्यक्ष यादवले बताए। मेशिनले उखु र पातलाई छुट्टाएर काट्छ। टुक्रा टुक्रा बनाएर तयार गरिएको उखुलाई हार्भेस्टरसँगै हिड्ने अर्को ट्याक्टरमा खन्याइने गरिएको छ। त्यसरी तयार भएको टुक्रा उखुलाई किसानले आफ्नो ट्याक्टरमा राखेर सोझैँ उद्योगमा लैजान सक्ने छन्।
हार्भेस्टर मेशिन पालिका आफैंले सञ्चालन गर्ने छ। ‘उपकरणमा लाग्ने इन्धन, मर्मत र अन्य खर्च जोड्दा बढीमा प्रति क्विन्टल ५० रुपैयाँ लाग्ने अनुमान गरेका छौं। सोही रकम किसानबाट लिएर मेशिन सञ्चालनको व्यवस्थापन गछौं ’, अध्यक्ष यादवले भने। २०६४ सालमा जिल्लामा कुल ३२ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको थियो। पछिल्लो पटक उद्योगबाट हुने भुक्तानी समस्या, मजदुर अभावलगायतका समस्याले अधिकांश किसानले उखु लगाउन छाडेका छन्। अहिले भुक्तानीको त्यति समस्या नभएको र हार्भेस्टर आइसकेपछि लागतसमेत घट्ने भएकाले जिल्लाको उखु उत्पादनमा वृद्धि हुने अपेक्षा गाउँपालिकाले लिएको छ।